कूटनीति कि नाटक : ट्रम्प र किमको अझै मिल्न खोज्ने चाहनाको सम्भाव्य अर्थ
तस्बिर स्रोत, Reuters
- Author, साङ्ग्मी हान
- Role, बीबीसी न्यूज कोरिअन
- पढ्ने समय: ५ मिनेट
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो एशिया भ्रमणका क्रममा उत्तर कोरियाली समकक्षी किम जङ अनसँग "समय मिलाउन" नसकिएकाले भेट नगर्ने पुष्टि गरेका छन्।
अनि एपेक शिखर सम्मेलनका लागि ट्रम्प दक्षिण कोरिया आइपुग्नुभन्दा एक दिनअघि उत्तर कोरियाले आफ्नो पश्चिमी तटबाट क्रूज क्षेप्यास्त्र परीक्षण गरेको छ।
यस साताको सुरुमा ट्रम्पले किमलाई "भेट्दा खुसी हुने" बताउँदै फेरि उत्तर कोरिया जाने प्रस्ताव राखेका थिए।
डोनल्ड ट्रम्प उत्तर कोरियामा प्रवेश गर्ने पहिलो अमेरिकी राष्ट्रपति बनेर इतिहास रचेको छ वर्षभन्दा बढी समय बितिसकेको छ।
सन् २०१८ र सन् २०१९ का बीचमा आफ्नो पहिलो कार्यकालको बेला उनले नेता किम जङ अनसँग तीन पटक भेटेका थिए।
यद्यपि, यतिखेर यी दुई देशबीच कुनै संवाद छ कि छैन भन्ने स्पष्ट छैन।
कति नजिक, कति टाढा
तस्बिर स्रोत, Reuters
अमेरिका कोरियाली प्रायःद्वीपमा परमाणु निःशस्त्रीकरण गर्ने आफ्नो लक्ष्यमा कायमै छ।
तर किम उत्तर कोरियाको परमाणु अस्त्र विकासलाई सुस्त पार्न अस्वीकार गर्छन्। उनी यसलाई पश्चिमा विश्वको "अर्थहीन चाह" भन्दै त्यो त्याग्नुपर्ने बताउँछन्
अनि ट्रम्प स्वयंले एक्लिएको राष्ट्रसँग संलग्न हुँदाका कठिनाइहरू स्वीकार गरेका छन्।
"ठिक छ, मलाई लाग्छ उनीहरू एक प्रकारको आणविक शक्ति हुन्," उनले गत अक्टोबर २४ मा भनेका थिए। "उनीहरूसँग धेरै पारमाणविक अस्त्रहरू छन् - तर व्यापक रूपमा टेलिफोन सेवा नै छैन।"
गत महिना किम स्वयंले अमेरिकासँग पुनः वार्ता सुरु गर्ने आफ्नो मनसायको आश्चर्यजनक घोषणा गर्दै उनीसँग "राष्ट्रपति ट्रम्पको राम्रो सम्झना" रहेको बताएका थिए।
सम्भावना
केही विश्लेषकहरूका अनुसार यसपटक ट्रम्प र किमबीच भेटघाट नभए तापनि अमेरिकाले उत्तर कोरियासँग निरन्तर सम्पर्क राख्ने सम्भावना छ।
विश्वव्यापी शान्ति निर्माताको रूपमा आफूलाई प्रस्तुत गर्दै आएका ट्रम्पको नजर नोबेल शान्ति पुरस्कारमा केन्द्रित छ भन्ने कुरा अब कुनै गोप्य छैन।
केही दिनअघि मात्र ट्रम्पले थाईल्यान्ड र क्याम्बोडियाबीचको शान्ति सम्झौतामा हस्ताक्षरको अवलोकन गर्न आफ्नो एशिया यात्राको पहिलो गन्तव्य मलेशियालाई बनाए।
गत जुलाईमा ती दुई देशबीच पछिल्लो एक दशकको सबैभन्दा खराब लडाइँ हुँदा दर्जनौँ मानिसहरूको मृत्यु भएको थियो।
ट्रम्पले आठ महिनामा आठ वटा युद्ध समाप्त गरेको दाबी गरेका छन्। "मैले यसलाई मेरो एउटा सोख भन्नु हुँदैन, किनकि यो निकै गम्भीर छ, तर यो त्यस्तो कुरा हो जसमा म राम्रो छु र त्यो गर्न म मन पराउँछु।"
"कोरियाली प्रायःद्वीपमा शान्ति स्थापना गर्ने, अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धलाई सामान्य बनाउने र उत्तर कोरियाको आणविक समस्यालाई पनि समाधान गर्ने इच्छा हुने छ," सोगाङ विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक किम जे-चुनले भने।
कोरिअन इन्स्टिट्यूट फर न्याश्नल यूनिफिकेशनका वरिष्ठ अनुसन्धादाता चो हान-बीओम उत्तर कोरिया ट्रम्पका लागि "बाँकी अन्तिम पजल" हुन सक्नेमा सहमत छन्।
"यदि यो पूर्ण रूपमा समाधान भएन भने पनि यसले ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको बाटो छोट्याइदिन सक्छ किनभने यसले एउटा प्रमुख सुरक्षा समस्या समाधान भएको छवि निर्माण गर्न सक्छ," उनले व्याख्या गरे।
प्योङ्याङको कूटनीति
तस्बिर स्रोत, Reuters
सन् २०१९ मा ट्रम्प र किमबीच अन्तिम पटक भेट भएयता उत्तर कोरिया बलियो हुँदै आएको छ।
"उत्तर कोरियाली शासन स्थिरताको अवधिमा प्रवेश गरेको छ," सन् १९९० को दशकको अन्त्यतिर दक्षिण कोरियाको एकीकरण मन्त्रीको रूपमा काम गरेका तथा क्युङनाम विश्वविद्यालयका प्राध्यापक काङ इन-देओक भन्छन्।
सन् २०२५ को सेप्टेम्बरमा किमले जापानविरुद्ध दोस्रो विश्वयुद्धको विजयको ८०औँ वार्षिकोत्सवको सम्झनामा आयोजित चीनको सैन्य परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ नेता सी जिन्पिङलाई भेटेको तस्बिर खिचेका थिए।
यो तीन नेताहरूको पहिलो सार्वजनिक उपस्थिति थियो।
उत्तर कोरियाले रुससँग सैन्य गठबन्धन बनाएको छ। गत वर्ष पश्चिमा देशहरूको प्रतिबन्ध सामना गरिरहेका यी देशहरूले सन् २०२४ मा एक पारस्परिक-रक्षा सन्धिमा हस्ताक्षर गरे।
त्यसमा यदि उनीहरू कसैले "आक्रमण" को सामना गरेमा "सबै उपलब्ध माध्यमहरू प्रयोग गरेर तुरुन्तै सैन्य र अन्य सहयोग प्रदान गर्ने" सहमति गरिएको थियो।
सन् २०२५ को ज्यानुअरीमा पश्चिमा देशका अधिकारीहरूले बीबीसीलाई बताएअनुसार उत्तर कोरियाले युक्रेनमा रुसका तर्फबाट लड्न करिब ११,००० को सङ्ख्यामा सैनिक पठाएको थियो।
त्यसको बदलामा उत्तर कोरियाले आर्थिक र प्राविधिक सहयोगको अपेक्षा गर्न सक्छ।
यसैबीच चीनसँग प्योङ्याङको आर्थिक सम्बन्ध पनि बलियो हुँदै गएको छ। सन् २०२५ को पहिलो छ महिनामा उसको व्यापार ३३ प्रतिशतले बढेर १.०५ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ भन्सारको विवरण छ।
विश्लेषकहरूका अनुसार रुससँगको गहिरो सैन्य सम्बन्धका कारण चीनले उत्तर कोरियाबाट आफूलाई टाढा बनाएको थियो।
तर अब वाशिङ्टन र सोल दुवै प्योङ्याङसँग सम्बन्ध सुधार गर्न उत्सुक छन्। बेइजिङसमेतले निकट सम्बन्ध खोजिरहेको छ।
अनि प्राध्यापक काङका अनुसार यस नयाँ विश्व व्यवस्थामा सन् २०१८ र २०१९ सँग तुलना गर्दा उत्तर कोरियाका लागि अमेरिकी प्रतिबन्धहरू हटाउने पक्षको अत्यावश्यकता केही कम भएको छ।
बीबीसी विश्व सेवाका ग्रेस चोई र ओल्गा सचकको थप रिपोर्टिङ तथा सम्पादन
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन