एलेक्स रत्नसोथी: नेपालमा २० वर्षदेखि बेपत्ता भाइ खोज्न एक दिदीले गरेको सङ्घर्ष
तस्बिर स्रोत, ANNA CROZIER
- Author, रेचल मक्मेनमी
- Role, बीबीसी न्यूज, इस्ट
बीस वर्ष पहिले एलेक्स रत्नसोथीले आफ्नो परिवारसमक्ष आफू "अहिलेसम्मको सबैभन्दा साहसिक यात्रा"मा जान लागेको बताएका थिए। उनी यात्रामा निस्केपछि उनको परिवारले कहिल्यै उनको खबर पाएनन्।
एसेक्सको ग्रेज सहरका २३ वर्षीय उनी सन् २००३ मा नै घर फर्कने ठानिएको थियो।
सन् २००३ को फेब्रुअरीमा उनले एक महिना लामो सगरमाथा आधार शिविरतर्फको पदयात्रामा रहँदा आफू केही दिन सम्पर्कमा नहुने कुरा इमेलमार्फत् बताए।
आफ्नो परिवारका लागि उनले अन्तिम सन्देशमा लेखेका थिए: "तपाईँहरूले सोचेभन्दा छिट्टै फर्कनेछु।"
तर उनी कहिल्यै फर्किएनन्।
सन् २००३ को जुलाई, एलेक्सको २४ औँ जन्म महिनामा उनकी दिदी डा. अन्ना क्रोजियर र उनका जेठा दाजु डा. जोएल रत्नासोथी बिदा मिलाएर नेपाल आए। त्यति बेला उनीहरूले आफ्नो भाइको जुत्तासहित सबै कुरा लुटिएको थाहा पाए। त्यसपछि उनी हराएको देखिन्छ।
दुई दशकपछि, उनीहरूका बुबाको स्वास्थ्य बिग्रँदै गएको छ। र, अचानक आफ्नो भाइबारे जानकारी पाउन "आवश्यक महसुस भएको" डा. क्रोजियर बताउँछिन्।
'उसले हामीलाई सम्पर्क गर्थ्यो होला'
तस्बिर स्रोत, ANNA CROZIER
एक साता अघिसम्म क्रोजियरले आफ्नो बेपत्ता भाइको मृत्यु भएको अनुमान गरेकी थिइन्।
तर, उनी बेपत्ता भएको २० औँ वर्ष पुग्न लाग्दा क्रोजियरले भाइलाई खोज्न १० महिना नेपालमा बिताएकी थिइन्। उनले त्यति बेला आफूले गरेका टिपोटहरू हेरिन्।
अहिले उनले आफ्नो भाइले नभेटिन चाहेको अनुमान गरेकी छिन्।
"मैले उसको निधन भयो होला भन्ने ठानेको थिएँ वा उसले हामीलाई सम्पर्क गर्थ्यो- तर अहिले मलाई लाग्छ ऊ लुटिएपछि निकै डरायो होला," चेल्म्सफोर्डमा रहेकी उनले भनिन्।
एक व्यक्तिले उनीहरूलाई एलेक्सले स्वयंलाई एक होस्टलको कोठामा थुनेको देखेको बताएका थिए। ती व्यक्तिलाई विश्वास गर्दा एलेक्स "स्पष्ट रूपमा निकै तनावमा रहेको" हुनसक्ने उनले बताइन्।
एलेक्स अहिले उमेरले ४४ वर्षको हुने थिए। यी तमाम वर्षहरूमा कुनै पनि वार्षिकोत्सव, जन्मदिन र अन्य पारिवारिक अवसरहरूमा उनलाई सधैँ परिवार र साथीभाइहरूले सम्झिरहे।
"हामीलाई हाम्रो रूखको एउटा हाँगा भाँचिएजस्तो लाग्छ," डा क्रोजियर भन्छिन्।
"उसको ४० औँ जन्मदिनमा हामी सबैले एक अर्कालाई भेट्यौँ, त्यो क्षण निकै पीडादायी थियो। परिस्थिति दुःखद थियो किनकि त्यहाँ ऊ थिएन।
'ऊ निकै कमजोर थियो’
तस्बिर स्रोत, ANNA CROZIER
सामाजिक सञ्जालमा अपिल गरिने समय अगावै, सन् २००३ मा अहिले ४७ वर्ष पुगेकी डा. क्रोजियर र उनका ४६ वर्षीय भाइ डा. जोएल रत्नासोथीले स्थानीय पद प्रदर्शकको सहयोगमा आफ्नो भाइका पाइलाहरू पच्छ्याएका थिए।
केही साताको खोजीपछि उनीहरूले आफ्नो भाइसँग भएको पैसा र अन्य सम्पत्ति लुटिएको थाहा पाए। तर राहदानी भने दुबईका लागि हवाई यात्राको व्यवस्थापन गर्न खोज्दा एक ट्राभल एजेन्सीमा छोडेका थिए।
“एक सातादेखि म हरेक दिन उसको बारेमा सोचिरहेकी छु...मलाई ऊ काठमाण्डू फर्किएर दुबई जाने तयारी गरेको याद आयो। ऊ त्यो डकैतीबाट बचेको थियो भने अहिले के गर्दै होला? कहाँ छ होला?"
