अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउन सक्ने विधेयक पारित

तस्बिर स्रोत, Reuters

संयुक्त राज्य अमेरिकाको सिनेटले एउटा विवादास्पद विधेयक अनुमोदन गरेको छ जसले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्छ।

यो विधेयकले टिकटकको स्वामित्व भएको चिनियाँ कम्पनी बाइटड्यान्सलाई नौ महिनाभित्र आफ्नो स्वामित्व बिक्री गर्ने वा अमेरिकामा प्रतिबन्ध खेप्ने विकल्प दिएको छ।

यो विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपति जो बाइडनसमक्ष पठाइने छ। बाइडनले उक्त विधयेक आफूकहाँ आएपछि अविलम्ब हस्ताक्षर गर्ने बताएका छन्।

बाइटड्यान्सले अमेरिकी सिनेटको निर्णयबारे आफ्नो कुनै प्रतिक्रिया नभएको बीबीसीलाई बताएको छ। यसअघि उक्त कम्पनीले टिकटक बिक्री गर्न लगाउने दबावको विरोध गर्ने जनाएको थियो।

"यो ठूलो कुरा हो," हार्वर्ड विश्वविद्यालयको बेलफर सेन्टरका प्राविधिक विशेषज्ञ डग क्यालिडाले बीबीसीलाई भने।

"केही साताभित्रै उनीहरूले दुवै सदनबाट विधेयक पारित गर्न सफल भए। उनीहरूले सार्वजनिक सरोकारका विषयमा यति चाँडो यस्तो गरेको देख्न पाउनु भनेको विरलै कुरा हो।"

अब के हुन्छ

अमेरिकाले बाइटड्यान्सलाई टिकटक बिक्री गर्न बाध्य पार्न सक्यो भने पनि त्यसका लागि चिनियाँ अधिकारीहरूबाट स्वीकृति आवश्यक पर्छ। बेइजिङले त्यसको विरोध गर्ने जनाइसकेको छ।

विश्लेषकहरूका अनुसार यो प्रक्रिया टुङ्गिन वर्षौँ लाग्ने औँल्याएका छन्।

सिनेटले टिकटकसम्बन्धी विषयसहित युक्रेन, इजरेल, ताइवान र इन्डो-प्यासिफिक क्षेत्रका अन्य अमेरिकी साझेदारहरूलाई सैन्य सहयोग दिने विषय गरी चारवटा विधयेक पारित गरेको हो।

सिनेटमा व्यापक समर्थन पाएको उक्त विधेयकको पक्षमा ७९ र विपक्षमा १८ जनाले मतदान गरेका थिए।

यूनिभर्सिटी अफ रिच्मन्डका कानुनका प्राध्यापक कार्ल टोबियासले बीबीसीलाई लामो कानुनी लडाइँ सुरु हुन सक्ने र त्यो झन्डै दुई वर्षसम्म चल्न सक्ने बताएका छन्।

उनका अनुसार यदि नौ महिनाभित्र बाइटड्यान्सबाट स्वामित्व किन्न इच्छुक पक्ष नभेटिए अमेरिकामा टिकटिकविरुद्ध हुने कारबाहीमा विलम्ब हुने छ।

अमेरिका किन टिकटक नियन्त्रण गर्न चाहन्छ

“वर्षौँसम्म हामीले चिनियाँ कम्युनिस्ट पार्टीलाई अमेरिकामा सर्वाधिक लोकप्रिय एउटा एप नियन्त्रण गर्न दियौँ जुन खतरनाक र अदूरदर्शी काम थियो,” सिनेटको इन्टेलिजन्स कमिटीका प्रमुख रिपब्लिकन नेता मार्को रुबियोले भने।

उनका अनुसार नयाँ कानुनले टिकटकको स्वामित्व भएको चिनियाँ कम्पनीलाई त्यो एप बिक्री गर्न बाध्य पार्ने भएकाले त्यो अमेरिकाका लागि लाभप्रद हुन्छ।

लाखौँ अमेरिकी प्रयोगकर्तासँग सम्बन्धित डेटा टिकटकबाट चीनले हात पारेको वा पार्न सक्ने आशङ्का अमेरिकी पक्ष छ। त्यसैले अमेरिकी संसद्ले टिकटकलाई चीनमा भएको कम्पनीबाट छुट्ट्याउने प्रयास गरेको हो।

टिकटकले अब के गर्ला

बीबीसीले प्रतिक्रियाका लागि अनुरोध गर्दा टिकटकले तत्कालै जबाफ दिएन।

तर गत साता उक्त सामाजिक सञ्जाल कम्पनीले सो विधेयकले "१७ करोड अमेरिकीको अभिव्यक्ति स्वतन्त्रमाथि कुल्चने, ७० लाख जनाको रोजगारी ध्वस्त पार्ने र अमेरिकी अर्थतन्त्रमा बर्सेनि २४ अर्ब डलर योगदान पुर्‍याइरहेको मञ्च बन्द गरिदिने" टिप्पणी गरेको थियो।

तस्बिर स्रोत, Reuters

टिकटकका प्रमुख कार्यकारी शोउ जी चूले गत महिना उक्त सञ्जालको रक्षाका लागि आफ्नो "कानुनी अधिकार" प्रयोग गर्न यथासम्भव सबै कुरा गर्ने बताएका थिए।

टिकटकले बाइटड्यान्स "चीन वा अरू कुनै देशको एजेन्ट नभएको " दाबी गर्दै आएको छ।

बाइटड्यान्सले विश्वका लगानी कम्पनीहरूको ६० प्रतिशत स्वामित्व भएको भन्दै आफू चिनियाँ कम्पनी नभएको तर्क गर्दै आएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।