छोरा जन्मिँदा हर्षबढाइँ गरिने कर्णालीमा छोरी जन्माउँदा किन विभेद?
तस्बिर स्रोत, BHAKTABAHADUR SHAHI
- Author, प्रकाश पन्त
- Role, बीबीसी न्यूज नेपाली, सूर्खेत
तीन वर्षअघि ठाटीकाँध गाउँपालिका दैलेखकी दुधा दमाईले तेह्रौँ सन्तानको रूपमा छोरा जन्माइन्।
दुधाले छोरा पाएको थाहा पाउने बित्तिकै स्वास्थ्य चौकीमै पुगेर गाउँलेहरूले बाजागाजा र फूलमालासहित धूमधामसँग घर भित्र्याए।
घरमा दुवोपाति लगाउनेको घुइँचो नै लाग्यो। भोजभतेर र नाचगान चल्यो। छोराको न्वारन र छैटी पनि गरियो।
लकडाउनको समयको बेवास्ता गर्दै छोरा जन्मेको थाहा पाउने बित्तिकै बाजागाजासहित गाउँलेहरू अस्पतालमै पुगेको दुधाका श्रीमान् आइतेले बताए।
उनले भने, "बाह्र छोरी जन्मिँदा न कोही बाजा र फूलमाला ल्याएर आए। न त भोजभतेर नै चल्यो। दुवोपाति लगाउन पनि कोही पनि आएनन्। घरमा पुरै सन्नाटा हुन्थ्यो।"
तस्बिर स्रोत, Bhakta Bahadur Shahi
छोरी धेरै भएको भनेर समाजले तिरस्कार गरेपछि छोरा जन्माउन आफू बाध्य भएको उनी बताउँछन्।
धेरै छोरी जन्मिँदै जाँदा सामाजिक अपहेलनापूर्ण व्यवहार खेपेका आइतेले छोरा जन्मिएपछि भने गाउँ समाजबाट त्यस्तो व्यवहार नदोहोरिएको महसुस गरेको बताएका छन्।
आइतेका १२ छोरीहरू जन्मिए पनि ८ जना मात्रै बाँचेका छन्।
उनीहरूमध्ये दुई जनाको विवाह भइसकेको छ भने ६ जना पढ्दैछन्।
दैलेखकै प्रज कठायतको पनि छोरा जन्मिएको थाहा पाएपछि आफन्त र गाउँलेहरूले बाजागाजा र फूलमालासहित आमा र बच्चालाई स्वागत गरेका थिए।
आइतेकोमा जस्तै घरमा नाचगान र भोजभतेर गरेर रमाइलो पनि गरियो।
तीन छोरीपछि छोरा जन्मिँदा हर्षबढाइँ गरेका उनी छोरा र छोरीबीच विभेदका कारण भन्दा पनि सामाजिक परम्पराका कारण त्यस्तो गरिएको ठान्छन्।
"छोरी हुँदा पनि खुसी नै थिएँ। समाजको चलन नमाने एक्लो परिने डर हुन्छ, त्यसैले भोजभतेर गर्न बाध्य भएँ," उनले भने।
"छोरीहरू पनि सन्तान नै भएकोले विभेद नगरी सबै छोरीहरूलाई राम्रोसँग पढाए लेखाएकै छु।"
प्रजका चार छोरी र दुई जना छोरा छन्।
छोरा जन्मिए हर्षबढाइँ गर्ने र छोरी जन्मिँदा वास्ता नगर्ने चलन दैलेखमा मात्र होइन कर्णालीका कालिकोट, जुम्ला, जाजरकोट, सुर्खेत, सल्यान, मुगुलगायत जिल्लामा छ।
छोरा जन्मिँदा आफन्त बोलाएर दान दक्षिणा दिने, गाउँलेलाई भोज खुवाउने र नाचगानसहित रमाइलो गर्ने गरिन्छ।
सुरुमै छोरा जन्मिँदा होस् वा छोरीपछि छोरा जन्मिँदा खुसीयाली मनाउने चलन अनिवार्यजस्तै गरिन्छ।
छोराछोरीबीच विभेदको गहिरो खाडल
छोरा जन्मिँदा चाडपर्व आएजस्तो गर्ने गाउँलेहरू पनि छोरी जन्मिँदा कसैका घरमा जाँदैनन्। गाउँ नै सुनसान हुन्छ।
काजकिरीया गर्ने, बुढेसकालमा हेरचाह गर्ने, अंश खाने र वंश धान्ने छोराले र छोरी अर्काका घरमा जाने जात भन्ने बुझाइले गर्दा कर्णालीमा छोरा र छोरीबीच विभेदको गहिरो खाडल अझै कायमै छ।
छोरा मोहकै कारण जन्मिँदै छोरीहरूमाथि विभेद हुने गरेका कैयौँ घटना देख्न पाइन्छ।
त्यसैले कतिपय छोरीहरू पढ्ने लेख्ने अवसर र पहुँचबाट वञ्चित हुन पुगेका पाइन्छन्।
तस्बिर स्रोत, BHAKTABAHADUR SHAHI
छोरा जन्माउनु रहर कि बाध्यता
छोरा मोहकै कारण कतिपय आमाहरूले अकालमै ज्यान गुमाउने गरेका विवरण आउने गरेका छन्।
कतिपय अवस्थामा छोरा नजन्माएको भनेर आमाहरूमाथि विभिन्न किसिमका हिंसा भएको समेत सुनिने गरेको छ।
१०–१२ जनासम्म छोरी जन्माएका कतिपय आमाहरू समाजकै कारण धेरै सन्तान जन्माउन आफूहरू बाध्य भएको गुनासो गर्छन्।
११ जना छोरीपछि छोरा जन्माएकी जाजरकोटकी कोपिला पुन भन्छिन्, "छोरा नहुँदा समाजले गरेको व्यवहार सहन नसकेर जन्माउन बाध्य भएँ।"
४२ वर्षको उमेरमा छोरालाई जन्म दिएकी उनी समाजको अपमान सहन नसकेर ज्यानै जोखिममा पारेर धेरै सन्तान जन्माउन बाध्य भएको बताउँछिन्।
दैलेखका पदम कठायत भन्छन्, "सामाजिक र पारिवारिक बाध्यताले गर्दा नै होला स्वयम् आमाहरू पनि छोरा जन्मिँदा जति खुसी देखिनछन् छोरी जन्मिँदा त्यति खुसी देखिँदैनन्।"
तस्बिर स्रोत, BHAKTABAHADUR SHAHI
सन्तानका रूपमा छोरीहरू मात्र भएका कर्णालीका कतिपय दम्पतीले आफूहरू छोरा नभएका कारण दुखी नभएको बताएका छन्।
गाउँ समाजले के भन्छ भन्नेतिर आफूहरू नलागेको र वृद्ध अवस्थामा छोराले दिने सहारा छोरीले पनि दिनेमा आफूहरू विश्वस्त रहेको उनीहरू बताउँछन्।
आठ छोरीकी आमा जाजरकोटकी तिलकुमारी रावल भन्छिन्, "मौका पाए भने छोरी पनि छोराभन्दा कम छैनन्।"
प्रोत्साहन कार्यक्रम
यस्तो विभेद अन्त्य गर्न भन्दै कर्णाली प्रदेश सरकारले "बैङ्क खाता छोरीको सुरक्षा जीवन भरीको" कार्यक्रममार्फत् छोरी जन्मिएपछि २० वर्षकी हुने बेलासम्म महिनामा ५ सय रुपैयाँ खातामा जम्मा गरिरहेको छ।
यस्तै कर्णालीका कतिपय स्थानीय तहले पनि छोरीको सुरक्षाको लागि मासिक बचत कार्यक्रम, छोरी जन्माउने आमाबुवालाई सम्मान, २० वर्षपछि विवाह गर्ने छोरीहरूलाई नगदसहित सम्मान गर्ने कार्यक्रम पनि ल्याएका छन्।
छोराप्रतिको मोहबाट समाज माथि नउठेसम्म छोराछोरी र महिला पुरुषबीचको विभेदको खाडल कहिल्यै नपुरिने अधिवक्ता गीता कोइराला बताउँछिन्।
"छोरी जन्माएका आमाबुवालाई हौसला दिनुपर्छ र छोरीको शिक्षाको जिम्मा सरकारले लिने गर्नुपर्छ," उनी भन्छिन्।
"छोरी जन्माउँदा गर्व गर्ने खालका कार्यक्रमहरू ल्याए मात्र यस्तो खालको कुसंस्कार अन्त्य गर्न सकिन्छ।"
यस्तो संस्कार अन्त्य गर्न सरकारी र गैरसरकारी क्षेत्रबाट पनि विशेष कदम चाल्नु पर्ने आवश्यकता बारम्बार औँल्याउने गरिन्छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन