सजिलै पहिचान 'गर्न नसकिने' लागुपदार्थ एलएसडी नेपालमा कसले प्रयोग गर्छ

तस्बिर स्रोत, Jeff Divine

तस्बिरको क्याप्शन, सन् १९६० को दशकमा क्यालिफोर्नियामा हिपी परम्पराबाट विकसित 'द ब्रदरहुड अफ इटर्नल लभ' ले एलएसडीको प्रयोगको पक्षमा वकालत गरेको थियो। उक्त समूहले ठूलो मात्रामा एलएसडी उत्पादन गरेर विश्वभरि निःशुल्क वितरण गर्ने उद्देश्य राखेको थियो (फाइल तस्बिर)

गत महिना काठमाण्डूमा एलएसडी नामक लागुपदार्थ फेला पर्दा नेपाल प्रहरीका अधिकारीहरू आश्चर्यचकित भए। प्रहरीका अनुसार त्यो नेपालमा अहिलेसम्म भेटिएको उक्त कृत्रिम लागुऔषधको सबैभन्दा ठूलो परिमाण थियो।

प्रहरीले तालिमप्राप्त कुकुर र विद्युतीय उपकरणको प्रयोग गरेर साधरणतया गाँजा, चरेस र हेरोइनजस्ता लागुपदार्थ बरामद गर्दै आएको छ। एलएसडी चाहिँ परम्परागत विधिबाट पहिचान गर्न सकिँदैन।

प्रहरीले असार पहिलो साता एलएसडीयुक्त १०,००० वटाभन्दा बढी "स्टिकर" बरामद गरेको थियो।

त्यसअघि उक्त लागुऔषध नेपालमा पनि कसैकसैले प्रयोग गर्ने गरेको जानकारी प्रहरीले पाएको थियो।

तर तस्करी गरेर ल्याइएको पदार्थ बिक्रीवितरण हुनुभन्दा अगाडि पहिलो पटक त्यति ठूलो परिमाणमा फेला परेपछि आफूहरू चिन्तित भएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाले बताए।

ब्यूरोले "सुराकीका आधारमा पहिले एक व्यक्तिलाई पक्राउ गरेपछि" तस्करीको "अन्तर्राष्ट्रिय जालो" खोतल्ने प्रयासको गरेको छ। तर खासै ठूलो सूचना हात परिसकेको छैन।

"अहिलेसम्म यो लागुऔषध नेपाल भित्र्याएर यहाँ कारोबारमा संलग्न भएको आशङ्कामा इटलीका एक नागरिक पक्राउ परेका छन्। बाँकी व्यक्तिहरूबारे उनले खुलाएका छैनन्," ब्यूरोका प्रवक्ता चक्रराज जोशीले भने, "प्रहरीले अनुसन्धान गर्दै छ।"

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, साङ्केतिक तस्बिर

एलएसडी के हो?

एलएसडी 'लाइसर्जिक एसिड डाइ-इथाइलएमाइड' को सङ्क्षिप्त रूप हो। यो कृत्रिम पदार्थ रासायनिक प्रक्रियाबाट बनाइन्छ। शुद्ध रूपमा हुँदा यसको कुनै गन्ध हुँदैन र यो सेतो र स्फटिकजस्तो हुन्छ।

यो निकै भ्रान्तिजनक हुन्छ।

एलएसडी सेवन गरेपछि मान्छेले वास्तविकता अनुभूति गर्ने र वस्तुहरू हेर्ने दृष्टिकोणमा लामो समयसम्म भ्रम उत्पन्न हुन्छ। त्यसैले यसलाई निकै शक्तिशाली लागुपदार्थ मानिन्छ। यसको सबैभन्दा ठूलो जोखिम भनेको यसको प्रभाव ४८ घण्टासम्म रहनु हो।

यसले सुखद अनुभूति गराउने भएकाले यो पदार्थलाई केही रोगको उपचारमा पनि प्रयोग गरिन्छ।

“यसले लट्ठ्याउने मात्रै नभएर हुँदै नभएको कुरा हो जसरी भ्रम पैदा गर्छ,” अहिले लागुपदार्थ दुर्व्यसनीका लागि पुनर्स्थापना केन्द्र चलाइरहेका पूर्वप्रहरी अधिकारी वसन्त कुँवरले बीबीसी न्यूज नेपालीसँग भने।

