यूएफओबारे नासाले खुलाएका पाँच नयाँ कुरा

तस्बिर स्रोत, Getty Images

    • Author, माइक वेन्ड्लिङ
    • Role, बीबीसी न्यूज

अमेरिकी अधिकारीहरूले दशकौँ अघिदेखि देखा परेको भनिएका झन्डै ८०० वटा 'अन्आइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट' (यूएफओ) सँग सम्बन्धित घटनाको अध्ययन गरेका छन्। तीमध्ये केही वस्तुबारे मात्र पूर्ण व्याख्या गर्न नसकिएको नासाका अनुसन्धाताहरूको एउटा समूहले बताएको छ।

'अन्आइडेन्टिफाइड अनोमलस फिनोमिना' (यूएपी) सङ्ज्ञा दिइएका वस्तुबारे आफूले गरिरहेको अनुसन्धानको व्याख्या गर्न नासाले गत वर्ष उक्त समूह स्थापना गरेको थियो। उक्त समूहले बुधवार पहिलो सार्वजनिक बैठक गर्‍यो।

नासाले यूएफओबारे एउटा प्रतिवेदन आगामी जुलाई महिनामा सार्वजनिक गर्न लागेको छ।

यूएपीलाई "विमान वा चिनिएको प्राकृतिक वस्तुका रूपमा वैज्ञानिक दृष्टिकोणबाट पहिचान गर्न नसकिने" तर देखिएका घटनाका रूपमा परिभाषित गरिएको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र गुप्तचर निकायहरूले 'अन्आइडेन्टिफाइड एरिअल फिनोमिना' बारे छुट्टै अनुसन्धान गरिरहेका छन्।

नासाको बैठकमा प्रस्तुत केही तथ्यहरू यहाँ प्रस्तुत गरिएको छ।

देखा परेका धेरै वस्तु के हुन् भन्न सकिन्छ, अरूबारे अझै रहस्यपूर्ण

"हामी प्रत्येक महिना (यस्ता वस्तुबारे) ५० देखि १०० वटा नयाँ खबर पाउँछौँ," संयुक्त राज्य अमेरिकाको रक्षा मन्त्रालयको एक अङ्गका रूपमा रहेको अल-डोमेन अनोमली रेजलूशन अफिस (आरो) का निर्देशक शन किर्कप्याट्रिकले भने।

तर कुल सङ्ख्याको दुईदेखि पाँच प्रतिशत वस्तु मात्र "साँच्चै नै नौलो" हुनसक्ने उनले बताए।

अध्ययनका क्रममा जलसेनाको एक विमानले अमेरिकाको पश्चिम क्षेत्रमा राति खिचेको एउटा भिडिओमा आकाशमा थोप्लाहरूको चलायमान लहर देखिएको थियो।

सेनाको विमानले त्यसलाई रोक्न सकेन। पछि त्यो वस्तु एउटा विमानस्थलतिर गइरहेको एउटा व्यावसायिक जहाज भएको पत्ता लाग्यो।

तर अन्य वस्तुहरू थप रहस्यपूर्ण छन्।

अमेरिकी रक्षा मन्त्रालयको एउटा प्रतिवेदनले सन् २०२१ मा बताएअनुसार सन् २००४ देखि देखा परेका १४४ वटा वस्तुमध्ये एउटा चाहिँ व्याख्या हुन बाँकी रह्यो।

उक्त वस्तु पृथ्वीबाहिरबाट आएको हुनसक्ने सम्भावनालाई उनीहरूले अस्वीकार गरेका छैनन्।

तस्बिरको क्याप्शन, प्रत्यक्षदर्शीले बताएको आधारमा कलाकारले बनाएको अज्ञात वस्तुको तस्बिर

गोपनीयताको विषयले नासाको अनुसन्धान सीमित

गोपनीयतासँग सम्बन्धित कारणहरूले गर्दा पनि नासाको अनुसन्धान सीमित हुने किर्कप्याट्रिकले बताए।

"हामी संसारभरि आफूले चाहेका ठाउँमा सङ्कलन गर्ने सबैभन्दा ठूला उपकरणहरू राख्न सक्छौँ," उनले भने।

"अहिले चाहिँ हामीसँग भएका धेरै उपकरण कन्टिनेन्टल संयुक्त राज्य अमेरिकामै छन्," उनले भने।

"अधिकांश मानिसहरू आफ्नो घरछेउ हामीले उपकरण राखेको मन पराउँदैनन्।"

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, म्यासचूसिस्ट्सको आकाशमा सन् १९५२ मा देखा परेका वस्तुको तस्बिर

माइक्रोवेभ र दृष्टिभ्रम

यूएपीसँग सम्बन्धित डेटाको अर्थ लगाउन प्रायः कठिन हुन्छ। तिनलाई सजिलै बङ्ग्याउन सकिन्छ।

अस्ट्रेलियाका अनुसन्धाताले सङ्कलन गरेको रेडिओ वेभको उदाहरण दिँदै नासाको यूएपी टोलीका अध्यक्ष डेभिड स्पर्गलले भने, "तिनको बनोट साँच्चै अनौठो थियो। जे भइरहेको थियो त्यो मानिसहरूले छुट्ट्याउन सकेनन्।"

"खाना खाने बेलातिर उनीहरूले ती सबै एक ठाउँमा जम्मा भएको देखे।"

अनुसन्धानकर्ताका ‌संवेदनशील उपकरणले खाना तताउन प्रयोग भएको माइक्रोवेभको सिग्नल टिपेको कुरा पछि पत्ता लाग्यो।

दशकौँ अनुभव भएका भूततपूर्व अन्तरिक्षयात्री तथा विमानचालक स्कट केलीले दृष्टिभ्रमबारे एउटा कथा सुनाए।

उनी र उनका सहयोगी चालक भर्जिनिया बीचनजिकै विमान उडाइरहेका थिए। त्यति बेला उनका सहकर्मीले "यूएफओसँगै उडिरहेको" बताए।

"मैले चाहिँ देखिनँ। हामीले यताउता हेर्‍यौँ, पछि थाहा भयो त्यो त 'बार्ट सिम्प्सन' बलून पो रहेछ।"

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकामा लामो समयदेखि यूएफओ देखा परेको विषयबारे ठूलो कौतूहल देखिन्छ

हेयभाव र दुर्व्यवहारबाट अनुसन्धानमा दुष्प्रभाव

'फ्लाइङ ससर'बारे विद्यमान सामाजिक हेयभावका कारण व्यावसायिक पाइलटहरूले यूएपी देखेको बताउन सङ्कोच मान्ने स्पर्गलको अनुभव छ।

"हाम्रो एउटा लक्ष्य नै यो हेयभाव हटाउनु हो," उनले भने, "किनकि यूएपीबारे महत्त्वपूर्ण प्रश्नहरू सम्बोधन गर्न उच्च गुणस्तरका सूचनाहरू आवश्यक छन्।"

अनि आफ्नो कामबापत केही वैज्ञानिकहरूले अनलाइन दुर्व्यवहार खेप्नुपरेको छ।

"दुर्व्यवहारले खालि यूएपीको क्षेत्रमा थप हेयभाव बढ्छ, जसका कारण वैज्ञानिक प्रक्रियामा उल्लेख्य अवरोध हुन्छ र यस महत्त्वपूर्ण विषयमा थप अध्ययन गर्न अरूलाई निरुत्साहित गर्छ," नासाका विज्ञान प्रमुख निकोला फक्सले भनिन्।

तस्बिर स्रोत, NAVAL AIR SYSTEMS COMMAND

तस्बिरको क्याप्शन, नाइट भिजन गगल्सबाट देखिएको यूएपीको तस्बिर

पारदर्शिताको नयाँ युग

नासाको परिवर्तित दृष्टिकोणका कारण पनि बुधवारको बैठक महत्त्वपूर्ण छ।

यो अमेरिकी अन्तरिक्ष निकायले यूएफओ देखा परेको भनिएका घटनाबारे मिथ्या सूचना चिर्न दशकौँ बिताएको छ।

बैठकको अन्त्यमा टोलीले सर्वसाधारण मानिसबाट केही प्रश्न लिएको थियो।

तस्बिर स्रोत, NASA

एउटा प्रश्न थियोः "नासाले के लुकाइरहेको छ?"

उत्तरमा नासाका डान इभान्सले आफ्नो निकाय पारदर्शितामा प्रतिबद्ध रहेको बताए।

"त्यसैले आज हामीले टीभीमा प्रत्यक्ष प्रसारण पनि गर्‍यौँ," उनले भने।