पोहोरको तुलनामा डेङ्गी प्रकोप कसरी फरक, 'गम्भीर डेङ्गी' के हो

तस्बिर स्रोत, Facebook/balenOfficial

गत वर्ष यही समयताका काठमाण्डू उपत्यकामा डेङ्गीको प्रकोप उच्च थियो। तर यसपालि लामखुट्टेले सार्ने यो रोग राजधानीका तीन जिल्लामा फैलिने गति केही सुस्त देखिएको तथ्याङ्कले देखाउँछ।

तर आगामी एक-डेढ महिना निकै सतर्कता अपनाउनुपर्ने सुझाव जनस्वास्थ्यविद् तथा सरकारी अधिकारीहरूले दिएका छन्।

अहिलेसम्म पूर्वी नेपालका सुनसरी र मोरङ जिल्लामा डेङ्गी पुष्टि भएका बिरामीको सङ्ख्या उच्च छ।

काठमाण्डू महानगरपालिकाले लामखुट्टेको लार्भा नियन्त्रण गर्ने उद्देश्यले ठाउँठाउँमा जैविक विषादी छरिरहेको छ।

यसपालि ७७ मध्ये ७५ जिल्लामा डेङ्गी फेला परेको भए पनि अधिकारीहरूले सङ्क्रमण नियन्त्रणमा रहेको दाबी गरेका छन्।

प्रकोपको विवरण

यो वर्ष ज्यानुअरी १ देखि सेप्टेम्बर पहिलो सातासम्म देशभरि २४,००० जनाभन्दा धेरैलाई डेङ्गी सङ्क्रमण पुष्टि भएको छ।

मोबाइलपेजमा सामग्रीको यो भाग देखाउन हामी असमर्थ छौँ।

त्यसको झन्डै ६० प्रतिशत हिस्सा सुनसरी जिल्ला एक्लैको छ। एक हजारभन्दा धेरै सङ्क्रमणका मामिला भेटिएका चारवटा जिल्लामध्ये सुनसरी, मोरङ, धादिङ र झापा हुन्।

यो अवधिमा काठमाण्डू उपत्यकाका तीन जिल्लामा झन्डै १,००० जना डेङ्गीबाट सङ्क्रमित भएको सरकारी तथ्याङ्क छ।

मोबाइलपेजमा सामग्रीको यो भाग देखाउन हामी असमर्थ छौँ।

पोहोर देशभरि ५४,००० भन्दा बढी डेङ्गीका बिरामी फेला परेका थिए। तीमध्ये अगस्टमा ३,७०८ र सेप्टेम्बरमा २७,५२९ र अक्टोबरमा १७,८८९ सङ्क्रमित भएका थिए।

पोहोर कुल ३०,१३४ सङ्क्रमित सङ्ख्यासँगै प्रकोपको केन्द्रबिन्दु काठमाण्डू उपत्यका रहेको थियो भने यसपालि अहिलेसम्म सुनसरी अग्रस्थानमा छ।

पोहोर डेङ्गीले ८८ जनाको ज्यान गएको सरकारी तथ्याङ्क छ भने यो वर्ष अहिलेसम्म १४ जनाको ज्यान गएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पोहोर डेङ्गीको प्रकोप उच्च हुँदा अस्पतालहरू खचाखच भएका विवरण आएका थिए (फाइल तस्बिर)

‘सङ्क्रमण नियन्त्रणमा’

“यसपालि ७५ वटा जिल्लाबाट डेङ्गी सङ्क्रमण फेला परेको खबर आएको छ तर केही जिल्लाबाहेक अन्यमा त्यो सङ्ख्या निकै कम छ। अगस्टको सुरुमा जुन हिसाबले सङ्क्रमण बढेको थियो अहिले त्यो नियन्त्रित अवस्थामै छ। काठमाण्डूमा पनि पोहोरजस्तो ह्वारह्वार्ती डेङ्गी सङ्क्रमण बढ्ला जस्तो देखिँदैन,” इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत रहेको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले बीबीसीलाई भने।

आगामी केही साता सङ्क्रमणको सङ्ख्या बढेपनि तीव्र प्रकोप आउने अवस्था नदेखिएको उनले बताए।

देशको प्रमुख सरुवा रोगसम्बन्धी अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा मनीषा रावलको धारणा पनि उस्तै छ।

“पोहोर त यतिखेर काठमाण्डूमा डेङ्गीबाहेक अरू कुनै रोग छैन भन्या जस्तो भएको थियो। अस्पतालमा निकै चाप थियो। यसपालि अहिलेसम्म त्यस्तो देखिँदैन,” डा रावलले भनिन्।

केही साता अगाडिसम्म सुनसरी, धादिङ तथा अन्य प्रकोपग्रस्त जिल्लाबाट रिफर गरिएका गम्भीर बिरामी अस्पतालमा आउने गरेको तर अहिले भने जम्मा दुई जना मात्र वार्डमा रहेको उनले बताइन्।

मोबाइलपेजमा सामग्रीको यो भाग देखाउन हामी असमर्थ छौँ।

'गम्भीर डेङ्गी' के हो?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरि वर्षमा १० करोडदेखि ४० करोड मानिसलाई डेङ्गी लाग्छ।

तीमध्ये अधिकांशलाई कुनै लक्षण नदेखिने वा एकदमै थोरै लक्षण देखिने हुन्छ भने केहीलाई गम्भीर लक्षण देखा पर्छ।

डेङ्गीका बिरामीहरूमा एक प्रतिशतभन्दा कमको मात्र ज्यान जाने गरेको बताइन्छ।

तर बिरामीको गाम्भीरताका आधारमा डेङ्गीलाई दुई वर्गमा विभाजन गर्न सकिन्छ – डेङ्गी र गम्भीर डेङ्गी।

डेङ्गीमा सामान्यतया ज्वरो आउने, टाउको, जोर्नी, ढाड र पिँडुलाको मासु बेस्सरी दुख्ने, अरुचि हुने र वाकवाकी लाग्ने हुन्छ।

केही बिरामीलाई भने जटिलताहरू उत्पन्न भई 'गम्भीर डेङ्गी' लाग्छ।

“सामान्य डेङ्गी भनेको केही दिन ज्वरो आउने हुन्छ र यसलाई 'ब्रेक-बोन फीभर' पनि भनिन्छ।"

"गम्भीर डेङ्गी चाहिँ दुई प्रकारको हुन्छ – डेङ्गी शक सिन्ड्रोम र डेङ्गी हेमर्याजिक फीभर,” डा रावलले भनिन्।

डेङ्गी शक सिन्ड्रोम

– छातीमा पानी जम्ने, निमोनिया हुने, खोकी, ज्वरो, पेटमा पानी जम्ने आदि भएपछि रक्तचाप झरेर शक हुन्छ

डेङ्गी हेमर्‍याजिक फीभर

– रगतमा हुने प्लेट्लेट कम भएर रक्तश्राव हुन्छ

डा रावलका अनुसार गम्भीर किसिमको डेङ्गीको भने अस्पतालमै भर्ना गरेर उपचार गर्नु आवश्यक हुन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।