तस्बिर स्रोत, IMPERIAL COLLEGE, LONDON

तस्बिरको क्याप्शन, एलएसडी सेवन गरेको व्यक्ति (दायाँ) र नगरेको व्यक्ति (बायाँ) ले आँखा चिम्लिँदा मस्तिष्कमा परेको दृश्यजनति प्रभावको चित्र

लन्डनस्थित इम्पेरिअल कलेजका वैज्ञानिकहरूले एलएसडीले कसरी मानव मस्तिष्कलाई असर गर्छ भन्नेबारे अनौठो कुरा पत्ता लगाएका थिए।

वैज्ञानिकहरूले २० स्वयंसेवकहरूलाई सबैभन्दा कडा 'क' वर्गको लागुपदार्थ दिएर उनीहरूको मस्तिष्कको स्क्यान गरेका थिए।

भ्रान्ति हुनेगरी उक्त पदार्थको प्रभाव चढ्न थालेपछि स्वयंसेवकहरूले मस्तिष्कका धेरै भागबाट "सूचना" पाउन थालेको स्क्यानहरूले देखाए। सामान्य अवस्थामा अलग रहेका भागहरूबीच पनि "कुराकानी" हुन थालेको देखियो।

त्यो कसरी सम्भव भयो भन्ने प्रश्नको उत्तर तत्काल भेटिएको छैन। यो अध्ययनमा सहभागी वरिष्ठ वैज्ञानिक डेभिड नटले त्यो पत्ता लगाउने काम स्नायुविज्ञानको भएको बताएका छन्।

तस्बिर स्रोत, NCB/Nepal Police

तस्बिरको क्याप्शन, नेपाल प्रहरीले एलएसडीमा डुबाइएका १०,००० थानभन्दा बढी स्टिकरहरू बरामद गरेको छ

अध्ययनका क्रममा वैज्ञानिकहरूले एलएसडी प्रयोग गर्दा विभिन्न जोखिम हुने भए पनि केही मनोरोगको उपचारमा यसको प्रयोग गर्न सकिने औँल्याएका थिए।

तर यसको प्रयोगले मानिसहरूको मस्तिष्कमा दीर्घकालीन समस्या निम्तिन सक्ने कुँवर बताउँछन्।

“यसको लत लाग्नलाई अरू लागुऔषधजस्तै धेरै खानु पनि पर्दैन। एक- दुईचोटिमै यसले मानिसहरूमा लत बसाउँछ त्यस कारण पनि यसलाई खतरनाकमध्येको ड्रग मानिन्छ,” उनले भने।

नेपालमा कसले प्रयोग गर्छ एलएसडी

खासगरी यो लागुपदार्थ "रमाइला पार्टी आयोजना गरिने क्लबहरूमा" प्रयोग हुने जानकारी प्रहरीसँग छ।

“यसलाई क्लबहरूमा प्रयोग गरिने लागुपदार्थको रूपमा चिनिने भएकाले 'क्लब ड्रग्स' पनि भनिन्छ,” लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख थपलिया भन्छन्।

विशेषगरी एकान्त वा त्यस्तो ठाउँमा रहेका होटल रिसोर्टहरूमा आयोजना हुने "ट्रान्स पार्टी"हरूमा यसको प्रयोग हुने गरेको सुराक पाए पनि बरामद गर्न भने नसकिएको थपलियाले बताए।

क्लबमा युवायुवतीहरू रमाइलो गर्ने उद्देश्यले जाने र त्यस्ता क्षेत्रमा कारोबारीहरूको माध्यमबाट नेपाली र विदेशी दुवै युवायुवतीले यसको प्रयोग गर्ने गरेको प्रहरीको आशङ्का छ।

तर नार्कोनन नेपालका संस्थापक कुँवर नेपालीहरू यो लागुऔषधिको प्रयोगकर्ता भए पनि नगण्य सङ्ख्यामा हुनसक्ने ठान्छन्।

“नेपालमा एसएसडीका ग्राहक ठेट नेपालीभन्दा पनि बाहिरबाट आउने मानिसहरू र बाहिर बसेर आएका नेपालीहरू हुन्,” कुँवर भन्छन्।

यसअघि पनि नेपालमा यस्तो लागुऔषधि प्रयोग हुने गरेको सूचना प्रहरीले पाउने गरेको तर कारोबारमा संलग्न जालोसम्म पुग्न नसकिएको अधिकारीहरू बताउँछन्।

तस्बिर स्रोत, NCB

निकै महँगो लागुऔषध

एलएसडीको बजारमूल्य अन्य लागुपदार्थभन्दा महँगो भएको बताइन्छ।

“गाँजा वा घरेलु रूपमा उत्पादन हुनेभन्दा यो अलि उच्च वर्गको र महँगो पनि हो। यसको एक पीसकै ४,००० देखि ८,००० रुपैयाँसम्ममा बिक्री हुने गरेको पाइएको छ,” थपलिया बताउँछन्।

यसअघि निकै थोरै परिमाणमा मात्रै भेटिने गरेको भए पनि असार ५ र ६ गते दुई दिनमा एलएसडीमा भिजाइएको १०,००० वटाभन्दा बढी स्टिकर फेला परे।

“हाम्रोमा एउटै व्यक्तिबाट १०,०९८ पीस र अरूहरूबाट समेत गरी १०,१३१ पीस बरामद भएको अहिलेसम्मकै धेरै हो। थोक मूल्यका आधारमा पनि यो दुईदेखि चार करोड रुपैयाँसम्ममा कारोबार हुने परिमाण हो,” उनले भने।

भारतमा पनि जेठ अन्तिम साता एलएसडीका १५,००० वटा टुक्रा बरामद भएको थियो। त्यसलाई भारतमा अहिलेसम्म बरामद ठूलो परिमाण भएको त्यहाँका अधिकारीहरूले बताएका थिए।

भारतीय अधिकारीहरूले 'डार्क वेब'को माध्यमबाट एलएसडीको कारोबार हुने गरेको पत्ता लगाएका थिए। नेपालमा यसको कारोबार कुन माध्यमबाट हुन्छ भन्ने खुल्न बाँकी रहेको अधिकारीहरू बताउँछन्।

प्रहरी अधिकारीहरूका अनुसार प्रारम्भिक अनुसन्धानबाट यो लागुऔषध पश्चिमा मुलुकहरू हुँदै भारतको बाटो भएर नेपाल आएको देखिएको छ। त्यसैले नेपालमै बेच्ने उद्देश्यले ल्याइएको अधिकारीहरूको अनुमान छ।

एलएसडीको प्रयोग हिपीहरूले सुरु गरेको र विश्वका अन्य ठाउँहरूमा जस्तै दक्षिण एशियामा पनि उनीहरूले नै फैलाएको बताइन्छ।

नियन्त्रणको चुनौती

तस्बिर स्रोत, RSS

लागुपदार्थ कारोबारमा संलग्नहरूले यसको ओसारपसार गर्न सजिलो मान्ने गरेको प्रहरीको भनाइ छ।

“किनभने यसको घोल बनाइन्छ र त्यो घोलमा कागज डुबाएर भिजिसकेपछि त्यसलाई सुकाइन्छ अनि त्यो कागज ओसारपसार गर्न सजिलो हुन्छ,” थपलिया भन्छन्।

सेवनकर्ताहरूले एलएसडीमा भिजाइएको कागजका टुक्राहरू जिब्रोमा चुसेर यसको नसा लिने गरेका छन्।

“यसको नयाँ गुण चाहिँ पेपरहरूमा हुँदो रहेछ हामीसँग (लागुऔषध पहिचान गर्ने) डिटेक्टर मशीन थियो, तर त्यसले पत्ता लगाउनै सकेन,” लागुऔषध नियन्त्रण ब्यूरो प्रमुख थपलियाले भने।

लागुपदार्थका रूपमा प्रयोग गरिने चरेस र हेरोइनजस्ता पदार्थ लेजर मशीनको सहायतामा प्रहरीहरूले झोलाबाहिरैबाट पहिचान गर्न सक्छ्न्।

तर शङ्कास्पद वस्तुमा एलएसडी भएको पत्ता लगाउन प्रयोगशालामै परीक्षण गर्नुपर्ने भएकाले यसको ओसारपसार पत्ता लगाउन सहज नभएको प्रहरी अधिकारीहरूको भनाइ छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।