सिउँदो पुछिएका परिवार मस्कोमा, खबरको प्रतीक्षा नेपालमा

तस्बिर स्रोत, Bijay Gajmer

तस्बिरको क्याप्शन, कमान्डरलाई उद्धृत गर्दै प्राप्त भएको सन्देशका आधारमा सुनुवार परिवारले कुशको शव बनाएर विनोदको अन्तिम संस्कार गरेको थियो
    • Author, फणीन्द्र दाहाल
    • Role, संवाददाता, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: १३ मिनेट

कीर्तिपुरमा टिनले छाएको अस्थायी टहरामा बसेर सिर्जना बस्नेतले रुसी सेनामा काम गर्न गएका आफ्ना श्रीमान्‌को आधिकारिक खबर महिनौँ कुरिन्।

नेपाली सेनाको जागिर छाडेर रुसी सेनामा भर्ना भएका उनका श्रीमान् विनोदबहादुर सुनुवार अघिल्लो वर्ष रुस-युक्रेन लडाइँमा मारिएको खबर आएको थियो।

त्यसैका आधारमा आफ्ना पतिको अन्तिम संस्कार गरेकी सिर्जना राहत र क्षतिपूर्ति रकम दाबी गर्न मस्को जान चाहन्छिन्।

सरकारी विवरण अनुसार झन्डै डेढ दर्जन नेपाली परिवार क्षतिपूर्ति लिन र आफन्त खोज्न अहिले मस्को पुगेका छन्।

तर सिर्जना र उनीजस्ता कैयौँ अरू रुस पुगेका परिवारहरूले ल्याउने खबर कुरिरहेका छन्।

कुशको शवको अन्त्येष्टि तर आधिकारिक खबरको पर्खाइ

मध्य अफ्रिकी गणतन्त्रमा एक वर्ष शान्ति सैनिकको रूपमा काम गरेर फर्किएपछि विनोदले नेपाली सेनाको जागिर छाडे। राम्रो आम्दानी हुने अपेक्षामा उनी सन् २०२३ मा रुसी सेनामा भर्ना हुन गएका थिए।

एक वर्ष रुसको सेनामा काम गरेपछि उनले रुसको नागरिकता लिए। त्यो बेला उनले चाँडै नेपाल फर्किएर परिवारका सदस्यलाई पनि रुस घुमाउन लैजान चाहेको सिर्जनालाई सुनाएका थिए।

तर गएको नोभेम्बरमा उनी एकाएक सम्पर्कविहीन भए। प्रत्यक्ष लडाइँको मोर्चामा खटिएको समयबाहेक हरेक दिनजसो आफ्नो परिवारलाई फोन वा ह्वाट्स्यापमार्फत् सम्पर्क गर्ने गरेका विनोदको 'मेसेज' आउन बन्द भयो।

तीन हप्तासम्म आफ्ना पतिसँग कुरा हुन नसकेपछि सिर्जनाको मनमा चिसो पस्यो अनि उनले विनोदको खोजीका लागि विभिन्न निकायको दैलो ढकढक्याइन्।

"रेडक्रस, रुसी राजदूतावास र नेपालका सरकारी निकाय सबैमा गएँ तर केही पत्ता लागेन। रुसी सेनामा रहेका एकजना भाइले कमान्डरसँग कुरा गर्दा नराम्रो खबर पाइयो भनेर मलाई सहयोग गरिरहनुभएकी एकजना बहिनी (जसका देवर युक्रेनको कब्जामा छन्)लाई एउटा कुराकानीको स्क्रिनसट पठाउनुभयो।"

तस्बिर स्रोत, Bijay Gajmer

तस्बिरको क्याप्शन, विनोदको परिवारले रुसबाट आधिकारिक जानकारीको प्रतीक्षा गरिरहेका छन्

उक्त सूचना पाएको भोलिपल्ट परिवारका सदस्यहरू जम्मा भए र पर्सिपल्ट धार्मिक परम्पराअनुसार विनोदको अन्तिम संस्कार गरियो। ओखलढुङ्गामा रहेका बुवालाई गाउँबाट काठमाण्डू झिकाइयो।

"उहाँको खबर पाउन हामी तड्पिरहेका थियौँ। उक्त सन्देशकै आधारमा हामीले काजक्रिया गर्‍यौँ।"

सिर्जनाले बीबीसीसँग भनिन्, "परिवारको आर्थिक अवस्थाकै कारण उहाँ रुस जानुभयो र त्यसैका कारण उहाँको ज्यान गयो। हामीलाई त्यहाँ पुगेर क्षतिपूर्ति लिनका लागि रुस सरकार र नेपाल सरकारले चाँडै व्यवस्था मिलाइदिओस्।"

तस्बिर स्रोत, Family Handout

तस्बिरको क्याप्शन, रुसी सेनामा काम गर्न जानुअघि नेपाली सेनामा आबद्ध विनोद जागिरबाट राजिनामा दिएर मस्को गएका थिए

यो परिवारले अझै पनि उक्तको मृत्युको आधिकारिक पुष्टि हुने जानकारी रुसबाट प्रतीक्षा गरिरहेको छ।

रुसी सेनामा रहेका नेपालीको उद्धार तथा पीडित परिवारलाई राहत एवं क्षतिपूर्ति दिलाउन चलाइएको एउटा अभियानकी संयोजक कृतु भण्डारीले रुसले मृत्यु प्रमाणित नगर्दासम्म पीडित परिवारलाई क्षतिपूर्ति पाउन कठिन हुने बताइन्।

उनले भनिन्, "कति जनाको मृत्यु भएको डेढ वर्ष भयो। परिवारले काजकिरिया गरिसक्नुभयो। तर अझै मृत्यु स्थापित भएको छैन। त्यो नहुँदासम्म क्षतिपूर्तिको प्रक्रिया अघि बढ्दैन।"

यस्तोमा सिर्जना र उनको परिवारका सदस्य के गर्ने भन्ने अन्योलमा छन्।

उनले भनिन्, "अहिलेसम्म यो लास, यो सास भन्ने पनि छैन। आफ्नो देशको कुरा भएको भए हरेक कुनाकाप्चामा खोजेर छिटो थाहा पाइन्थ्यो होला। तर अर्काको ठाउँमा कसलाई समाउने, के गर्ने, कस्तो गाह्रो भइरहेको छ।"

क्षतिपूर्ति दाबी गर्न र आफन्त खोज्न रुस जाँदै नेपाली परिवार

नेपाली अधिकारीहरूले गएको पुसबाट हराइरहेका आफन्तको खोजी गर्न र ज्यान गुमाएका आफन्तको क्षतिपूर्ति माग गर्न रुस जान चाहनेका लागि आफूहरूले यात्रा अनुमतिपत्र प्रदान गरेर सहजीकरण गरिरहेको बताउँछन्।

रुसी सेनामा आबद्ध कम्तीमा ६५ जना नेपालीले ज्यान गुमाएका सरकारी आँकडा रहेको छ। बेपत्ता रहेका नेपालीको सङ्ख्या १०० भन्दा बढी रहेको ठानिन्छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले रुसमा नै गएर क्षतिपूर्ति प्राप्त गर्ने र बेपत्ताको खोजी गर्नका लागि नेपाली परिवारका लागि कन्सुलर विभागले सहयोग अनि सहजीकरण गर्दै आएको बताए।

उनले भने,"परराष्ट्र मन्त्रालयले के सहयोग गर्नुपर्छ, त्यो हामीले गरिरहेका छौँ। अझ सहज ढङ्गले त्यो प्राप्तिका लागि पनि हामीले पहल गरिरहेका छौँ।"

कन्सुलर सेवा विभागका निर्देशक लेखनाथ गौतमका अनुसार अहिलेसम्म १८ जनाका परिवारले रुस जान अनुमति लिएका छन्। त्यसमध्ये ११ जना मृतकका आफन्त रहेको र सातजना बेपत्ताका आफन्त रहेका उनले बताए।

