मोदीले सीसँग एक्लै भेटे, भारत-चीन सीमामा तनाव घटाउन सहमति
तस्बिर स्रोत, Getty Images
भारत र चीनका नेताहरू दुई देशबीचको विवादास्पद सीमामा विद्यमान तनाव घटाउन सहमत भएको एक वरिष्ठ भारतीय अधिकारीले बताएका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन्पिङ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका गएका छन्। उनीहरूले बुधवार एक्लाएक्लै भेटवार्ता गरेको विवरण आएको छ।
बेइजिङका अनुसार भारतीय प्रधानमन्त्रीको अनुरोधमा सीले उनलाई भेटेका हुन्।
सीमामा उत्पन्न तनावका कारण तीन वर्षदेखि भारत र चीनबीच सम्बन्ध चिसिएको छ।
यी शक्तिसम्पन्न राष्ट्रबीच हिमाली क्षेत्र अवस्थित ३,४४० किलोमिटर लामो सीमामा अस्पष्टता छ। त्यसलाई लाइन अफ एक्चूअल कन्ट्रोल (एलएसी) भनिन्छ।
ब्रजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित समूह ब्रिक्सले विश्वमा पश्चिमा राष्ट्रहरूको नेतृत्वलाई चुनौती दिन सक्ने ठानिन्छ।
भारत र चीनले अब के गर्छन्?
भारत र चीन एलएसीबाट सैनिकहरूलाई हटाउने प्रयास अघि बढाउन सहमत भएको भारतका विदेशसचिव विनय मोहन क्वात्राले बिहीवार बताएका हुन्।
"भारत-चीन सम्बन्धलाई सामान्य बनाउनका लागि प्रधानमन्त्री [मोदी] ले सीमावर्ती क्षेत्रमा शान्ति कायम राख्नुपर्ने तथा एलएसीलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो," उनले भने।
तस्बिर स्रोत, AFP
"यस सन्दर्भमा दुई नेताबीच आफ्ना सम्बन्धित अधिकारीहरूलाई शीघ्र [एलएसीबाट] सैनिक हटाउने र तनाव घटाउने कामलाई घनीभूत बनाउन निर्देशन दिने सहमति भयो," उनले भने।
चिनियाँ विदेश मन्त्रालयले एउटा विज्ञप्ति प्रकाशित गर्दै सी र मोदीबीच "चीन-भारतबीच विद्यमान वर्तमान सम्बन्ध र पारस्परिक हितसँग सम्बन्धित अन्य विषयमा खुलस्त र गहिरो छलफल" भएको जनाएको छ।
"राष्ट्रपति सीले चीन-भारत सम्बन्ध सुधार हुँदा दुवै देश र जनताको समान हित हुने तथा त्यो विश्व र क्षेत्रको शान्ति, स्थिरता र विकासका लागि पनि अनूकुल हुनेमा जोड दिनुभयो।"
"दुवै पक्षले द्विपक्षीय सम्बन्धका समस्त विषयबारे सोच्नुपर्छ र सीमावर्ती क्षेत्रमा मिलेर शान्ति सुनिश्चित गर्न सीमासँग सम्बन्धित विषयमा उपयुक्त तरिकाले व्यवहार गर्नुपर्छ," विज्ञप्तिमा भनिएको छ।
दोभासे वा टिपोटकर्ता थिएनन्
भारतबाट प्रकाशित हुने 'द इन्डियन एक्सप्रेस' अङ्ग्रेजी पत्रिकाका अनुसार सी र मोदीबीच वार्ता हुँदा दुवै नेताले दोभासे वा टिपोटकर्ता राखेका थिएनन्।
यसअघि सी र मोदीबीच जी२० शिखर सम्मेलनमा सहभागी हुन जाँदा वार्ता भएको थियो।
आगामी महिना जी२० शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति भारत जाने अपेक्षा गरिएको छ।
उक्त सम्मेलन सेप्टेम्बर ९ र १० मा दिल्लीमा हुन लागेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन