भारतको मणिपुरमा छ वटा शव भेटिएपछि फेरि साम्प्रदायिक हिंसा

तस्बिर स्रोत, Getty Images

    • Author, शेरिलान मोलन
    • Role, बीबीसी न्यूज, मुम्बई
  • पढ्ने समय: ४ मिनेट

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा अधिकारीहरूले महिला र बालबालिकाका छ वटा शव फेला पारेपछि उक्त राज्य अहिले उच्च सतर्कतामा रहेको छ। शव भेटिएका मानिसहरू मैतेई समुदायका भएको बताइएको छ।

मैतेई समूहहरूले आफ्ना मानिसहरूलाई अल्पसङ्ख्यक कुकी समूहका मानिसहरूले अपहरण गरेको आरोप लगाएका छन्। यद्यपि प्रहरीले भने त्यसको पुष्टि गरेको छैन।

यो घटनासँगै सप्ताहान्तमा त्यहाँ हिंसात्मक प्रदर्शनहरू भएका छन्। अधिकारीहरूले राज्यका केही भागमा इन्टरनेट सेवा समेत बन्द गरिदिएका छन्।

सन् २०२३ को मे महिनामा दुई जातीय समूहहरूबीचको घातक द्वन्द्वका कारण मणिपुरमा २०० जनाको मृत्यु भएको थियो भने हजारौँ मानिसहरू विस्थापित भएका थिए।

मणिपुरमा के भइरहेको छ?

तस्बिर स्रोत, EPA

शनिवार प्रदर्शनकारीहरूले कैयौँ विधायकहरूको घर र कार्यालयमा तोडफोड र आगजनी गरेका थिए। त्यस्तो तोडफोडका धेरैजसो निसाना सत्तारुढ भारतीय जनता पार्टी भाजपाका विधायकका घरहरू थिए।

प्रहरीले यो हिंसासँग जोडेर २३ जनालाई गिरफ्तार गरेको छ भने अधिकारीहरूले अनिश्चित समयका लागि कर्फ्यू लगाएका छन्। त्यसबाहेक मैतेईको धेरै प्रभाव रहेको इम्फाल भ्याली र विष्णुपुर जिल्लामा इन्टरनेट सेवा पनि बन्द गरिएको छ।

स्थिति अशान्त भएपछि सङ्घीय सरकारले उच्च सुरक्षा अधिकारीहरूलाई मणिपुर पठाएको छ। केन्द्र सरकारका गृहमन्त्री अमित शाहले आइतवार मणिपुरको अवस्थालाई लिएर उच्च-स्तरको सुरक्षा बैठक बोलाएका थिए तर मणिपुरको अवस्था भने अशान्त नै रहेको छ।

यसै महिना कुकी र मैतेईबीचको हिंसामा दुवैतर्फका कम्तीमा २० जनाको ज्यान गइसकेको छ।

कारण के हो?

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०२३ को मेदेखि मणिपुर प्रायजसो अशान्त छ

कुकी समुदायकी भनिएकी एक महिलाको सशस्त्र समूहका सदस्यहरूले बलात्कार गरेको र पछि जिरिबाम जिल्लामा आगो लगाइदिएको भन्ने आरोप लागेपछि नोभेम्बर ७ मा तनाव सुरु भएको थियो।

त्यसको चार दिनपछि एउटा प्रहरी चौकी र मैतेई शरणार्थीहरू रहेको राहत शिविरमाथि आक्रमण भएको थियो। उक्त घटनाका समुदायका धेरैले कुकी समूहहरूलाई दोष लगाएका छन्।

प्रहरीले त्यही दिन १० सन्दिग्ध लडाकुहरूलाई गोली हानी मारिदिएको थियो। त्यसलाई उनीहरूले 'शूटआउट' भनेका छन्, जसलाई भारतमा प्रायः "इन्काउन्टर" पनि भन्छन्।

प्रहरीले सशस्त्र समूहका मानिसहरू कुकी लडाकुहरू भएको हुन सक्ने शङ्का गरेको छ तर कुकी सङ्गठनहरूले भने त्यसलाई अस्वीकार गरेका छन् र ती व्यक्तिहरू "गाउँका स्वयंसेवकहरू" वा समुदायको संरक्षण गर्के हतियारसहितका नागरिक भएको हुन सक्ने जनाएको छ।

राहत शिविरमा हमलापछि एउटा परिवारमा एक हजुरआमा, दुई छोरी र तीन नातिनीहरू बेपत्ता भएका थिए। मैतेई समूहले उनीहरूलाई हतियारसहितका कुकी पुरुषहरूले अपहरण गरेको आरोप लगाएको छ।

विभाजनको त्रास

तस्बिर स्रोत, Khongsai

तस्बिरको क्याप्शन, मणिपुरको अन्तरजातीय द्वन्द्वमा इसाई धर्मावलम्बीहरूका धार्मिक स्थल निसानामा परेका छन्

शुक्रवार प्रहरीले छ वटा शव फेला पारेको छ तर शवको पहिचान भने पुष्टि गरिएको छैन। केही भारतीय सञ्चारमाध्यमले भने ती शव तिनै हराएका मानिसहरूको भएको भन्दै समाचार लेखेका छन्।

उक्त क्षेत्रमा प्रदर्शनकारी र नागरिक समाजका समूहहरूले हिंसा रोकेर सशस्त्र समूहविरुद्ध कदम चाल्नुपर्ने माग गरेका छन्।

गत वर्ष मे महिनामा कुकी र मैतेईबीचको झडप सुरु भएको थियो। मैतेईले आफूहरूलाई आधिकारिक रूपमा जातीय हैसियत दिनुपर्ने माग गरेपछि कुकी समुदायले प्रदर्शन गरेको थियो। उक्त हैसियत पाए उनीहरूमाथि सकारात्मक विभेद हुने थियो र मैतेईले अन्य फाइदाहरू पनि पाउने थिए।

त्यसयता उक्त राज्यमा छिटपुट अवस्थामा शान्ति भए पनि महिनौँसम्म हिंसा र अशान्त अवस्था रह्यो।

अहिले मणिपुर दुई भागमा विभाजित छ।प्रायः मैतेईहरू इम्फाल भ्यालीमा छन् भने कुकीहरू वरपरका पहाडी क्षेत्रमा बसोबास गर्छन्। सीमा र मध्यवर्ती क्षेत्रमा सुरक्षा फौज छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।