तस्बिर स्रोत, Family Handout

तस्बिरको क्याप्शन, रुसी सेनामा भर्ना भएका नेपालीको यकिन सङ्ख्या नेपाल सरकारसँग छैन

रुसले सबैभन्दा नजिकको नातेदार खोज्ने हुँदा मस्को जान अनुमति लिनेमध्ये अधिकांश पीडितका श्रीमतीहरू रहेको उनले बताए।

बीबीसीले कुरा गरेका एक सरकारी अधिकारीले रुस गएर राहत लिने प्रक्रियाले हप्तौँ समय लिने भएकाले मस्को पुगेका कतिपयको हकमा प्रक्रिया सुरु मात्र भएको उल्लेख गरे।

नाम उल्लेख गर्ने अनुमति नभएको बताउने ती अधिकारीले भने, "रुसले नै सम्बन्धित नातेदारलाई विमान भाडा र यात्रा गर्दा लाग्ने खर्च दिने हामीले बुझेका छौँ। तर निवेदन दिने प्रक्रिया पूरा हुन करिब ३ महिना लाग्दोरहेछ। त्यसपछि मात्रै तीन किस्तामा भुक्तानी दिने कुरा छ जसले थप केही समय लिन्छ। "

युद्धका कारण रुसमाथि कैयौँ अन्तराष्ट्रिय प्रतिबन्धहरू छन्। त्यहाँबाट अन्य देशमा हुने अन्तरब्याङ्क ट्रान्सफरमा पनि प्रतिबन्ध लागेकाले मस्कोमा परिवारले पाउने क्षतिपूर्ति रकम नेपाल ल्याउने उपायबारे पनि आफूहरू परामर्शमै रहेको नेपाली अधिकारीहरू बताउँछन्।

मस्को पुगेको कम्तीमा एक परिवारले क्षतिपूर्तिबापत दुई किस्ता रकम प्राप्त गरिसकेको र अर्का एकजना पनि क्षतिपूर्ति पाउने क्रममा रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ताले बताए।

केही समय पहिले मस्को पुगेकी रुसी सेनामा काम गर्दा ज्यान गुमाएका नेपालीकी श्रीमतीले आफूले कागजपत्र बुझाएको र क्षतिपूर्ति कुरिरहेको बताएकी थिइन्।

उनले थपिन्, "आउने जाने र बस्ने खाने सबै खर्च चाहिँ आफ्नै हो। रुस सरकारबाट हामीले पाउने भनेको क्षतिपूर्ति रकम मात्रै हो। रुसी भाषा जान्ने एक जनालाई हामीले लिएर जानुपर्छ। राजदूतावासले अनुवादक खोज्न सघाउने कुरा गर्नु भएको थियो। तर हामीले आफैँ खोजेका हौँ।"

"यहाँको राहदानी लियो भने ३५ हजार रुबल (५८ हजार रुपैयाँ भन्दा बढी) मासिक भत्ता दिँदोरहेछ। राहदानी लिएपछि त्यो दोहोरो हुने भएकाले मैले नलिने निर्णय गरेँ।"

यात्रा र बसोबासमा झन्डै नौ लाख रुपैयाँ आफूहरूको खर्च भएको उनले बताइन्।

नेपालमा नै क्षतिपूर्तिको प्रबन्ध गरिदिन माग

तस्बिर स्रोत, Anit Sah/Facebook

तस्बिरको क्याप्शन, अनित साह परिवारको भविष्य राम्रो हुने आशा राखेर रुसी सेनामा भर्ना भएका थिए

रुस युक्रेन युद्धमा आफ्ना २३ वर्षका भाइ गुमाएका धनुषाका अमित साहलाई राहत र क्षतिपूर्ति लिन रुस पठाउने नेपाल सरकारको कदम उपयुक्त लागेको छैन।

उनी भन्छन्, "बुवाआमा त्यसै पनि पीडामा हुनुहुन्छ। ‌औषधि खाइरहनुभएको छ। अझ त्यसमाथि रुस जाने कुरा गर्‍यो भने नकारात्मक हुन्छ। मैले त्यो कुरा उहाँहरूलाई भन्न समेत सकिरहेको छैन।"

"भर्ना गर्ने बेलामा नै केही भइहाल्यो भने परिवारलाई क्षतिपूर्ति दिने भनेर सम्झौता गरेको छ। मेरो परिवारलाई जे पाउनुपर्ने हाम्रो सरकारको माध्यमबाट गराइदिनुहोस्।"

सन् २०२२ को जुलाईमा अमितका भाइ अनित उच्च शिक्षाका लागि रुस गएका थिए। ओभरसियर अध्ययन पूरा गरेका अनितलाई रुस पठाउन शिक्षण पेसामा आबद्ध रहेका उनका पिताले करिब १० लाख रुपैयाँ खर्च गरेका थिए।

जनकपुरमा मार्केटिङको काम गरिरहेका अमितका अनुसार पढ्दै खर्च धान्न गाह्रो भएपछि उनका भाइ रुसी सेनामा भर्ना भएका थिए।

उनले बीबीसीसँग भने, "काम नपाएको समयमा पढाई खर्च जुटाउन गाह्रो हुन्थ्यो भनेर भाइले भन्थ्यो। त्यही बेलामा सेनामा आवेदन खुलेछ। अनि दलालहरूले फकाएका रहेछन्।"

तस्बिर स्रोत, Amit Sah

तस्बिरको क्याप्शन, अनित साहको परिवारले पाउने क्षतिपूर्ति नेपालमा नै प्राप्त हुने व्यवस्था मिलाउन सरकारलाई अनुरोध गरेको छ

सेनामा भर्ना भएको थाहा भएपछि परिवारले जागिर छाड्न बारम्बार भने पनि भाइले नमानेको अमित बताउँछन्।

उनले थपे, "उसले हामीलाई सबै सेवासुविधा राम्रो छ। एक वर्षपछि नागरिकता दिन्छ अनि परिवारलाई पनि लैजान दिन्छ भनेर घरमा धेरै आशा देखायो।"

"बुवाले हाम्रो परिवारबाट सेनामा कोही पनि छैन, तिमी पनि छोड भनेर त्यो बेला भन्नुभएको थियो। उसले अरू २० जना साथीहरू छन् तनाव नलिनू भनेर सम्झायो। एक वर्षपछि तपाईँहरूलाई पनि ल्याउँछु र घुमाउँछु भन्दै फकायो। धेरै सपना घरमा देखायो।"

सेनामा भर्ना भएको अढाइ महिनापछि अनित परिवारको सम्पर्क बाहिर भए। उनकी आमाको डीएनएको नमुना भिडाएर रुसी अधिकारीहरूले उनी युद्धमा मारिएको पुष्टि गरेका थिए।

गएको वर्षको अगस्टमा मस्कोस्थित नेपाली राजदूतावासले अनितको अस्तु नेपाल पठाइदिएको थियो।

"मैले एक पटक भए पनि भाइको शव हेर्न पाऊँ भनेको थिएँ। त्यो मौका पनि पाइन। अझै पनि उसको सिक्री, एटीएम र कागजपत्रहरू मस्कोमा रहेको नेपाली राजदूतावाससँगै छ।"

रुसी सेनामा भाइको मृत्युयता आमाबुवालाई सम्झाउँदै र रेखदेख गर्दैमा अमितको दिनचर्या बित्ने गर्छ।

अन्य कतिपय पीडितका आफन्तहरू चाहिँ केही नयाँ जानकारी पाउने आशामा सरकारी निकायहरू पुग्छन्।

