पलेशाले रचिन् इतिहास, प्यारालिम्पिक्समा नेपाललाई पहिलो पदक
तस्बिर स्रोत, Reuters
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ४ मिनेट
तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठले प्यारिस पारालिम्पिक्समा कांस्य पदक जित्दै इतिहास रचेकी छन्।
यसअघि सन् २०२४ मा उनी एशिया छनोटमा स्वर्ण पदक जित्दै पेरिस प्यारालिम्पिक्समा छनोट भएकी थिइन्।
महिलातर्फको ५७ केजी तौल समूहको कांस्य पदक जित्ने क्रममा उनले सर्वियाकी खेलाडी मारिजा मिसेवलाई पराजित गरेकी थिइन्।
ओलिम्पिक्समा खेलेको ५७ वर्ष लामो इतिहास होस् वा १० वर्षअगाडि देखि खेल्न थालेको पारा-ओलिम्पिक्समा नेपालले पदक जित्नसकेको थिएन
यसपालि पारा-तेक्वान्दो खेलाडी पलेशाबाट नेपाली पक्षले ठूलो आशा राखेको थियो।
उनी दुईवटा विश्व पारा-तेक्वान्दो च्याम्पियनशिप र तीनवटा एशियन पारा-तेक्वान्दो च्याम्पियनशिपमा प्रतिस्पर्धा गरिसकेकी अनुभवी खेलाडी हुन्।
'यो देशको पदक हो'
तस्बिर स्रोत, Reuters
नेपाली खेलकुदको ६ दशक लामो इतिहासमा कुनै पनि खेलाडीले ओलिम्पिकमा पदक जित्न सकेका थिएनन्।
फ्रान्सको प्यारिसमा भइरहेको पारालिम्पिकमा शुक्रवार राती तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले कांस्य पदक जित्दै नेपाली खेलकुदको लामो पर्खाइको अन्त्य गरेकी छिन्।
पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत ५७ केजीमुनिको तौल समूहमा सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गरेर उक्त उपलब्धि हात पारेकी हुन्।
योसँगै पलेशा ओलिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनिन्।
पलेशाले भनिन्, “पदक जित्ने आत्मविश्वास थियो। त्यसलाई पूरा गर्न सकेँ। यो देशको पदक हो।”
तस्बिर स्रोत, Reuters
अर्को एउटा इतिहास
तस्बिर स्रोत, Kabiraj Negi
पलेशाले कांस्य पदक जित्न कुल तीन खेल जितेकी हुन्।
चार वर्ष अगाडि टोकियो ओलिम्पिकमा पनि दुई बाउट जितेर उनले कीर्तिमान रचेकी थिइन्। तर कांस्य पदकको भिडन्तमा भने पराजित हुन पुगेकी थिइन्।
पलेशाको नाममा थुप्रै कीर्तिमानहरू छ।
गत वर्ष चीनको पारा एसियाली खेलकुदमा उनले कांस्य जितिन्। जुन नेपालको एसियाडमा पहिलो कांस्य थियो।
त्यस्तै प्यारिस पारालिम्पिकको एसियाली छनोटमा उनले स्वर्ण पदक जितेर ओलम्पिक पुगेकी थिइन्। छनोट चरण पार गरेर ओलम्पिक पुग्ने उनी पहिलो पारा खेलाडी बनिन्।
उनका प्रशिक्षक कविराज नेगीले बीबीसीसंग भने, “पलेशाको उद्देश्य स्वर्ण जित्नु थियो। क्वार्टर फाइनलमा हारेपछि त्यो यात्रा रोकियो। तर उनी हतोत्साहित भइनन् र तुरुन्तै कांस्य पदकको खेलको लागि केन्द्रित भइहालिन्।”
तस्बिर स्रोत, Reuters
जितको त्यो क्षण
तस्बिर स्रोत, Kabiraj Negi
जब खेल समाप्तिको अन्तिम घण्टी बज्यो, प्रशिक्षक कविराज नेगी नेपाली झन्डा लिएर दौडिँदै पलेशा तिर दौडिए।
अनि पलेशाले झन्डा बोकेर रिङमा दौडिँदै खुसीयाली मनाइन्। उनको खेल हेर्न उपस्थित नेपाली पदाधिकारीहरू र दर्शकहरूले निरन्तर ताली बजाइरहेका थिए।
पलेशाले काठमान्डुमा रहेका आमा बुबालाई फोन गरेर खुशी साटेकी थिइन्।
पहिलो खेलमा उनले भेनेजुएलाकी मोरालेसलाई ३१-० को फराकिलो अन्तरले पराजित गरेर क्वार्टर फाइनल पुगिन्।
तस्बिर स्रोत, Kabiraj Negi
तर क्वार्टर फाइनल भीडन्त भने निकै दुर्भाग्यपूर्ण रह्यो। ब्राजिलकी विश्व वरीयताकी शीर्ष स्थानमा रहेकी खेलाडी सिल्भाना मायारा फर्नान्डेजविरुद्ध शुरुआत देखि नै अग्रता लिएकी पलेशा अन्तिम ५ सेकेन्डसम्म पनि ८-६ ले अगाडि थिइन्।
तर त्यसपछि विपक्षीले ४ अंक लिएपछि उनी सेमिफाइनल पुग्न सकिनन्।
त्यसपछि कांस्य पदकको भिडन्तमा उनले शुरुमा आयोजक फ्रान्सकी सोफी काभरजानलाई कडा प्रतिस्पर्धामा २-१ ले हराइन् भने सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै यो ऐतिहासिक उपलब्धि हात पारेकी हुन्।
उनले के ४४ क्याटेगोरी अन्तर्गत ५७ केजी मूनीको तौल समूहमा कांस्य पदकको लागि भएको भिडन्तमा उनले सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै यो ऐतिहासिक उपलब्धि हात पारेकी हुन्।
यस अघि १९९८ को सोल ओलिम्पिकमा राखिएको प्रदर्शनी खेलमा तेक्वान्दो खेलाडी विधान लामाले कांस्य जितेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन