टिकटकको चिनियाँ माउकम्पनी भन्छ, 'बिक्री हुँदैन'

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, बाइटड्यान्सले टिकटक बिक्री गर्न लागेको भन्ने विवरणको खण्डन गरेको छ

टिकटकको चिनियाँ माउ कम्पनी बाइटड्यान्सले उक्त लोकप्रिय एप बेच्ने आफ्नो मनसाय नभएको स्पष्ट पारेको छ।

संयुक्त राज्य अमेरिकाले एउटा कानुन पारित गरेपछि उक्त टिकटक बेच्नुपर्ने वा अमेरिकामा प्रतिबन्धित हुने बाध्यात्मक अवस्था उत्पन्न भएको छ।

बाइटड्यान्सले आफ्नो स्वामित्वमा रहेको सामाजिक सञ्जाल 'टोटाओ' मा भनेको छः "बाइटड्यान्स टिकटक बेच्ने कुनै योजनामा छैन।"

बीबीसीले प्रतिक्रियाका लागि गरेको आग्रहलाई टिकटकले तत्कालै जबाफ दिएको छैन।

यस साताको सुरुमा टिकटकले अमेरिकी संसद्‌को निर्णयलाई "असंवैधानिक" भन्दै उक्त नयाँ कानुनलाई चुनौती दिने जनाएको थियो।

खण्डन र चिन्ता

प्रविधि उद्योगबारे समाचार प्रकाशित गर्ने 'द इन्फर्मेशन' वेबसाइटमा बाइटड्यान्सले अमेरिकामा टिकटक सञ्चालन गर्न 'एल्गरिदम'बिना बिक्री गर्ने विषयमा विचार गरिरहेको विवरण प्रकाशित गरेपछि बाइटड्यान्सले विज्ञप्ति जारी गरेको हो।

"बाइटड्यान्सले टिकटक बेच्न लागेको भन्दै विदेशी सञ्चारमाध्यममा आएको समाचार सत्य होइन।" बाइटड्यान्सले उक्त विवरणलाई "मिथ्या अफवाह" भनेको छ।

गत बुधवार अमेरिकी राष्ट्रपति जो बाइडनले सिनेटले पारित गरेको विधयेकमा प्रमाणीकरण बनेपछि उक्त कानुन कार्यान्वयनमा आएको छ।

बेइजिङले निजी कम्पनीहरूमाथि नियन्त्रण कायम गरिरहेको छ। त्यसबारे अमेरिका र पश्चिमा देशहरूमा चासो बढेको पाइन्छ।

ती देशमा बाइटड्यान्स वा उक्त कम्पनीसँग हुने डेटामा चिनियाँ कम्युनिस्ट पार्टीको कस्तो नियन्त्रण हुन्छ भन्ने चिन्ता देखिन्छ।

टिकटकले बारम्बार आफूमाथि चिनियाँ सरकारको नियन्त्रण नभएको स्पष्टीकरण दिँदै आएको छ।

उसले आफ्नो माउकम्पनी "चीन वा अन्य देशको एजेन्ट नभएको" बताउने गर्छ।

टिकटकको स्पष्टीकरण

तस्बिर स्रोत, GETTY IMAGES

तस्बिरको क्याप्शन, टिकटक चिनियाँ कम्पनी बाइटड्यान्सको स्वामित्वमा छ

टिकटकका अनुसार बाइटड्यान्सका चिनियाँ संस्थापकसँग नियन्त्रित अधिकारसहित २० प्रतिशत शेअर छ भने झन्डै ६० प्रतिशत संस्थागत लगानीकर्ताहरूको स्वामित्व छ।

अमेरिकी लगानी कम्पनीहरू कार्लाइल ग्रूप, जेनरल एट्लान्टिक र सक्स्क्हाना इन्टरन्याश्नल ग्रूप प्रमुख लगानीकर्ता हुन्।

बाँकी २० प्रतिशतको स्वामित्व संसारभरि रहेका उसका कर्मचारीहरूसँग छ। बाइटड्यान्सका पाँचमध्ये तीन बोर्ड सदस्य अमेरिकी छन्।

चिनियाँ सरकारले समेत त्यस्तो चिन्तालाई "मनोवैज्ञानिक अविश्वास" भनेको छ। उसले टिकटकमाथिको प्रतिबन्ध अमेरिकालाई प्रत्युपादक हुने चेतावनी दिएको छ।

तस्बिर स्रोत, BYTEDANCE

तस्बिरको क्याप्शन, बाइटड्यान्सले टिकटक बिक्री गर्नेबारे विचार भइरहेको भन्ने विवरणलाई 'मिथ्या अफवाह' भनेको छ

प्रतिबन्ध कहिलेदेखि

टिकटकले अमेरिकामा तत्कालै प्रतिबन्ध सामना गर्नुपर्ने छैन।

नयाँ कानुनले बाइटड्यान्सलाई आफ्नो व्यवसाय बिक्री गर्नका लागि नौ महिनाको समय दिएको छ।

सम्भावित प्रतिबन्ध कार्यान्वयनमा आउनुअघि उसले थप तीन महिनाको समय पाउने छ।

अर्थात् बिक्री गर्नुपर्ने समयसीमा सन् २०२५ तिर पुग्ने छ।

त्यति बेला सन् २०२४ मा निर्वाचित हुने नयाँ राष्ट्रपतिले आफ्नो पदभार ग्रहण गरिसकेका हुने छन्।

तस्बिर स्रोत, Getty Images

लामो समयदेखि चासो

टिकटकमाथि चिनियाँ प्रभावलाई लिएर अमेरिकी सांसदहरूले लामो समयदेखि चासो व्यक्त गर्दै आएका छन्।

सन् २०१२ मा स्थापित चिनियाँ कम्पनी बाइटड्यान्सको स्वामित्वमा टिकटक छ।

बेइजिङमा अवस्थित उक्त कम्पनी केम्यान टापुमा दर्ता भएको छ जसका कार्यालय युरोप र अमेरिकाभरि छन्।

विवादमा पर्नुको कारण

चिनियाँ सरकारले अमेरिकी नेतृत्वबारे शङ्काको बीजारोपण गर्न तथा प्रजातन्त्रलाई कमजोर बनाउन टिकटकलाई प्रयोग गरेको भनी अमेरिकी गुप्तचर समूहले चेतावनी दिएको छ।

अमेरिकाको अफिस अफ द डाइरेक्टर अफ न्याश्नल इन्टेलिजन्सले सार्वजनिक गरेको सुरक्षा चुनौतीसम्बन्धी वार्षिक प्रतिवेदनमा चिनियाँ सरकारका प्रचारबाजी गर्न औजारका रूपमा टिकटक खाताले "सन् २०२२ मा राष्ट्रपतीय चुनावको मध्यावधि चक्रमा दुवै राजनीतिक दलका उम्मेदवारहरूलाई तारो बनाएको बताइएको" उल्लेख छ।

आगामी नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन हुन लाागेको सन्दर्भमा टिकटक मात्र नभई सबै सामाजिक सञ्जालमा राजनीतिक निगरानी बढ्ने अपेक्षा गरिएको छ।

सन् २०२० मा ट्रम्प र बाइडनबीच राष्ट्रपतीय निर्वाचन हुने बेला पनि टिकटकलाई बिक्री गराउने वा प्रतिबन्ध लगाउने मागसहित अभियान चलेको थियो।

त्यतिबेला अमेरिकी अधिकारीहरूले चिनियाँ प्रविधि कम्पनी बाइट्ड्यान्ससँग भएको डेटा चिनियाँ सरकारसम्म पुग्न सक्ने बताएका थिए।

टिकटकका अधिकारीहरूले चाहिँ आफूले चिनियाँ सरकारलाई कुनै डेटा उपलब्ध नगराउने र यस्तो डेटा मागेको अवस्थामा पनि अस्वीकार गर्ने बताएका छन्।

अघिल्लो चुनावको केही महिनाअघि तात्कालिक राष्ट्रपति ट्रम्पले बाइट्ड्यान्सलाई ९० दिनभित्र टिकटक बेच्न कार्यकारी आदेश दिए पनि कानुनी चुनौतीका कारण त्यो कार्यान्वयन भएको थिएन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।