कति जनाले रुसमा रहेका नेपाली दूतावासका अधिकारीहरूलाई सम्पर्क गरेर क्षतिपूर्तिको प्रक्रिया र बेपत्ता आफन्तबारे सोधखोज गरिरहन्छन्।

मस्को पुगेका नेपालीले ल्याउने खबरको प्रतीक्षा

तस्बिर स्रोत, Ramji Rai

तस्बिरको क्याप्शन, दिनेश राई ब्रिटिश सेनामा भर्ना हुन चाहन्थे। रुसी सेनामा भर्ना भएका उनी सम्पर्कविहीन भएको झन्डै १६ महिना भयो

रुसी सेनामा भर्ना भएका नुवाकोट पञ्चकन्याका रामजी राईले बेपत्ता छोरा दिनेशको प्रतीक्षा गरेको १६ महिना पुग्न लाग्यो।

पछिल्ला केही सातायता रामजी मस्को पुगेका बेपत्ता नेपालीका अन्य परिवारले पठाउने समाचारलाई व्यग्रतापूर्वक कुरिरहेका छन्।

आफ्नो गाउँबाट टेलिफोनमा उनले भने, "रुस पुगेको परिवारले उता के गरिरहेका छन्, त्यहाँ के भइरहेको छ म त्यही सोचिरहेको हुन्छु। उताबाट कस्तो खबर आउँछ, हाम्रो राजदूतावासले के भन्छ? आउनुपर्छ, तपाईँ आवश्यक पर्‍यो भन्यो भने म पनि रुस जान्छु।"

एथ्लेटिक्समा जिल्ला र प्रदेश स्तरका प्रतिस्पर्धाहरू जितेका उनी खेलकुदमा अब्बल थिए।

गाउँकै विद्यालयमा कक्षा १० सम्म अध्ययन गरेका उनले काठमाण्डू आएर १२ कक्षासम्म पढे र ब्रिटिश सेनामा भर्ती हुनका लागि तालिम लिन थाले।

अन्तिम चरणको छनौटअन्तर्गत दुई वर्षअघि पोखरासम्म पुगेका उनी त्यसमा सफल नभएपछि लाहुरे बन्ने अर्को मौकाको खोजीमा थिए।

रामजी राईले बीबीसीसँग भने, "मैले यतै काम गर, सेनामा नै जागिर खाने भए पनि नेपालमा लप्टन, कप्तान भिडाइदिन्छु भनेको थिएँ। उसले म विदेशमा पाएँ भने सेनामा जागिर खान्छु भन्थ्यो। ब्रिटिश सेनामा असफल भएपछि दलाल भेटेछ अनि त्यसले फसाइदियो।"

उनी थप्छन्, "दलालले फ्रान्स भनेर मेरो छोरालाई रुसमा पुर्‍याएछ। तीन महिनासम्म सम्पर्कमा थियो। त्यसपछि सम्पर्कविहीन भयो। अहिले १६ महिना बित्न लाग्यो।"

तस्बिर स्रोत, Ramji Rai

तस्बिरको क्याप्शन, मस्को पुगेका रुसी सेनामा काम गर्दा बेपत्ता भएका नेपालीका परिवारले ल्याउने खबरको प्रतीक्षा रामजी राईको परिवारले गरिरहेको छ।

दिनेश रुस पुगेको एक महिनापछि मात्रै उनी रुसी सेनामा भर्ना भएको आफूले थाहा पाएको बताउने रामजी छोराले अन्तिम पटक भनेको कुरा बारम्बार सम्झिन्छन्।

उनी भन्छन्, "राम्रै छ चिन्ता लिनुपर्दैन भन्थ्यो। अन्तिम पटक ड्याडी आजबाट म ट्रेनिङबाट जानुपर्छ, एक दुई महिना कुरा हुन सक्दैन कि भनेर भोइस म्यासेज छोडेको थियो। त्यहाँदेखि अहिलेसम्म कल पनि छैन, कुरो पनि छैन।"

रुस युक्रेन युद्धमा कसरी जोडिए नेपाली?

