बिपरजोय समुद्री आँधीका कारण भारतमा कम्तीमा दुई जनाको मृत्यु, दर्जनौँ घाइते

तस्बिर स्रोत, EPA

पश्चिम भारत र पाकिस्तानसँग सीमानजिकै आएको बिपरजोय समुद्री आँधीमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

बिहीवार साँझ भारतको गुजरात राज्यको तटमा बज्रिएपछि उक्त आँधी कमजोर भएको थियो। तर त्यहाँ तीव्र गतिमा हावाहुरी चलिरहेको र पानी परिरहेको छ।

आँधीका कारण केही जिल्लामा रूख र बिजुलीको पोल ढलेका छन् भने भने कतिपय ठाउँका सडकमा क्षति पुगेको छ।

यद्यपि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार भावनगर सहरमा आफ्ना बाख्राहरू जोगाउन पानीमा पसेका किसान र उनका छोरालाई बाढीले बगाएको हो।

भारतीय अधिकारीहरूले समुद्री आँधीसँग सम्बन्धित अन्य कुनै पनि मृत्युको विवरण नपाएको बताएका छन्।

पाकिस्तानमा कोही हताहत भए नभएको विवरण आएको छैन। यद्यपि सिन्ध प्रान्तको तटीय क्षेत्रका ८०,००० भन्दा बढी मानिस विस्थापित भएका छन्।

आँधी आउनुअघि नै भारत र पाकिस्तानका एक लाख ७० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।

दुवै देशका विद्यालय, सभागृह र अन्य सरकारी भवनहरूमा अस्थायी आश्रय स्थलहरू स्थापना गरिएको थियो।

तस्बिर स्रोत, Reuters

मौसम पूर्वानुमानकर्ताहरूले यो यस क्षेत्रको २५ वर्षयताकै सर्वाधिक शक्तिशाली आँधी हुनसक्ने बताएका छन्। त्यस्तै त्यस आँधीको मार्गमा पर्ने घर तथा खेतीबालीहरू खतरामा पार्ने चेतावनी दिएका थिए।

पाकिस्तानको सिन्ध प्रान्तस्थित केटी बन्धरमा हावाको गति १०० देखि १२० किलोमिटर प्रतिघण्टा मापन गरिएको मौसमविद्हरूले बताएका छन्। त्यहाँ पुगेपछि आँधीको गति कम भएको त्यहाँको मौसम विभागले जनाएको छ।

पाकिस्तानको विपद् व्यवस्थापन निकायले आँधीका कारण कराचीदेखि भारतको गुजरातसम्मको समुद्रमा निकै अग्ला छाल आउन सक्ने सक्ने चेतावनी दिएको छ।

भारतको मौसम कार्यालयले गुजरातमा समुद्री आँधीका कारण सडक र कच्ची घर भत्किन तथा रूख र बिजुलीका खम्बा ढल्न सक्ने बताएको थियो। अग्ला छालहरूका कारण तटीय क्षेत्रमा अवस्थित होचा ठाउँहरू जलमग्न हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

तस्बिरको क्याप्शन, स्थानीय विद्यालयहरूमा मानिसहरूले आश्रय लिएका छन्

बाङ्ग्ला भाषामा बिपरजोयको अर्थ "प्रकोप" भन्ने हुन्छ।

अरब सागर पार गर्दै आएको उक्त आँधीले गुजरातको तटीय क्षेत्रमा प्रहार गर्नुअघि बिहीवार ठूलो पानी परेको, निकै ठूला छाल आएको र समुद्र अशान्त भएको त्यहाँबाट प्राप्त भिडिओमा देखिएको थियो।

गुजरातका राहत आयुक्त आलोक पाण्डेले समुद्री आँधीको गति केही घटेको बताएका थिए।

यद्यपि आँधी बज्रिने समयमा हावाको गति ११०-१२५ किमी प्रतिघण्टासहित “निकै खतरनाक” स्तरमा हुनसक्ने आकलन गरिएको थियो।

तस्बिर स्रोत, Reuters

भारतको मौसम कार्यालयले गुजरातमा समुद्री आँधीका कारण सडक र कच्ची घर भत्किन तथा रूख र बिजुलीका खम्बा ढल्न सक्ने बताएको छ।

राज्यका स्वास्थ्यमन्त्री हृषीकेश पटेलले मानिसहरूलाई यात्रा नगर्न तथा उनीहरू जहाँ छन् त्यहीँ बस्न आग्रह गरेका छन्।

"कोही हताहत नहोऊन् भन्ने हाम्रो उदेश्य हो," उनले भने।

पाकिस्तानका दर्जनौँ विद्यालय राहत शिविर बनाइएको छ।

तस्बिर स्रोत, Reuters

पाकिस्तानका जलवायु परिवर्तन मामिला हेर्ने मन्त्री शेरी रहमानले बिहीवार दुई करोडभन्दा बढी जनसङ्ख्या भएको प्रान्तको सबैभन्दा ठूलो सहर कराची तत्काल खतरा नभएको बताएकी थिइन्। तर त्यहाँ आपत्कालीन उपायहरू अवलम्बन गरिएको छ।

अग्ला छालहरूका कारण तटीय क्षेत्रमा अवस्थित होचा ठाउँहरू जलमग्न हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

तटीय गुजरातका धेरै भागहरूमा बुधवारदेखि ठूलो वर्षा भइरहेको छ र तीव्र गतिमा हावाहुरी चलेको छ।

भारतमा ठूलो वर्षाका कारण यसअघि सात जनाको मृत्यु भइसकेको थियो।

एएफपी समाचारसंस्थाका अनुसार मृत्यु हुनेमा पर्खाल भत्किएर थिचिएका दुई बालबालिका र रूख ढलेर लागेको मोटरसाइकलमा सवार एक महिला पनि छन्।

तस्बिरको क्याप्शन, हजारौँ मानिसहरूलाई आँधीको जोखिमबाट जोगाउन सुरक्षित स्थानमा सारिएको छ

गुजरात क्षेत्रमा रेलसेवा बन्द भएको छ भने भारतका ठूला बन्दरगाहमध्ये दुई कान्डला र मुन्द्रा सञ्चालनमा रोक लगाइएको अधिकारीहरूले जानकारी दिएका छन्।

गुजरातको तटमा माछा मार्न पनि रोक लगाइको छ। पाकिस्तानको तटीय क्षेत्रका माझीहरूलाई पनि समुद्रबाट टाढा रहने चेतावनी दिइएको छ।

गुजरातका केही मुख्य क्षेत्रहरूमा १८ वटा सङ्घीय सरकारका र १२ वटा राज्य सरकारका राहत टोलीहरू परिचालित छन्। तिनले अत्यावश्यक सेवा अवरुद्ध हुन नदिन र आँधी आएपछि यथाशीघ्र तिनलाई पूर्ववत् अवस्थामा फर्काउन काम गर्ने छन्।

तस्बिरको क्याप्शन, तीन दिनकी सुत्केरी शहनाज एउटा विद्यालयमा बनाइएको शिविरमा बसेकी छन्

भारतको मौसम विज्ञान विभागले बिपरजोय बिस्तारै कमजोर हुँदै जाने जनाएको छ।

उत्तरी आन्ध्र महासागर उत्पन्न हुने समुद्री आँधीलाई 'हरिकेन' र पश्चिमोत्तर प्रशान्त महासागरमा उत्पन्न हुने समुद्री आँधीलाई 'टाइफून' भनिन्छ। त्यहाँ र हिन्द महासागरमा नियमित रूपमा उत्पन्न हुने समुद्री आँधी 'साइक्लोन' घातक हुन्छन्।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

२५ वर्षअघि वियोग सम्झाउने प्रकोप

जलवायु परिवर्तनका कारण हालैका वर्षहरूमा अरब सागरको सतहको तापक्रम बढ्दै गएपछि वरपरका क्षेत्रहरू विनाशकारी आँधीको मारमा परेका छन्।

सन् २०२१ को मेमा आएको 'टौक्ताय' समुद्री आँधीमा परेर १७४ जनाको मृत्यु भयो।

अहिले गरिएको स्थानान्तरणले २५ वर्षअघि गुजरातमा समुद्री आँधी आउँदा भएको क्षति सम्झाएको छ।

त्यतिबेला झन्डै ४,००० जनाको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ। तर अनौपचारिक रूपमा स्थानीयवासीले मृत्यु हुनेको सङ्ख्या त्योभन्दा धेरै रहेको बताएका छन्।

तस्बिर स्रोत, Reuters

"हामीले विगतमा समुद्री आँधीहरू देखेका छौँ तर यस पटक अवस्था झनै खराब देखिन्छ," माण्डवीस्थित एक प्राथमिक विद्यालयमा आश्रित ४० वर्षीय माझी अब्बास याकुब भन्छन्।

उक्त आश्रयस्थलमा उनीसहित १५० जना छन्।

"हाम्रो घर ठ्याक्कै तटमा छ। छालले हिजो बिहान नै हाम्रो घरलाई छोइसक्यो। हामी केका लागि त्यहाँ फर्किन्छौँ भन्ने थाहा छैन," उनले भने।