उत्तर कोरियाली कूटनीतिज्ञहरू किन भाग्छन्, नेपालसहित विभिन्न देशमा भएका नियोग किन बन्द

तस्बिर स्रोत, Getty Images

    • Author, युना कु
    • Role, बीबीसी कोरियन

क्युबास्थित उत्तर कोरियाली दूतावासका एक उच्चपदस्थ कूटनीतिज्ञ गत नोभेम्बरमा भागेर दक्षिण कोरियामा शरण लिन पुगेको दक्षिण कोरियाली गुप्तचर निकायले बीबीसीसँग पुष्टि गरेको छ।

उत्तर कोरियाबाट भागेका व्यक्तिबारे विवरणहरू सार्वजनिक हुन लामो समय लाग्छ। दक्षिण कोरियाको समाजमा घुलमिल हुनुअघि ती व्यक्तिहरूले दक्षिण कोरियाली समाजबारे धेरै कुरा सिक्नुपर्ने हुन्छ।

दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले जनाएअनुसार शरण लिन आउने उत्तर कोरियाली अधिकारी क्युबास्थित उत्तर कोरियाली दूतावासमा राजनीतिक मामिला हेर्ने पदमा थिए।

तर उनी उक्त पदमा रहेको वा नरहेकोबारे दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर निकाय 'एनआईएस'ले बीबीसीलाई पुष्टि गरेको छैन।

'द चोसन इन्बो' पत्रिकाले ती कूटनीतिज्ञको अन्तर्वार्ता लिएको जनाएको छ। उक्त पत्रिकाले ती व्यक्तिको नाम रि इल ग्यू भएको र उनी ५३ वर्षका भएको जनाएको छ।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार गत वर्ष १० प्रभावशाली उत्तर कोरियालीहरू भागेर दक्षिणमा शरण लिन आएका थिए। उनीहरूमध्ये कूटनीतिज्ञ, विदेश गएका नागरिक र विद्यार्थी पनि थिए। उक्त सङ्ख्या सन् २०१७ यताको सर्वाधिक हो।

उत्तर कोरियाली कूटनीतिज्ञहरूलाई प्योङ्याङका प्रभावशाली वर्गका सदस्य मानिन्छ।

त्यसले गर्दा उनीहरू भाग्दा उत्तर कोरियाली कूटनीतिक समूहको स्थिरता र दिगोपनमाथि प्रश्न उठ्ने गर्छ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, उत्तर कोरियाको ह्वासोङ सहर

दूतावासहरू बन्द गर्दै उत्तर कोरिया

कूटनीतिज्ञहरू भागेका घटनासँगै गत वर्ष उत्तर कोरियाले आफ्ना कैयौँ कूटनीतिक नियोगहरू बन्द गरेको पाइएको छ।

गत फेब्रुअरीसम्मको विवरण हेर्दा विदेशमा प्योङ्याङका कुल ४४ वटा कूटनीतिक नियोग रहेको देखिन्छ।

तीमध्ये ३९ वटा देशमा आवसीय दूतावासहरू छन् भने दुइटा महावाणिज्य दूतावास र तीन देशमा उनीहरूका प्रतिनिधि छन्। सन् २०२२ मा यो सङ्ख्या ५३ थियो।

उत्तर कोरियाले हालै नेपालसहित स्पेन, एङ्गोला, यूग्यान्डा, हङ्‌कङ र लिबियामा आफ्ना नियोगहरू बन्द गरेको थियो।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयले अन्तर्राष्ट्रिय प्रतिबन्धहरूका कारण उत्तर कोरियाली नियोगहरू बन्द हुन थालेका हुन्।

विज्ञहरूले उत्तर कोरियाको उक्त कदमलाई देशको व्यावहारिक पुनर्संरचना गर्ने प्रयासका रूपमा पनि हेरेका छन्।

"हाल बन्द गरिएका कूटनीतिक नियोगहरू सन् १९६० र १९७० को दशकमा स्थापना भएका थिए। त्यस बेला उत्तर र दक्षिण कोरिया संयुक्त राष्ट्रसङ्घमा आफ्नो पक्षमा समर्थन जुटाउन प्रतिस्पर्धा गर्दै थिए," कोरिया विश्वविद्यालयको इन्स्टिट्यूट फर न्याश्नल यूनिफिकेशन एन्ड कन्भर्जेन्सका निर्देशक नाम सुङ-वुकले बीबीसीसँग भने।

"तर अहिले त्यस्तो अवस्था छैन। उत्तर कोरियाले आफ्नो कूटनीतिक प्रयासलाई अमेरिकाविरोधी अडान भएका देशहरूतर्फ केन्द्रित गरेको छ। त्यहाँ उनीहरूले पैसा कमाउन र संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्धहरू छल्न सक्छन्।"

नामका अनुसार उत्तर कोरियाली कूटनीतिज्ञहरूले आफ्नो सञ्चालन खर्चको आधा रकम आफैँले बेहोर्नुपर्छ। तर राष्ट्रसङ्घीय प्रतिबन्धका कारण उनीहरूले वैदेशिक मुद्रा आर्जन गर्न समस्या हुने गर्छ।

तस्बिर स्रोत, Getty Images

फेरि "प्योङ्याङबाट बढ्दो दबाव" पनि खेप्नुपर्ने हुँदा त्यो "पलायनको कारण" हुन सक्ने उनी बताउँछन्।

उत्तर कोरियाली कूटनीतिज्ञहरूले सामना गर्नुपरेको आर्थिक कठिनाइबारे भागेर दक्षिण कोरियामा आएका मानिसहरूका भनाइका आधारमा दस्तावेजहरूमा उल्लेख गरेको पाइन्छ।

दक्षिण कोरियाको 'द चोसुन इन्बो' पत्रिकासँगको अन्तर्वार्तामा भागेर आएका उत्तर कोरियाली कूटनीतिज्ञ रि इल ग्यूले उत्तर कोरियाली विदेश मन्त्रालयका कर्मचारीलाई "टाई लगाएका भिखारी" भनेका छन्।

त्यसबाट कूटनीतिज्ञहरूको सामाजिक प्रतिष्ठा भए पनि उनीहरूको कमाइ न्यून हुने सङ्केत पाइन्छ।

सजायको डर

आर्थिक चुनौतीबीच उत्तर कोरियाली कूटनीतिज्ञहरूको जिम्मेवारी भने थपिँदै गएको छ।

एनआईएसमा पहिले उत्तर कोरिया विश्लेषक रहेका क्वाक गिल-सपले किम जङ अनको "दुई कोरिया नीति"का कारण कूटनीतिज्ञमाथि अनुशासनबारे जाँच गर्ने क्रम बढेको बताउँछन्। उनी अहिले 'वन कोरिया सेन्टर'का अध्यक्ष छन्।

उनले भने, "कूटनीतिज्ञहरूले अहिले त्रसित छन् र उनीहरू आफ्नो परिवारको भविष्यबारे बढी चिन्तित छन्।"

यसै वर्षको सुरुमा दक्षिण कोरिया र क्युबाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

पैँसट्ठी वर्षमा पहिलो पटक त्यसो भएको हो। त्यसले पनि उत्तर कोरियाली कूटनीतिकज्ञहरूलाई दबाव बढेको हुन सक्छ।

दक्षिण कोरियासँग सम्बन्ध स्थापना हुनुअघि क्युबा लामो समयदेखि उत्तर कोरियाको साझेदार रहँदै आएको थियो।

सन् २०१६ मा यूकेबाट भागेका उत्तर कोरियाली उपराजदूत टेइ योङ-होले फेसबुकमा रि इल-ग्यू आफ्नो साथी भएको खुलासा गरेका छन्।

टेइले लेखेका छन्, "[रि]को अन्तिम मुख्य काम क्युबा-दक्षिण कोरिया कूटनीतिक सम्बन्धलाई रोक्नु थियो। उनले प्याङ्योङको निर्देशनलाई लागु गर्ने प्रयास गरे। तर क्युबाको दक्षिण कोरियातर्फको झुकावका कारण त्यसो गर्न सक्ने अवस्था थिएन।"

सन् २०१९ मा अमेरिका-उत्तर कोरिया सम्मेलन विफल भएपछि त्यसमा संलग्न कूटनीतिज्ञहरूले निर्वासन र मृत्युदण्डजस्ता गम्भीर परिणाम भोग्नुपरेको विवरण पनि सार्वजनिक भएको छ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, किम जङ अनको नीतिका कारण पनि कूटनीतिज्ञहरू दबावमा परेको ठानिन्छ

कूटनीतिज्ञहरू भाग्दा पर्न सक्ने प्रभाव

सन् १९९० को दशकदेखि नै उत्तर कोरियाली कूटनीतिज्ञहरू भाग्ने क्रम सुरु भएको थियो। त्यसरी भाग्नेहरूको वास्तविक सङ्ख्या धेरै हुन सक्छ किनभने कैयौँ घटनाहरू बाहिर आउँदैनन्।

सुरुका भगौडाहरूले (कङ्गोस्थित उत्तर कोरियाली दूतावासका भूतपूर्व प्रथम सचिव योङ-ह्वानसहित अरूले) त्यसपछिका कूटनीतिज्ञहरूलाई भाग्न प्रेरित गरेको हुन सक्ने क्वाकको धारणा छ। ह्वान पनि भागेर दक्षिण कोरियामा शरण लिन पुगेका थिए।

"यदि तपाईँ उत्तर कोरियाली कूटनीतिज्ञ हुनुहुन्छ भने तपाईँले यो [टेइको मामिला] देखेको हुने सम्भावना धेरै छ," क्वाक भन्छन्।

"भागेर पनि उनले दक्षिण कोरियामा सक्रिय हुन र निर्वाचित सांसद तथा सत्तारूढ दलको सर्वोच्च परिषद्को सदस्य बन्न सक्छन् भन्ने देखाए।"

पहिले नै विदेशमा रहेका उत्तर कोरियाली कूटनीतिज्ञहरूलाई सामान्य नागरिकहरूको तुलनामा देश छाड्न सहज हुने ठानिन्छ।

यद्यपि अन्य व्यक्तिले जस्तै उनीहरूले पनि अहिले पनि उत्तर कोरियामा रहेका आफ्नो परिवारको सुरक्षाबारे चिन्तित हुनुपर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।