ल्हासा हुँदै कैलाश मानसरोवरको दृश्ययात्रा

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, एसियाका नेपालसहित भारत, भुटान, चीन र तिब्बतका मानिसहरूका साथै पश्चिमा मुलुक पर्यटकहरू कैलाश पर्वतको टाढैबाट दर्शन वा परिक्रमा गर्नका लागि आउने गर्छन्
    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ९ मिनेट

विभिन्न धर्मका मानिसहरूले श्रद्धा गर्ने तीर्थस्थल तथा पर्यटकीय स्थल कैलाश मानसरोवरको यात्रा गर्ने विभिन्न मार्ग छन्।

पछिल्लो समय धेरै नेपालीहरूले रसुवागढी नाकाबाट केरुङ हुँदै तिब्बत प्रवेश गरेर सुरुमा मानसरोवर र त्यसपछि कैलाशको दर्शन गर्छन्।

नेपालको हुम्लास्थित ताक्लाकोटबाट पनि मानिसहरू कैलाश र मानसरोवरको दर्शनका लागि जाने गर्छन्। यस पटक भने त्यसरी जाने केही नेपालीलाई चिनियाँ सुरक्षाकर्मीले रोकेर नेपाल नै पठाइदिएको विवरणहरू आएका छन्।

धार्मिक मात्रै नभई पर्यटकीय हिसाबले पनि जाने हो भने तिब्बतको ल्हासा हुँदै जानु उपयुक्त मानिन्छ।

यहाँ त्यही मार्ग हुँदै कैलाश मानसरोवर यात्रा गर्दा देखिने दृश्यहरू र त्यसबारे सङ्क्षिप्त विवरण प्रस्तुत छ।

ल्हासा आफैँमा एउटा चर्चित पर्यटकीय स्थल हो।

सन् १९५९ मा १४ औँ दलाई लामा निर्वासित भएर भारत जानुअघिसम्म बस्ने गरेको पोताला दरबार ल्हासाको सबैभन्दा आकर्षक स्थल मानिन्छ।

दरबार होस् वा गुम्बा जताततै चिनियाँ झन्डा

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, पोताला दरबार

सातऔँ शताब्दीमा बनेको यो दरबार दलाई लामा निर्वासित भएपछि मात्रै सर्वसाधारणका लागि खुला गरिएको हो।

प्रवेशका लागि सुरक्षा व्यवस्था असाध्यै कडा छ र दरबारभित्रका धेरैजसो क्षेत्रमा क्यामरा प्रयोगमा प्रतिबन्ध लगाइएको छ।

तिब्बतमा यात्रा गर्दा चाहे पोताला दरबारमा होस् वा गुम्बा वा व्यक्तिका घरमा समेत चीनको झन्डा देखिन्छ।

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, तिब्बती सम्राट् स्रङ चङ गम्पोले बनाएको जोखाङ टेम्पलबाहिरको बारखोर क्षेत्रमा मानिसहरू तिब्बती शैलीमा सुतेर तीन पटक परिक्रमा गर्दै उक्त टेम्पलमा रहेका शाक्यमुनि बुद्धप्रति सम्मान व्यक्त गर्छन्

पोताला दरबारपछि ल्हासा सहरको अर्को आकर्षण भनेको यहाँ रहेको जोखाङ टेम्पल हो।

तिब्बतमा चाहे पोताला दरबार होस्, जोखाङ टेम्पल वा थुप्रै गुम्बाहरू त्यहाँ तीन वटा रङ्गको प्रयोग गरिएको छ। सेतो, गेरु र पहेँलो।

सेतो रङ्गले राजनीति जनाउने, गेरुले धर्म र पहेँलोले शान्ति जनाउने बताइन्छ।

नेपालकी भृकुटीलाई विवाह गरेका तिब्बती सम्राट् स्रङ चङ गम्पोले जोखाङ टेम्पल बनाएका अभिलेख छ।

तिब्बतका जोखाङ टेम्पल वा गुम्बाहरू वा कैलाश पर्वतलाई तीन पटक परिक्रमा गरे अर्को जन्म खराब हुँदैन भन्ने विश्वास पनि थुप्रै तिब्बतीहरू गर्छन्।

यी क्षेत्रमा खास गरी तिब्बतीहरू हात उठाएर र जमिनलाई सुतेर ढोग्दै पूरै परिक्रमा गरिरहेको देख्न सकिन्छ।

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, तिब्बती बुद्ध परम्परा अध्ययन र संरक्षणका लागि ड्रेपुङ गुम्बा महत्त्वपूर्ण मानिन्छ