तस्बिरको क्याप्शन, रुसका लागि पूर्व नेपाली राजदूत मिलनराज तुलाधर मस्कोले रुसी सेनाका अन्य सदस्य सरह नै नेपालीहरूलाई पनि क्षतिपूर्ति दिने सहमति जनाएको बताउँछन्

सन् २०२२ को फेब्रुएरीमा रुस युक्रेन युद्ध सुरु भएको थियो जुन अझै पनि सकिएको छैन। ब्रिटेन र भारतको सेनामा गोर्खा सैनिकका रूपमा बर्षौँदेखी काम गर्दै आएका नेपालीहरू पनि सन् २०२३ बाट यो लडाइँमा प्रत्यक्ष रूपमा नै आबद्ध भएका विवरण आएका थिए।

यो समयमा भारतीय सेना भर्ती योजना 'अग्निपथ'प्रति नेपालले राखेको असहमतिमा कारण नेपालीहरूको भारतीय सेनामा भर्ती रोकिएको थियो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे १५, २०२३ मा एउटा कानुनमा हस्ताक्षर गरेका थिए जसले रुसी सशस्त्र बल, सेना वा सैन्य समूहमा न्यूनतम एक वर्ष सेवा गरेका विदेशी नागरिकहरूलाई एउटा सरल प्रक्रियामार्फत् रुसी नागरिकता उपलब्ध गराउने व्यवस्था गरेको थियो।

राजनीतिक अस्थिरता, रोजगारीको अभावसहितका कारणले दैनिक २ हजारभन्दा बढी नेपाली विदेसिने आँकडामाझ रुसी सेनामा रोजगारीको अवसर धेरैले आकर्षक मान्न पुगे।

यस्तोमा मानवतस्करहरूको सञ्जालले आफ्नो बहादुरी र लडाइँ कौशलका कारण संसारभरि परिचित नेपालीहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाए।

तर आफ्नो मुलुकसँग काहीँ कतै साइनो नभएको युद्धमा नेपालीहरूको ज्यान जान थालेको विवरण आउन थालेपछि रुसी सेनामा भर्ना भएका कैयौँ नेपालीका परिवारहरू आफन्तलाई स्वदेश फर्काउन माग गर्दै सडकमा आएका थिए।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, आफन्तलाई फिर्ता गराउन माग गर्दै रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले अघिल्लो वर्ष सरकारलाई निवेदन बुझाएका थिए

रामजी पनि काठमाण्डूमा आएर अनसन र दबाबमुलक प्रदर्शनमा सहभागी भए।

उनी भन्छन्, "रुसको कुरा भएकाले हामी धेरैजना रुसको दूतावास गएका थियौँ। हामीले हाम्रो मान्छे सद्दे भए नेपाल फर्काइदेऊ ज्यान गुमाएको भए मृत्यु भयो भनेर नाम निकालिदेऊ भनेर भन्यौ। उहाँहरूले हामी बुझ्छौँ भन्नुभएको थियो। तर केही भएको छैन।"

आफ्ना छोरालाई रुस पठाउने व्यक्तिलाई चिनेको भए पनि रकम दिएको प्रमाण नहुँदा उसलाई कानुनको दायरामा ल्याउन नसकेको उनले सुनाए। दिनेशले 'फ्रान्सको भिसा आयो' भनेपछि आफूले आठ लाख रकम जुटाइदिएको र उनले दलाललाई नगद बुझाएको रामजी बताउँछन्।

धेरै परिवारलाई आफन्त रुसी सेनामा जाँदा लागेको ऋण कसरी तिर्ने भन्ने सुर्ता छ। तर रामजी राई भन्छन्, "सबैभन्दा पहिला छोरा खोज्नुपर्‍यो। त्यसपछि ऋण भनेको जग्गा बेचेर पछि तिर्दा पनि केही फरक पर्दैन।"

कन्सुलर सेवा विभागका निर्देशक गौतमले बेपत्ताको हकमा केही पत्ता लाग्छ कि भनेर आफूहरूले तिनका आफन्तहरूलाई मस्को जान अनुमति दिएको बताए।

एक जानकार नेपाली स्रोतले रुसी सेनामा खटिएको समयमा ६ महिनाभन्दा बढी समय बेपत्ता रहेकाहरूलाई स्थानीय कमान्डरको सिफारिसमा न्यायिक निकायले मृत्यु भएको करार गर्नसक्ने जानकारी दियो।

तर चिठ्ठीपत्र आदानप्रदान, भाषा अनुवाद लगायतका कारण यो प्रक्रियाले महिनौँ लिनसक्ने अवस्था रहेको ती बताउँछन्।

बीबीसीले राहत र खोजीका बारेमा नेपालस्थित रुसी राजदूतावास र रुसको विदेश मन्त्रालयलाई सम्पर्क गरेको भएपनि जबाफ प्राप्त भएको छैन।

पीडित परिवारले कति क्षतिपूर्ति पाउँछन्?

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

रुसका लागि पूर्वनेपाली राजदूत मिलनराज तुलाधरका अनुसार रुसीहरूले जति क्षतिपूर्ति पाउँछन् त्यही बराबर रकम ज्यान गुमाएका नेपालीका परिवारहरूले पनि पाउने छन्।

उनले भने, "रुसीहरूले जति क्षतिपूर्ति पाउँछन् त्यही नै हाम्रो हकमा पनि हो। प्रत्येकको सम्झौतामा नै त्यही छ। हामीसँगका सबै पत्राचारमा पनि छ। "

तर सबै कानुनी प्रक्रिया पुर्‍याउनुपर्ने भएकाले ज्यान गुमाएकाहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन केही समय लागेको उनको भनाइ छ।

उनले भने, "कसलाई मनोनयन गरेको छ त्यो हेर्नुपर्‍यो। नेपालको वार्ड र प्रशासनबाट को को हकदार छन् त्यो प्रमाणित गर्नुपर्‍यो। अनि फेरी रुसी भाषामा अनुवाद गरेर प्रमाणित गर्नुपर्‍यो।"

अघिल्लो वर्ष मस्कोबाट फर्किएका उनले थपे, "म (राजदूतको जिम्मेवारीबाट) फर्कने बेलासम्म मृत्यु भएका मानिसहरूको क्षतिपूर्ति लिनेबारे चिठीपत्रहरू आदानप्रदान भइरहेको थियो।"

सुरुमा रुस सरकारले नेपाली राजदूतावासको खातामा रकम जम्मा गरिदिने 'राहत भुक्तानी ढाँचा'मा छलफल अघि बढेको भए पनि पछि रुस सरकारले पीडितका आफन्त स्वयं मस्को आएर क्षतिपूर्ति दाबी गर्नुपर्ने नियम ल्याएको थियो।

मस्कोस्थित दूतावासमा जम्मा ३ जना मात्रै नेपाली कर्मचारी कार्यरत छन्। जनशक्तिको अभाव र रुसी भाषामा त्यहाँको सरकारबाट प्राप्त हुने सूचनामा निर्भर हुनुपर्ने भएकाले यो प्रक्रिया सहज नभएको कतिपय अधिकारीहरू बताउँछन्।

तस्बिर स्रोत, Family Handout

पूर्वराजदूत तुलाधरका अनुसार सन् २०२४ को मेमा रुसको रक्षा मन्त्रालयका अधिकारीले उनलाई नेपालीहरूको भर्ती रोक्ने निर्णय भएको जानकारी गराएका थिए।

त्यसयता रुसी सेनामा कार्यरत कैयौँ नेपालीहरू आफ्नो करार समाप्त गरेर नेपाल फर्किएका छन्।

नौ लाख रुपियाँ तिरेर रुसी सेनामा जागिर खान मस्को पुगेको बताउने ओखलढुङ्गाका सुदीप खत्री त्यसमध्ये एक हुन्।

उनी भन्छन्, "लडाइँको समयमा उहीँ नै काम गर्नेहरूको पनि सानोतिनो केही कागज मिलेन भने तलब भत्ता केही पनि आउँदैन थियो। मृत्यु हुनेहरूको हकमा युद्ध समाप्त नभएसम्म क्षतिपूर्ति खासै दिँदैन होला किनभने त्यहाँ सबै लथालिङ्ग छ।"

"हामीले जतिखेर पनि हाम्रो मृत्यु हुनसक्छ उद्धार गर्नुहोस् भनेर रुसमा हुँदा कैयौँ पटक नेपालमा भन्यौँ। तर नेपाल सरकारको कुरा रुसले सुनुवाइ गर्छ जस्तो मलाई लाग्दैन। एक वर्ष काटेपछि हामीलाई बिदा दिएको थियो। त्यही बेला म फर्किएँ। बाँचेर नेपाल आए त्यो नै मेरो लागि ठूलो कुरा हो।"

तस्बिर स्रोत, Sudip Khatri

तस्बिरको क्याप्शन, सुदीप खत्री १ वर्ष रुसी सेनामा काम गरेर नेपाल फर्किएका हुन्

न्यायको खोजी र परिवारका अपेक्षा

रुसले आफ्नो सेनामा नेपाली भर्ना भएका वा तिनको भर्ना रोकिएको विषयमा औपचारिक धारणा राख्ने गरेको पाइँदैन। तर यो बीचमा पीडित परिवार 'बोलेर मात्रै केही नहुने' मनस्थितिमा पुग्दै गएको देखिन्छ।

कीर्तिपुरमा भाडामा लिएको जग्गामा बनाइएको टहरा छाडेर सिर्जना बस्नेत अघिल्लो महिना काठमाण्डूको बौद्ध नजिकै डेरा सरिन्।

किर्तीपुरमा बस्दा बङ्गुरपालन गर्दा आफ्नो परिवारलाई झन्डै ८ लाख नोक्सान भएको उनी बताउँछिन्। विनोदले शान्ति सेनाबाट कमाएर ल्याएको पैसाबाट उक्त ऋण सो परिवारले तिरेको थियो।

कीर्तिपुरको त्यो टहरामा बस्दा नै सिर्जनाले पति गुमाएको पीडादायी खबर सुन्नुपर्‍यो।

उनी भन्छिन्, "हामीले धेरै थोक गुमायौँ यहाँ नबसौँ भनेर छोराले पनि जिद्दी गर्‍यो। त्यही भएर केही काम पाइन्छ होला भनेर सहर नजिकै सरेका हौँ। अहिलेसम्म केही काम पाएकी छैन।"

रुस युक्रेनमा समस्यामा परेका नेपाली परिवारलाई सहयोग उपलब्ध गराउने जिम्मेवारी पाएको कन्सुलर सेवा विभागमा केही दिन अघि उनी पुगेकी थिइन्। त्यहाँ उनलाई आफैँ खोज्न जाने कि कुर्ने दुईवटा विकल्प रहेको सुनाइएको थियो।

अमित साह चाहिँ सरकारी निकायहरूमा नगएको धेरै भइसक्यो। आफूलाई कुनै पनि निकायले सम्पर्क नगरेको बताउने उनले भने, "पैसाको अभावले गर्दा लोभमा परेर हाम्रा मान्छेले आफ्नो ज्यान गुमाउनुपरिरहेको छ।"

"म जस्ता धेरै पीडित छन् कसैका दाइ छैनन्, कसैका भाइ छैनन्। बुढेसकाल लागेका बुवा आमा मात्रै हुनहुन्छ, उहाँहरू कसरी रुस जाने? बरु सरकारले सकेसम्म धेरै पहल गरिदिओस्। पीडितलाई न्याय दिनुहोस्,दु:ख नदिनुहोस् । यो हाम्रो अपेक्षा हो।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।