चीनले अफ्रिकामा कति व्यापार गर्छ, यसबाट कसलाई कति फाइदा

तस्बिर स्रोत, EPA

    • Author, जेरेमी होवेल
    • Role, बीबीसी विश्वसेवा
  • पढ्ने समय: ५ मिनेट

पछिल्ला दुई दशकमा चीनले अफ्रिकासँगको व्यापारमा व्यापक रूपमा वृद्धि गरेको छ भने उक्त महादेशभरि सडक, रेल्वे तथा बन्दरगाह निर्माणमा अर्बौँ रकम खन्याइरहेको छ।

यो काम चीन-अफ्रिका सहकार्य मञ्च अर्थात्‌ 'फोकाक'मार्फत् गरिँदै आएको छ।

प्रत्येक तीन वर्षमा हुने यसको सम्मेलनले अफिक्री मुलुकहरू र चीनले कसरी राम्रो ढङ्गले सहकार्य गर्न सक्छन् भन्ने निर्णय गर्ने गर्छ।

यो वर्षको सम्मेलन बेइजिङ्गमा गत बुधवार सुरु भएर शुक्रवार सकिएको छ। बिहीवार चिनियाँ राष्ट्रपति सी जिन्पिङले त्यसलाई सम्बोधन गरे।

सो क्रममा सीले अफ्रिकामा चीनको संलग्नतालाई अझै गहिरो बनाउने बताउँदै अफ्रिकामा सैन्य अनुदानसहित ५० अर्ब डलर बराबरको रकम प्रवाह गर्ने प्रतिबद्धता जनाए।

व्यापार, उद्योग र कृषिको प्रवर्द्धनका निम्ति उपलब्ध गराइने रकममध्ये धेरैजसो ऋणका रूपमा दिइने उनले उल्लेख गरे।

हालै चीनले आफ्नो रणनीतिमा परिवर्तन ल्याएको छ र आफ्ना उच्च प्रविधि एवं “हरित अर्थतन्त्र” का उत्पादनहरू अफ्रिकालाई अझ बढी उपलब्ध गराइरहेको छ।

चीनले अफ्रिकासँग कति व्यापार गर्छ?

मोबाइलपेजमा सामग्रीको यो भाग देखाउन हामी असमर्थ छौँ।

विगत २० वर्षमा चीन अफ्रिकाको सबैभन्दा ठूलो व्यापार साझेदार, लगानीकर्ता र ऋणदाता बनेको छ।

सन् २०२२ मा चीनले अफ्रिकी देशहरूसँग २२० अर्ब डलर बराबरको व्यापार गरेको बताइएको छ।

उसले तेल र खनिजजस्ता मूलतः कच्चा पदार्थहरू आयात गरेको छ भने मुख्य गरी उत्पादित वस्तुहरू निर्यात गरेको छ।

सन् २०२२ मा उसले अफ्रिकी अर्थतन्त्रमा ५ अर्ब डलर लगानी गरेको छ।

त्यो लगानी मूलतः नयाँ यातायात सञ्जाल, ऊर्जा केन्द्र निर्माण र खानीहरूको विकासमा गरिएको छ।

चिनियाँ कम्पनीहरूले ती आयोजनाहरूबाट सन् २०२२ मा करिब ४० अर्ब डलर कमाए।

वर्ल्ड ईकनोमिक फोरमका अनुसार अफ्रिकामा अहिले चीनका ३,००० वटा व्यापारव्यवसाय रहेका छन्।

अफिक्री देशहरूलाई विकासका लागि उपलब्ध गराएकामध्ये तिनीहरूले तिर्नुपर्ने ऋण अझै १३४ अर्ब डलर रहेको छ।

अफ्रिकी देशहरूले विश्वलाई तिर्नुपर्ने ऋणमध्ये चीनकै हिस्सा करिब २० प्रतिशत रहेको छ।

मोबाइलपेजमा सामग्रीको यो भाग देखाउन हामी असमर्थ छौँ।

यद्यपि हालै चीनले अफ्रिकी देशहरूलाई दिने गरेको ऋण र त्यहाँ गर्ने लगानीमा कमी आएको छ।

चीनले बनाइदिएका पूर्वाधारहरूको ऋण तिर्न अफ्रिकी देशहरूलाई समस्या रहेकाले यसो भएको यूनिभर्सिटी अफ लन्डनस्थित प्राध्यापक स्टिभ सङ बताउँछन्।

“व्यापारिक हिसाबले अर्थपूर्ण नदेखेर पश्चिमा देश र विश्व ब्याङ्कले लगानी नगर्ने रेल्वेलगायतका परियोजनाका लागि चीनले खुसीसाथ रकम उपलब्ध गराउँछ,” उनी भन्छन्।

“तर ती परियोजनाहरूबाट मुनाफा नआएपछि ऋण तिर्न अफ्रिकी देशहरूलाई अहिले गाह्रो भइरहेको छ।”

“अफ्रिकी मुलुकलाई ऋण उपलब्ध गराउने चिनियाँ ऋणदाताहरू हिजोआज निकै सजग देखिन्छन्। उनीहरूले मुनाफा आउने परियोजना हेर्न थालेका छन्,” लन्डनमा अवस्थित थिङ्कट्याङ्क 'च्याटम हाउस' डा. एलेक्स भाइन्स भन्छन्।

चीनले अफ्रिकी मुलुकहरूमा सडक, रेल्वे र बन्दगाहजस्ता ठूला परियोजनामा भन्दा अब फोरजी र फाइभजी टेलिकम नेटवर्क, भूउपग्रह, सौर्य प्यानल र विद्युतीय गाडीलगायतमा ध्यान केन्द्रित गर्न थालेको छ।

चिनियाँ व्यापारले अफ्रिकालाई फाइदा वा घाटा पुर्‍याएको छ?

चिनियाँ कम्यनिस्ट पार्टीले “बाहिर जाने” नीति लिएपश्चात्‌ चीनले सन् १९९९ देखि अफ्रिकासँग ठूला लगानी सम्बन्ध सुरु गरेको हो।

चिनियाँ अफ्रिकी सहकार्य मञ्च (फोकाक) को पहिलो बैठक सन् २००३ मा भएको थियो। अहिले त्यो चीन र ५३ वटा अफ्रिकी देशबीचको सहकार्यको मञ्च बनेको छ।

डा. भाइन्सका अनुसार सुरुमा त्यसको उद्देश्य अफ्रिकाबाट कच्चा पदार्थहरू आयात गरी सामानहरू उत्पादन गरेर विश्वभरि पुर्‍याउनु रहेको थियो।

“चीनले अङ्गोलामा पूर्वाधार निर्माणका लागि ठूलो रकम खन्यायो, जसको बदलामा उसले तेल लियो,” उनले भने।

“ती आयोजनाले चिनियाँहरूलाई जागिर पनि दिए। एउटा बिन्दुमा अङ्गोलामा १७०,००० चिनियाँ कामदार थिए।”

मोबाइलपेजमा सामग्रीको यो भाग देखाउन हामी असमर्थ छौँ।

चीनले अफ्रिकामा गर्ने गरेको लगानीलाई “दुवै पक्षको जित”को रूपमा अर्थ्याउँछ।

तर प्राध्यापक सङका अनुसार चीनले अफ्रिकामा पूरा गरेका परियोजनाहरूले स्थानीय मानिसलाई निकै कम फाइदा पुर्‍याएका छन्। बरु तिनले मानिसहरूमा आक्रोश निम्त्याएको छ।

“चिनियाँ कम्पनीहरू मूलतः आफ्नै देशबाट कामदार लिएर आउँछन् र स्थानीय बासिन्दालाई जागिर दिँदैनन्। स्थानीय बासिन्दालाई काम दिए पनि कठिन परिश्रम गराउने गरिएको गुनासो सुनिन्छ,” उनले भने।

अफ्रिका र एशियामा व्यापारका लागि सञ्जाल बढाउने उद्देश्यले सुरु गरिएको बीआरआई परियोजनासँगै सन् २०१३ पछि अफ्रिकी देशहरूमा चिनियाँ ऋण बढेको हो। सन् २०१६ मा चिनियाँ ऋण बढेर २८ अर्ब डलर पुग्यो।

ठूलो मात्रामा ऋण लिन अफ्रिकामा सरकारहरूलाई मनाउने र तिर्न समस्या भएपछि क्षतिपूर्ति माग्ने गरी फसाउने हिसाबले काम गर्ने गरेको चीनमाथि आरोप छ।

च्याटम हाउसका अनुसार अङ्गोलाले चीनबाट १८ अर्ब डलर, जाम्बिआले १० अर्ब र केन्याले ६ अर्ब डलर ऋण लिएको तथ्याङ्क छ। ती सबै देशलाई ऋण तिर्न गाह्रो भएको बताइन्छ।

अफ्रिकी विकास ब्याङ्कका प्रमुख अकिन्वुमी अडेसिनाले सरकारहरूले त्यस्ता ऋण नलिन नहुने एपी समाचारसंस्थासँग बताएका छन्।

“त्यो एकदमै खराब हो किनकि तपाईँ सम्पत्तिहरूको उचित मूल्य लगाउन सक्नुहुन्न,” उनले भने।

“यदि तपाईँसँग जमिनमुनि खनिज अथवा तेल छ भने दीर्घकालीन सम्झौतामा कसरी मूल्य तोक्नुहुन्छ? त्यो एउटा चुनौती हो।”

यद्यपि चीनको कूटनीति “ऋणको पासोमा पार्ने” खालको रहेको कुरा डा. भाइन्स अस्वीकार गर्छन्।

भविष्यमा अफ्रिकाका लागि चीनका योजना के छन्?

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चीनका राष्ट्रपति सी जिन्पिङ सन् २०१३ पछि पाँच पटक अफ्रिकी महादेश गइसकेका छन्

लन्डन स्कूल अफ ईकनोमिक्सकी डा. शिर्ली जे यूका अनुसार बेइजिङ्गमा बुधवारबाट शुक्रवारसम्म चलेको 'फोफाक' सम्मेलन अफ्रिकी देशहरू र अरू कुनै शक्ति राष्ट्रबीचको सबैभन्दा बृहत् र सुस्थापित साझेदारी मञ्च हो।

प्रत्येक तीन वर्षमा त्यसले नयाँ उद्देश्य तथा प्राथमिकताहरू तय गर्छ।

उनका अनुसार चीनलाई अफ्रिकाको बाहिरी साझेदारका रूपमा राम्ररी जोड्ने यो एउटा रणनीति हो।

“यो शताब्दीको अन्त्यसम्ममा विश्वको ४० प्रतिशत जनसङ्ख्या अफ्रिकामा बस्ने छ। विश्व अर्थतन्त्रको भविष्य अफ्रिकासँग जोडिने दुईमत छैन,” उनी भन्छिन्।

यद्यपि अफ्रिकामा चिनियाँ चासो आर्थिक मात्र नभई राजनीतिक पनि भएको डा. भाइन्स बताउँछन्।

“संयुक्त राष्ट्रसङ्घमा ५० जति अफ्रिकी देश छन्। ताइवानलाई स्वतन्त्र राज्यको रूपमा नमान्न उसले लगभग ती सबै देशलाई मनाइसकेको छ,” उनले भने।

उनका अनुसार फोकाक बराबर हैसियत भएका देशहरूको बैठक होइन।

“शक्तिबीचको त्यहाँ ठूलो असमानता छ। यदि तपाईँ चीनसँग सहमत हुनुहुन्छ भने तपाईँलाई स्वागत छ। चीनको योजनासँग विमति राख्ने त्यहाँ कोही हुँदैन।”

चिनियाँ राष्ट्रपति सी जिन्पिङले अफ्रिकामा चीनको संलग्नतालाई अझै गहिरो बनाउने बताउँदै अफ्रिकामा सैन्य अनुदानसहित ५० अर्ब डलर बराबरको रकम प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन्।

व्यापार, उद्योग र कृषिको प्रवर्द्धनका निम्ति उपलब्ध गराइने रकममध्ये धेरैजसो ऋणका रूपमा दिइने उनले उल्लेख गरे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।