पोताला दरबार र जोखाङ टेम्पलपछि ल्हासामा तिब्बतकै ठूलो ड्रेपुङ गुम्बा छ।

ल्हासाबाट करिब १० किलोमिटर दुरीमा रहेको ड्रेपुङ गुम्बामा कुनै बेला १०,००० भिक्षुहरू अध्ययनका लागि बस्ने गरेको बताइन्छ। अहिले भने त्यो सङ्ख्या घटेको बताइन्छ।

पोताला दरबार बन्नुअघि दलाई लामा बस्ने गरेको यो गुम्बाबाट ल्हासा सहर र अगाडि हिमशृङ्खलाहरू देख्न सकिन्छ।

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, ड्रेपुङ गुम्बा

त्यसबाहेक नोबुलिङ्का भने ल्हासा सहर मै छ। यो दलाई लामाको समर प्यालेस (अर्थात् ग्रीष्मकालीन दरबार) रहने गर्थ्यो।

दलाई लामा निर्वासित हुनुअघि तीन महिना यहीँ बस्ने गरेको बताइन्छ।

त्यसबाहेक सेरा गुम्बा ल्हासा सहरबाट ६ किलोमिटर टाढा छ।

ठूलो भूभागमा फैलिएको सेरा गुम्बामा बौद्ध भिक्षुहरू अध्ययन गर्न बस्ने गर्छन्।

उनीहरूले आफ्नो तालिमका लागि वादविवादको व्यावहारिक अभ्यास गर्छन्।

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, ल्हासामा रहेको सेरा गुम्बामा वादविवादको अभ्यास गर्दै खुल्ला आकाशमुनिको कक्षामा सहभागी भिक्षुहरू

ल्हासा सहरमा करिब तीन दिनको घुमफिरपछि त्यहाँबाट तिब्बतको अर्को सहर सिगात्से हुँदै मानसरोवर जाने गरिन्छ। त्यस क्रममा बाटोमा यामद्रोक ताल पर्छ।

कोराला पासबाट देखिने यो ताल तिब्बतका तीन ठूला ताल मध्येको एक हो।

लामो आकारमा फैलिएको यो तालको लम्बाई ७२ किलोमिटर रहेको छ।

थुप्रै पर्यटकहरू कोराला पासमा झरेर पृष्ठभूमिमा देखिने गरी यो ताल र हिमशृङ्खलाको तस्बिरहरू खिच्ने गर्छन्।

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, ल्हासाबाट लेक यामद्रोक जाने बाटोमै करिब ५१०० मिटरको उचाइमा कोराला पास रहेको छ जहाँबाट तिब्बतको यामद्रोक ताल देखिन्छ

ल्हासा सहरबाट अन्य तालको तुलनामा नजिक रहेको यो ताल विभिन्न पर्वतहरूले घेरिएको छ।

पर्यटकहरूको मुख्य आकर्षणका स्थलहरूमध्ये पर्ने भएकाले यहाँ चौँरीगाईलाई व्यापारिक प्रयोजनका लागि पनि राखिएको हुन्छ।

यही तालको किनारै किनार हुँदै पर्यटकहरू सिगात्से र सगरमाथाको आधार शिविरसम्म जाने गर्छन्।

तिब्बतको प्राकृतिक भूभागको चित्ताकर्षक दृश्य हेर्न जाने पर्यटकका लागि यो ताल विशेष रहेको छ।

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, यामद्रोक तालको किनारमा चौँरीगाई

ल्हासाबाट सामान्यतया दुई दिन लाग्यो यो ठाउँमा जाने क्रममा सुन्दर ताल, हिमनदी, हिमशृङ्खला र ब्रह्मपुत्र नदी देख्न सकिन्छ।

ल्हासाबाट सिगात्से सहर जाने क्रममा यामद्रोक ताल पार गरेपछि गम्पा ला पास बाटोमै पर्छ।

ल्हागोइ काङ्ग्री शृङ्खलासमेत देखिने ४३६० मिटरको यो उचाइबाट सिमी ताल देख्न सकिन्छ।

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, सिमी ताल तिब्बतको प्राचीन सहर ग्यान्ट्सेबाट ३० किलोमिटर दक्षिणपूर्वमा पर्छ

सिगात्से सहरमा रहेको ताशी ल्हुन्पो गुम्बा तिब्बतको दोस्रो ठूलो गुम्बा हो।

ऐतिहासिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण मानिने यो गुम्बा सन् १४४७ मा पहिलो दलाई लामाले स्थापना गरेको बताइन्छ।

यहाँ तिब्बती र अन्य पर्यटकहरूले खास गरी सागा दावा पर्व मनाउने पवित्र महिनामा धेरै भ्रमण गर्ने गर्छन्।

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, सिगात्से सहरमा रहेको तिब्बतको दोस्रो ठूलो गुम्बामा रहेको ताशी ल्हुन्पो गुम्बामा बालबालिकादेखि वृद्ध वृद्धासम्मले भ्रमण गर्छन्

बाटोमै सगरमाथा आधारशिविर

सिगात्सेबाट अढाई सय किलोमिटर टाढा सगरमाथाको आधार शिविर पुगिन्छ।

स्थानीय भाषामा चोमलोङ्मा भनिने सगरमाथाको आधार शिविरमै जान भने रोक लगाइएकोले करिब एक घण्टा वरकै ठाउँबाट हेर्नुपर्छ।

बादलले नढाकेका बेला यहाँबाट सगरमाथा हेर्न पाइन्छ।

यस क्षेत्रमा जान छुट्टै टिकट लिनुपर्छ र उनीहरूले नै उपलब्ध गराउने बसमा मात्रै त्यहाँसम्म जान पाइन्छ।

कतिपय मानिसहरू भने पहिला नै अनुमति लिएर यही क्षेत्रमा रातको बास बसेर बिहान सगरमाथा आँखै अगाडि हेर्ने गर्छन्।

खास गरी सगरमाथा हिमालमाथि बिहानको सूर्योदय हेर्नका लागि पर्यटकहरू त्यसो गर्ने बताउँछन्।

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, तिब्बतबाट सगरमाथा आधारशिविर जाने यही क्षेत्रबाट हो

सगरमाथाको आधार शिविर जाने यो ठाउँबाट दिनभरिको बस यात्रापछि तिब्बतको सागा भन्ने क्षेत्रमा पुगिन्छ।

नेपालको रसुवागढी नाकाबाट प्रवेश गरेर केरुङ सहर हुँदै धेरै नेपालीहरू कैलाश मानसरोवर दर्शनका लागि बास बस्न सागा आउने गर्छन्।

सागाबाट मानसरोवर तालसम्म पुग्नका लागि ४५९० को उचाइ पार गर्नुपर्छ।

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, कैलाश मानसरोवरको यात्रा गर्ने पर्यटकले दिनभरी यात्रा गर्दा यस्तै विशाल पठारहरू देख्न पाउँछन्

सागाबाट मानसरोवर जान ४६६ किलोमिटर टाढा पर्छ।

धार्मिक हिसाबले मात्रै नभई पर्यटकीय हिसाबले तिब्बतको भूगोल मन पर्नेहरूका लागि यो दिन अविस्मरणीय हुनेछ।

३२० वर्ग किलोमिटर क्षेत्रफल रहेको मानसरोवर ताल ४५९० मिटरको उचाइमा रहेको छ।

दार्चेन र मानसरोवर छुट्टिने ठाउँमा हुर्चु नाम गरेको एउटा सानो बस्ती देखिन्छ।

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, मानसरोवर तालबाट ४० किलोमिटर दक्षिणमा कैलाश पर्वत पर्छ

मानसरोवर वरपरको धेरैजसो कच्ची बाटोमा तीन घण्टादेखि चार घण्टाजस्तो यात्रा गरेपछिमात्रै बास बस्ने ठाउँ भेटिन्छ।

यहाँ मानिसहरू बिहानै उठेर नुहाएर धार्मिक अनुष्ठानहरू गर्छन्।

विगतमा जस्तो तालमै डुबुल्की मार्न नदिने भएका कारण अहिले भने तालबाट पानी निकालेर किनारमा बसेर नुहाउने र सूर्यलाई अर्घ दिने गरिन्छ।

त्यहाँ नजिकै डाँडाको टुप्पोमा च्युसु गुम्बा छ। मानसरोवर तालको पूर्ण आकार हेर्न चाहनेहरू त्यही गुम्बा भएको क्षेत्रमा जान्छन्।

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, फराकिला पठार हुँदै बेलाबेला पार गर्नुपर्ने अग्ला हिउँले ढाकिएका पहाड र वरपर देखिने हिमशृङ्खला यो दिनको यात्राका आकर्षणहरू हुन्

मानसरोवरबाट कैलाश पर्वत दर्शनका लागि जाने क्रममा राक्षस ताल देखिन्छ जुन चन्द्रमा आकारको रहेको बताइन्छ। यहाँबाट हुम्लाको ताक्ला कोट केवल ८८ किलोमिटर रहेको छ।

तिब्बतमा बसमा यात्रा गर्दा सुरक्षा जाँच पटक पटक भइरहन्छ।

गुडिरहेको बसको गति चालकले बेला बेला कम गर्छन् ताकि बाटोका दुई छेउमा राखिएका पोल र त्यसमा जडित क्यामेराले तस्बिर लिन सकुन्।

सुरक्षा जाँच हुने क्षेत्रमा पर्यटकलाई तस्बिर खिच्न प्रतिबन्ध लगाइएको हुन्छ।

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, मानसरोवर तालको किनारै किनार यात्रा गर्दा घाम नडुबिसकेको क्षण, चन्द्रमा उदाइसकेको हुन्छ र पारी क्षितिजमा हिमशृङ्खला मोहक देखिन्छ

सागाबाट मानसरोवर ताल हिँडेकै दिन बादल लागेको छैन भने तपाईँले कैलाश पर्वत पनि देख्न सक्नुहुनेछ।

नभए आँखाले भ्याएसम्म देखिने मानसरोवर ताल आफैँमा मनमोहक छ।

गोधुली सन्ध्यामा होस् वा बिहानी सूर्योदयको समयमा मानसरोवर ताल जुन कुनै बेला हेरिरहन मन लाग्छ।

कतिपय तीर्थयात्रीहरू तालमा आफ्ना पितृको प्रतिविम्ब देख्न वा त्यहाँबाट आएको आवाज सुन्नसमेत सकिने विश्वास गर्छन्।

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, यमद्वारबाट देखिने कैलाश पर्वतको यो दक्षिणी मोहडा हो

मानसरोवर तालको किनारबाट कैलाश पर्वत पुग्नका लागि दार्चेन हुँदै जानुपर्छ।

दार्चेन कैलाशबाट नजिकमा रहेको एउटा सानो सहर हो जहाँबाट सात किलोमिटर टाढा यमद्वार रहेको छ।

त्यहाँसम्म बस जान्छ। धेरै नेपाली तथा भारतीय तीर्थयात्रीहरूले आफ्ना पितृको सम्झनामा यही यमद्वार नजिक हवन गर्ने, लाख बत्ती बाल्ने तथा उनीहरूको नाममा पाठ गर्ने गर्छन्।

कतिपयले फोटो पनि चढाउँछन्। उमेर र स्वास्थ्यले साथ नदिने मानिसहरू प्राय यहीँबाट कैलाशको दर्शन गरेर फर्किन्छन्।

यही क्षेत्रमा तिब्बतीहरूले भने सागा दावा पर्व मनाउँछन्।

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, सागा दावा पर्व मनाउन आएका बेला छोरीलाई आफ्नो स्थानीय पोशाक लगाइदिँदै एक तिब्बती आमा

कैलाश मानसरोवर क्षेत्रमा जुन महिनामा सागा दावा (हिमालय क्षेत्रमा बसोबास गर्ने बौद्ध धर्मावलम्बीहरूको पर्व) को समयमा मानिसहरूले खचाखच भरिएको हुन्छ।

कैलाशको यही क्षेत्रबाट कैलाश पर्वतको परिक्रमा गर्नका लागि पैदल यात्रा गर्नुपर्छ।

कैलाश परिक्रमा गर्न यहाँबाट ४५ किलोमिटर पैदल यात्रा गर्नुपर्छ।

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, यमद्वारबाट पहिलो रातको बास बस्न देरापुक पुगिन्छ जुन कैलाश पर्वत देखिने मुख्य स्थल हो

कैलाश पर्वत पुग्नका लागि गरिने पहिलो दिनको पैदल यात्राका क्रममा यस्ता दृश्यहरू दिनभरि नै देखिन्छ।

कैलाश पर्वत उत्तरमा ब्रह्मपुत्र, दक्षिणमा कर्णाली, पश्चिममा सतलज र पूर्वमा सिन्धु यी चार नदीहरूको मुहानको स्रोत रहेको बताइन्छ।

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, वैशाख, जेठ महिनासम्म पनि यो क्षेत्रमा नदी वा तालहरूमा हिउँ जमेको देख्न सकिन्छ

यमद्वारबाट देरापुकसम्म पुग्नका लागि पहिलो दिन १२ किलोमिटर पैदल यात्रा गर्नुपर्छ।

देरापुकमा बास बस्नका लागि सामान्य होटेलहरू छन्।

यहाँबाट सूर्यास्तका बेला होस् वा सूर्योदयको बेला कैलाश पर्वतमा सूर्यका किरण हेर्दा तीर्थयात्रीहरू यात्राको थकान मेटिएको महसुस गर्छन्।

बौद्ध, जैन, सिख बोन र हिन्दुले मान्ने कैलाश पर्वतको उचाइ ६६३८ मिटर रहेको छ।

त्यस्तै सबैभन्दा राम्रो र कैलाशलाई नजिकबाट देखिने उत्तरी मोहडा यहीँबाट देख्न सकिन्छ।

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, कतिपय तीर्थयात्री कैलाशबाट बगेको पानी पवित्र जलका रूपमा घरमा ल्याउनका लागि देरापुकबाट कैलाशको फेदमा पनि पुग्छन्

कैलाश पर्वत परिक्रमाको दोस्रो दिन सबैभन्दा कठिन मानिन्छ। यही दिन ५६५० मिटर उचाइमा रहेको डोल्मा ला पास पार गर्नुपर्छ।

कतिपय यात्रीहरू भने पहिलो दिन कैलाशको दर्शन गरेर नै फर्किने गर्छन्।

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, पैदल यात्राको दोस्रो दिन कैलाश पर्वतको उत्तरी मोहडाबाट पूर्वतर्फ लागिन्छ

डोल्मा ला पासमा पनि तीर्थयात्रीहरू आफ्ना पितृको तस्बिर चढाउने गर्छन्। यहाँबाट भने कैलाशको शिरमात्रै देख्न सकिन्छ।

यात्रा गरिरहँदा धेरै तिब्बतीहरू 'कोरा' अर्थात् सुतेर र उठेर गरिने परिक्रमा गरिरहेको देख्न सकिन्छ।

हिउँ होस् वा पानी वा कहालीलाग्दा भीर उनीहरू यसै गरी कैलाश पर्वतको परिक्रमा गर्छन्।

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, ५६५० मिटर उचाइमा रहेको डोल्मा ला पास पार गर्नु दोस्रो दिनको सबैभन्दा कठिन यात्रा हो

तस्बिर स्रोत, BINITA DAHAL/BBC

दोस्रो दिनको गन्तव्य रहेको खान्दो सङ्गलाम भ्याली पुग्न यो दिन २२ किलोमिटर पदयात्रा गर्नुपर्छ।

अक्सिजन एकदमै कम हुने भएकाले डोल्मा ला पासमा धेरै बेर नबस्न सुझाइन्छ। त्यहीँबाट ओरालो झर्दा पार्वती कुण्ड देख्न सकिन्छ।

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, डोल्मा ला पास पार गर्दा पार्वती कुण्ड देखिन्छ। हिउँ नपर्ने बेला यो ताल अर्कै रङको देखिने पथप्रदर्शकहरू बताउँछन्

परिक्रमा सकिने अन्तिम दिन जुतुलफूक भने ठाउँमा पुगिन्छ। जहाँ कैलाशको परिक्रमा पूरा गरेका दुई तिब्बती महिला भेटिए र फोटो खिच्ने अनुमति पनि दिए।

यमद्वारबाट पैदल यात्रा सुरु गरे देखिनै तिब्बतीहरू कठिन कोरा गर्दै हिँडेको देखिन्छ।

५२ किलोमिटरको कैलाश परिक्रमा गर्न उनीहरूलाई करिब २५ दिन लाग्ने बताइन्छ।

परिक्रममा सकिएको दिन उनीहरूलाई यसरी खादा ओढाएर सम्मान गरिन्छ।

तस्बिर स्रोत, BINITA DAHAL/BBC

तस्बिरको क्याप्शन, १८ दिनमा कैलाश परिक्रमा गरेर सकेका छिरिङ डोल्मा र तेन्जिङ डोल्मा

यसरी कैलाश परिक्रमा पूरा गरेपछि पुनः दार्चेन सहरबाट तिब्बतको सागा र केरुङ सहर हुँदै रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्न सकिन्छ।

यो यात्रा पूरा गर्न नेपाली रुपैयाँ करिब दुई लाख पचास हजार लाग्छ।

तर कस्तो होटेलमा बास बस्ने भन्ने कुराले खर्च त्योभन्दा कम वा ज्यादा हुनसक्छ।

त्यसबाहेक काठमाण्डूबाट रसुवागढी हुँदै जाने र फर्किने गर्ने हो भने टुर सञ्चालकहरूले नेपाली १ लाख ३५ हजारदेखि डेढ लाख रुपैयाँ सम्ममा लैजाने गर्छन्।

तिब्बतमा ल्हासा सहर वा सगरमाथा आधार शिविर वा कैलाश पर्वत र मानसरोवर तालको दर्शन गर्न जाँदा ती ठाउँहरूमा उचाइका कारण श्वासप्रश्वासमा समस्या हुनसक्ने हुँदा त्यसबारे सावधानी अपनाउनुपर्ने जानकारहरू बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।