गाजाको खान यूनिस सहर जहाँ आश्रय लिने मानिसको घुइँचो लागेको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इजरेली हवाई आक्रमणका कारण ध्वस्त भएको भवनको भग्नावशेषमा बसेर रोटी पकाउँदै प्यालेस्टिनी महिलाहरू
    • Author, ओमैमा शैदिली र एलेक्जेन्ड्रा फूचे
    • Role, बीबीसी न्यूज अरबिक/बीबीसी वर्ल्ड सर्भिस

इजरेली सेनाले आफ्नो सैन्य अभियानको पछिल्लो चरणमा गाजा स्ट्रिपको दक्षिणमा अवस्थित खान यूनिस सहर वरिपरिका क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेको देखिन्छ। गाजा स्ट्रिपका २३ लाख बासिन्दामध्ये धेरै जना आश्रय खोज्दै पुगेको उक्त सहरबारे हामीले सामग्री बनाएका छौँ।

गाजाको उत्तरी क्षेत्रका बासिन्दालाई आफ्नो स्थान छाड्न आदेश दिइएपछि मानिसहरू खान यूनिसमा गएका हुन्। नयाँ मानिसको ओइरो लागेका कारण उक्त सहरका भौतिक पूर्वाधारमा ठूलो चाप परेको छ। त्यहाँ मानिसहरूलाई खाना, पानी र आवासको टड्कारो आवश्यकता छ।

द्वन्द्वका कारण गाजा स्ट्रिपमा अनुमानित १९ लाख मानिस विस्थापित भएको बताइएको छ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इजरेली हवाई हमलामा परेर घाइते भएका प्यालेस्टिनीहरूलाई नासेर अस्पताल लगिँदै

एक व्यक्तिले बीबीसीसँग आफन्तहरूसहित आफू इजरेली कारबाहीका कारण पहिले नै विस्थापित भइसकेको र अहिले फेरि आफूहरूलाई ठाउँ सर्न भनिएको बताएका छन्।

उनले भने, "इजरेली पक्षले खान यूनिसमा हेलिकप्टरबाट पर्चा छरेका थिए [जुन आश्चर्यजनक थियो], हामीलाई गाजा स्ट्रिपको दक्षिणतिर जान आदेश दिँदै।"

"हामी पहिले नै दक्षिणमा छौँ, उत्तरबाट विस्थापित भयौँ। हामी कहाँ जाने? घाइतेहरूलाई कसरी सार्ने? हामीले उत्तरबाट आउँदा ल्याएको पैसा सकिएको छ, हामीसँग कतै जान पैसा छैन।"

इजिप्टसँगको रफाह नाकाबाट झन्डै ९.५ किलोमिटर टाढा रहेको खान यूनिस दक्षिणी गाजाको सबैभन्दा ठूलो सहर हो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इजरेलले हवाई आक्रमण गरेको ठाउँमा विस्फोटन हुँदा निस्किएको आगोको मुस्लो

युद्धअघि त्यहाँको जनसङ्ख्या झन्डै चार लाख थियो।

यो इजिप्टको प्राचीन व्यापारिक मार्गमा पर्ने एउटा मुख्य व्यावसायिक केन्द्र हो।

सहर र शरणार्थी शिविर

सहरको पश्चिममा अवस्थित शरणार्थी शिविरको नाम पनि खान यूनिस नै राखिएको छ। उक्त शिविर रफाहको उत्तरमा भूमध्यसागरको तटबाट दुई किलोमिटर टाढा छ।

खान यूनिसको शरणार्थी शिविरमा सन् १९४८ मा इजरेल राज्य स्थापना हुँदा विस्थापित भएका प्यालेस्टिनीहरूको बसोबास छ।

प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय निकायले अहिले त्यहाँ ९०,००० प्यालेस्टिनी शरणार्थीलाई दर्ता गरेको छ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, खान यूनिसमा एउटा भवनको भग्नावशेष र त्यहाँबाट निस्किरहेको धुँवा

खान यूनिस सहरमा झन्डै ६० वटा विद्यालय र १०० वटाजति शिशुकक्षा सञ्चालन गर्ने केन्द्र भएको त्यहाँको शिक्षा मन्त्रालयले जनाएको छ।

सहरमा करिब आधा दर्जन अस्पतालहरू पनि छन् र त्यहाँका चिकित्सकहरूले सयौँ घाइतेहरूको उपचार गरिरहेको बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले दक्षिणी गाजामा विशेषगरी खान यूनिसमा स्थल सैन्य कारबाही तीव्र हुनुको अर्थ हजारौँ मानिसहरूले उपचार नपाउनु भएको बताएको छ।

उसले विशेषगरी नासेर मेडिकल कम्प्लेक्स र गाजा युरोपियन हस्पिटलबाट प्रदान गरिने स्वास्थ्य सेवा लिन गाजावासीले नपाउने सम्भावना रहेको बताएको छ। ती दुई सहरका मुख्य अस्पताल हुन्।

डब्ल्यूएचओको एउटा टोलीले हालै नासेर मेडिकल कम्प्लेक्सको भ्रमण गरेको थियो। उसले अस्पतालभित्रको अवस्थालाई "विपत्तिजनक" भनेर वर्णन गरेको छ।

उक्त टोलीका अनुसार त्यहाँ भवन र अस्पतालहरू बिरामी र विस्थापित भएर आश्रय खोज्ने मानिसहरूका कारण भरिएका छन्।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, नासेर अस्पतालमा घाइते प्यालेस्टिनीहरूको उपचार गरिँदै। इजरेलले खान यूनिसको पूर्वपट्टि हवाई आक्रमण गर्दा मानिसहरू घाइते भएका हुन्