उनको भाइलाई लुटेराहरूले निशाना बनाएको हुनसक्ने डा. क्रोजियरको ठम्याइ छ। किनकि उनी यात्रामा "एक्लो रहेकाले” “कमजोर भएको” उनको विश्वास छ। जसका कारण "ऊ मानसिक रूपमा खलबलिएको” हुनसक्ने उनले ठानेकी छन्।
उनको नेपाल भ्रमण कम्प्युटर विज्ञानमा स्नातक गर्दै गर्दाको एक वर्ष लामो यात्राको एक अंश थियो।
क्रोजियरले आफ्नो भाइको बारेमा जानकारी खोज्न १० महिना नेपालमा बिताइन्। उनले स्थानीयवासीहरू सँग कुरा गरिन्, आफ्नो भाइ नेपालको अरुण उपत्यका पुगेको निश्चित भयो र सन् २००३ को अप्रिल महिनाको सुरुवातमा काठमाण्डू फर्किइन्।
उनले दुबईका लागि हवाई यात्राको टिकट बुक गर्न खोजेका थिए तर त्यसपछि उनी बेपत्ता भए।
उनी भन्छिन्, "हामीले उसलाई भेटेनौँ" भन्ने सत्य स्विकारेर घर फर्कनु परेको क्षण "वास्तवमै भयावह" थियो।
'पीडादायी र हृदय विदारक'
तस्बिर स्रोत, ANNA CROZIER
उनीहरूका बुबा एन्थोनीको स्वास्थ्य बिग्रँदै जाँदा, उनीहरूसँग अन्तिम सम्पर्क भएको २० वर्ष पछि उनको भाइबारे अनुत्तरित प्रश्नहरूको जबाफ खोज्न "अचानक जरुरी" लागेको डा. क्रोजियर बताउँछिन्।
"भाइको अवस्थाबारे थाहा नपाई बुबा बित्नु भयो भने त्यो निकै पीडादायी र हृदय विदारक हुनेछ।"
"मलाई आशा छ ऊ जीवित छ। बरु हामीलाई सीधै सम्पर्क गर्नु पर्दैन। तर, आफू जीवित रहेको जानकारी देओस्। विशेष गरी बुबाको लागि।"
आमासमेत हुनुले डा. क्रोजियरलाई भाइ हराउनुबारे फरक दृष्टिकोण दिएको छ।
"यो सबैले यथार्थमा तपाईँका लागि जीवनमा के महत्त्वपूर्ण छ भनेर महसुस गराउँछ र कदर गर्न सिकाउँछ। सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्ना सन्तान सुरक्षित हुनु हो। अरू सबै कुरा गौण हुन्।“
"ऊ हराउनुले परिवारमा सबैलाई गाह्रो बनाएको छ।“
डा. क्रोजियर आफ्नो भाइलाई देखेका वा उनी हराउनुबारे जानकारी हुन सक्ने जो कोहीसँग कुरा गर्न चाहन्छिन्।
मानिसहरूले उनको शरीरको पछिल्लो भागमा रहेको ठूलो चिनियाँ ड्र्यागन ट्याटुजस्ता विवरणबाट पहिचान गर्नसक्ने उनी बताउँछिन्।
"मेरा केही आशा जीवित छ," उनी भन्छिन्। "तपाईँहरूले पनि कहिलेकाहीँ हराएको मान्छे वर्षौँपछि भेटिएको कथा सुन्नुहन्छ नि।"
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन