बाङ्ग्लादेशमा 'चुनावपछि प्रधानमन्त्री बन्न सक्ने' तारिक रहमान १७ वर्षपछि देश फिर्ता

तस्बिर स्रोत, Reuters

पढ्ने समय: २ मिनेट

बाङ्ग्लादेशको आगामी प्रधानमन्त्री बन्ने दौडमा रहेका तारिक रहमान आउँदो फेब्रुअरीमा हुने ऐतिहासिक आमचुनावअघि १७ वर्षको निर्वासन तोड्दै बिहीवार स्वदेश फर्किएका छन्।

उनी सन् २००८ देखि लन्डनमा बस्दै आएका थिए।

साठी वर्षीय रहमान प्रभावशाली जिया परिवारका अग्रणी अनुहार र पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा हुन्।

उनी कार्यवाहक अध्यक्ष रहेको बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) ले सन् २०२६ मा बाङ्ग्लादेशमा चुनाव हुँदा सत्तामा फर्कने लक्ष्य राखेको छ।

आउँदो चुनावमा यदि बीएनपी सबैभन्दा ठूलो दलको रूपमा देखा परेमा रहमान देशको नयाँ नेता बन्ने अपेक्षा गरिएको छ।

देश फर्किएपछि रहमानले के भने?

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ढाकामा उनको स्वागतमा दशौँ हजार मानिसहरू सहभागी भए

ढाकामा उत्रिएपछि उनले सबै धर्मका मानिसहरूलाई एकताबद्ध गर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गर्ने वाचा गरेका छन्।

ढाकाका सडकमा लाखौँ मानिसहरूले उनलाई स्वागत गरेका थिए।

मानिसहरूको विशाल भिडलाई सम्बोधन गर्दै रहमानले सबै जातीय र धार्मिक समूहका नागरिकहरूलाई "धर्मनिरपेक्ष र समावेशी राष्ट्र निर्माणमा सामेल हुन" आह्वान गरे।

उनको आगमनमा ढाकाका सडकका 'एलईडी स्क्रीन'हरू राखेर उनका भिडिओहरू देखाइएका थिए।

पुनरागमन

गत वर्ष प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरिएपछि रहमानको पुनरागमन भएको हो।

हसिनाको अवामी लीग पार्टी सत्तामा हुँदा उनी विभिन्न आपराधिक अनुसन्धानको भागीदार बनेका थिए।

तस्बिर स्रोत, Tarique Rahman/Facebook

तर उनको शासन पतन भएपछि उनलाई सबै आरोपबाट मुक्त गरिएको छ।

सन् २००८ मा शेख हसिना सत्तामा आएयता उनी यूके निर्वासनमा गएका थिए

आउँदो आम चुनावलाई धेरैले बाङ्ग्लादेशको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण मानेका छन्।

हसिनाको दल चुनावमा सहभागी होला?

तस्बिर स्रोत, EPA

हसिना भारतमा निर्वासनमा छिन् र उनको पार्टीलाई चुनावमा भाग लिन अनुमति दिइने सम्भावना कम छ।

सरकारविरोधी प्रदर्शन दबाउनमा हसिनाको भूमिकाको लागि उनलाई गत महिना मृत्युदण्डको सजाय सुनाइएको थियो।

संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूका अनुसार विद्यार्थी नेतृत्वको आन्दोलनमा गत वर्ष त्यहाँ १,४०० जनासम्मको मृत्यु भएको थियो।

हसिनाको अनुपस्थितिमा सुनुवाइहरू भएका थिए र उनले मानवता विरुद्धको अपराध गरेको आरोप अस्वीकार गरेकी छिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।