उसले आकस्मिक कक्षमा बिरामीहरूको घुइँचो रहेको र त्यहाँ "अत्यावश्यक" सामान र स्वास्थ्यकर्मीको अभाव भएको देखेको बताएको छ। डब्ल्यूएचओले त्यहाँ भएका स्वास्थ्यकर्मीले थकित हुँदै लगातार काम गर्दा पनि त्यस्तो अभाव भएको उल्लेख गरेको छ।

डब्ल्यूएचओको टोलीका अनुसार हाल जम्मा ३५० शय्या भएको कम्प्लेक्समा १,००० बिरामी र हजारौँ मानिसहरू आश्रय लिएर बसेका छन्।

तीन सय ७० शय्याको गाजा युरोपियन हस्पिटलमा १,००० बिरामी र अनुमानित ७०,००० मानिस रहेको उक्त टोलीले बताएको छ।

ती दुई अस्पतालले आफ्नो क्षमताभन्दा तीनगुना बढी मानिसलाई आश्रय दिनुपरेको छ।

'अति भयो'

उक्त सहरका बासिन्दाहरूले अहिले भइरहेको हवाई आक्रमण युद्ध सुरु भएयताकै सबैभन्दा व्यापक र घातक भएको बताएका छन्। त्यहाँका कैयौँ भेग खाली गर्ने इजरेलले आदेश जारी गरेको छ।

अहिले उक्त सहर र वरपर इजरेलीहरूले छरेका पर्चाहरूमा मानिसहरूलाई चाँडै ठूलो सैन्य कारबाही हुन लागेको चेतावनी दिइएको छ।

एक व्यक्तिले बीबीसीको गाजा टुडे रेडिओ (उक्त क्षेत्रमा द्वन्द्व सुरु भएपछि आकस्मिक सेवा दिन स्थापना गरिएको आपत्कालीन रेडिओ सेवा)सँग भने, "हामी आज बिहान उठ्यौँ र [देखेर छक्क पर्‍यौँ] इजरेली सेनाले हामी रहेको क्षेत्र वरपर व्यापक खानतलासी सुरु गरेको थियो। व्यापक बम आक्रमण भएको देखेर हामी अचम्ममा पर्‍यौँ...।"

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इजरेली हवाई आक्रमणमा खान यूनिसमा भवनहरू भत्किएका छन्

"बालबालिकाहरू डराएका थिए र महिलाहरू अनि घाइतेहरू धेरै थाकेका थिए। हामीले स्पीकरमा दक्षिणको सुरक्षित क्षेत्रमा जानू भनेको सुन्यौँ। हामीलाई जानू भनिएको सुरक्षित क्षेत्रमा पुग्न कठिन छ। यातायातको सुविधा र अहिलेको परिस्थितिले सबै नागरिक र घाइतेहरूलाई अर्को ठाउँमा जान गाह्रो छ।"

एक बालकले उक्त कार्यक्रममा भने, "यो त अति भयो। हामीले जे खेप्नुपरेको छ त्यो अति हो। हामी मारिन्छौँ कि भन्ने डर लाग्छ। उनीहरूले अस्पतालनजिकैको एउटा घरमा बम हाने। त्यहाँ धेरै घाइतेहरू छन्।"

एक महिलाका अनुसार रेडक्रसले उनी र उनको समूहलाई उत्तरी गाजास्थित इन्डोनेशियाली अस्पतालबाट धेरै घाइते व्यक्तिसहित उक्त सहरमा सारेको थियो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, खान यूनिसमा इजरेलले पर्चा छरेको थियो

"हामी यहाँ सुरक्षित आश्रयको भएको स्थान भनेर आएका थियौँ तर दुर्भाग्यवश आज बिहान [सोमवार] देखि बम पड्किन रोकिएको छैन र घाइतेहरू डराएका छन्," उनले भनिन्।

"हामीलाई यो विद्यालयमा गोली हानिए पनि यहाँबाट सर्न नसक्ने भएकाले यो स्थानको सुरक्षा गर्न रेडक्रसलाई आग्रह गरेका छौँ। हामी एम्बुलेन्स र बसबाट मात्रै अर्को सुरक्षित ठाउँमा जान सक्छौँ।"

सहायता गर्न आह्वान

खान यूनिसको युरोपियन हस्पिटलनजिकै रहेको आश्रयस्थलका प्रमुखले रेडक्रसलाई सहायताका लागि आह्वान गरेका छन्।

उनले भने, "यो आश्रयस्थलमा रहेका सबै निर्दोष र घाइते छन्। उनीहरू मृत्युको मुखबाट जोगिएर अर्को असुरक्षित क्षेत्रमा सरेका हुन्। हामीमध्ये एक जनालाई युरोपियन हस्पिटलनजिकै खाना खाने क्रममा छर्राले लाग्यो। हामी रेडक्रसलाई यहाँ [रेडक्रसद्वारा] सारिएका घाइतेहरूको सुरक्षा गर्न आह्वान गर्छौं।”

तर रेडक्रस कुन चाहिँ क्षेत्र सुरक्षित हो भनेर सुनिश्चित गर्न असमर्थ छ। इजरेली डिफेन्स फोर्सेस र हमासले सङ्घर्षविराम वा कुनै सहमति भयो भने मात्र त्यसो गर्न सम्भव छ।

डाना डौलाह र बीबीसी मोनिटरिङबाट थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।