नेपालमा व्यापार घाटाबीच निर्यातमा वृद्धि, निरन्तरतामाथि आशङ्काका कारण यी हुन्
तस्बिर स्रोत, Getty Images
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ५ मिनेट
चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालबाट हुने सेवा तथा वस्तु निर्यातमा 'उल्लेख्य' वृद्धि भएको भन्सार विभागको पछिल्लो तथ्याङ्कले देखाएको छ।
विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालको निर्यातको परिमाण आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि चैत महिनासम्म ६५.१६ प्रतिशतले बढेर एक खर्ब ८८ अर्ब साढे १९ करोड रुपैयाँ बराबर पुगेको छ।
आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिमा एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको विभागले उल्लेख गरेको छ।
तर स्वयं विभागका कर्मचारी र एक अर्थविद्ले निर्यातमा पछिल्लो समय देखिएको वृद्धि दिगो हुनेमा बीबीसीसँग आशङ्का व्यक्त गरेका छन्।
तेलमा उच्च वृद्धि
तस्बिर स्रोत, DOC/Nepal
गत आर्थिक वर्षको नौ महिनाको अवधिमा १० अर्ब ८२ करोड रुपैयाँ बराबरको कच्चा तेल आयात भएको विभागले जनाएको छ।
चालु आर्थिक वर्षको सोही अवधिमा चाहिँ ६६ अर्ब ५ करोड रुपैयाँ बराबरको निर्यात पुगेको तथ्याङ्क छ, जुन अघिल्लो वर्षको तुलनामा करिब छ गुणाले बढी हो।
यो नौ महिनाको अवधिमा भटमासको प्रशोधित तेल निर्यात ७५ गुणाले बढेर ६२ अर्ब ६८ करोड रुपैयाँ बराबरको निकासी भएको छ।
त्यसै गरी सूर्यमुखी तेलको निर्यात चाहिँ ५९ गुणाले बढेर नौ अर्ब २३ करोड पुगेको छ।
भन्सार विभागका सूचना अधिकारी समेत रहेका निर्देशक नारायणप्रसाद रेग्मीका अनुसार पछिल्लो समय मूलतः भारतमा माग बढेर भटमासको प्रशोधित तेल धेरै मात्रामा निर्यात भएको देखिन्छ।
"पहिला पाम आयलको हिस्सा उच्च रहेकोमा अहिले भटमासको तेल निर्यातमा वृद्धि भएर त्यसको योगदान बढी भएको हो," बीबीसी न्यूज नेपालीसँग उनले भने।
अधिकारीहरूका अनुसार खास गरी इन्डोनेशियालगायत तेस्रो मुलुकबाट नेपालले भटमासको कच्चा तेल आयात गरेको देखिन्छ भने धेरै निकासी भारतमा हुने गरेको छ।
"यो कत्तिको दिगो वा टिकाउ हुन्छ भन्ने कुरा आफैँमा सोचनीय छ। तर अहिले चाहिँ निर्यातमा वृद्धि भएकै हो," निर्देशक रेग्मीले अगाडि थपे।
उनका अनुसार फलामजन्य पदार्थको हकमा चाहिँ निर्यातभन्दा आयात बढेको देखिएको छ। तर यस्ता वस्तुहरू पनि एक तहको प्रशोधन भएर भारत निर्यात हुने गरेको देखिन्छ।
"अर्थतन्त्रमा सुधार भएर गतिविधि बढ्न थालेको हो कि भन्ने हाम्रो अनुमान छ," उनले भने।
व्यापार घाटामा वृद्धि
साउनदेखि चैत महिनासम्मको अवधिमा नेपालको व्यापार घाटा ९.४५ प्रतिशतले बढेको तथ्याङ्क छ।
विभागका अनुसार यो अवधिमा नेपालको कुल वैदेशिक व्यापारमध्ये निर्यातको हिस्सा १२.५७ प्रतिशत रहेकोमा आयातको चाहिँ ८७.४३ प्रतिशत रहेको छ।
आन्तरिक रूपमा उत्पादन भएर बढी मूल्य अभिवृद्धि हुने वस्तुहरूको निकासी गर्न सकिएमा व्यापार घाटा त्यहीअनुसार साँघुरिँदै जाने जानकारहरू बताउँछन्।
"हामीले कच्चा तेल विदेशबाट आयात गरेर सामान्य मूल्य थपेर निर्यात गर्दा सामान्य मार्जिन हुने भएकोले योगदानको आकार ठूलो भए पनि व्यापार घाटाको खाडल कम हुन नसकेको हो," निर्देशक रेग्मीले भने।
उता पेट्रोलियम पदार्थ आयात भएको मात्रा बढी भए पनि मूल्यमा भएको गिरावटका कारण राजस्वमा चाहिँ वृद्धि हुन सकेको छैन।
सुनको हकमा मात्रामा वृद्धि नभए पनि मूल्यको हिसाबले आयातमा बढी पैसा पर्न गएको हो।
रेग्मीका अनुसार निकासीमा वृद्धि हुनु सकारात्मक भए पनि आन्तरिक रूपमा नेपाली वस्तु तथा सेवाको सकेसम्म बढी मात्रामा निर्यात गर्न सकिएमा मात्र दीर्घकालीन रूपमा व्यापार घाटा घटाउनमा सघाउ पुग्छ।
"विगतमा पाम आयलको निर्यातमा वृद्धि देखिएको थियो भने अहिले भटमासको तेलमा देखिएको छ। भनेपछि यसमा दिगोपन देखिँदैन। यो अन्तर्राष्ट्रिय बजारका कारण भएको हुन सक्ला," उनले भने।
"तर जबसम्म हामीले आन्तरिक उत्पादनमा जोड दिएर बढी मूल्यका वस्तु तथा सेवा विदेशी बजारमा निकासी गर्दैनौँ, तबसम्म व्यापार घाटा कम हुँदैन।"
अर्थविद् के भन्छन्?
निर्यातको परिमाण देखेर खुसी हुनुभन्दा त्योसँगै बढेको आयातलाई बिर्सन नहुने अर्थ मामिलाका कतिपय जानकार बताउँछन्।
उदाहरणका लागि भटमासको प्रशोधित तेलको निर्यात बढ्दा कच्चा तेलको आयात पनि निकै वृद्धि भएको तथ्याङ्कले नै देखाउँछ।
"यो टिकाउ पनि होइन। भोलि भारतले केही महसुल बढाइदियो, कर बढाइदियो अनि गैरभन्सार अवरोध अर्थात् 'नन्ट्यारिफ ब्यारिअर' लगाइदियो भने गाह्रो हुन्छ," अर्थविद् केशव आचार्यले बीबीसी न्यूज नेपालीसँग भने।
"नेपालबाट ती वस्तुको आयात भारतमा धेरै भयो, रोक्नुपर्छ भनेर त्यहाँका व्यवसायीले सङ्घ सरकारसँग माग गरिरहेका विवरण आएका छन्। त्यसैले हाम्रो निर्यातको टिकाउपन अलि गडबड नै छ।"
तर केही अघि अवरोध भए पनि भारततर्फ पछिल्लो समय प्ल्याइवुड निर्यात थाल्नु खुसीको कुरा भएको उनको तर्क छ।
"त्यसमा हाम्रो मूल्य अभिवृद्धि निकै छ। फलामको भन्दा प्लाइवुड हाम्रै काठ हो। हामीले उत्पादन गरेर रोजगारी सिर्जना र आयआर्जनमा त्यसले राम्रै गर्छ। त्यसैले समग्रमा अलि सुधार भएकै हो," आचार्यले अगाडि थपे।
तस्बिर स्रोत, Nepal Wood International Expo
सुझाव के छन्
उनका अनुसार औद्योगिक कच्चापदार्थ, यन्त्रहरू, रसायन, निर्माण सामग्रीहरू र क्रेनजस्ता पुँजीगत वस्तुहरूको आयात बढ्यो भने तत्कालका लागि विदेशी मुद्राको सञ्चितिमा अप्ठ्यारो पारे पनि दीर्घकालमा मुलुकको पुँजी बढ्छ।
नेपालले गरिरहेको आयातले मूल्य अभिवृद्धि गर्यो कि गरेन भन्ने हेर्नुपर्ने अर्थविद् आचार्यको सुझाव छ।
"तर विगत आठदश वर्षको हाम्रो आयात हेर्दा खुसी हुनपर्ने कारण देखिँदैन। उपभोग्य वस्तु नै बढी आयात भइरहेको छ। त्यसैले म धेरै उत्साहित छैन," उनले भने।
"तर सबैभन्दा डरलाग्दो कुरा के छ भने राजस्व आउने भएपछि सरकारले जे पनि आयात गर्न दिने रहेछ। कुनै बेला प्रतिबन्ध लगाइएका सुपारी, केराउ अनि ल्वाङ्ग आयात हुन थालेको छ।"
सरकारले लिएको नीतिप्रति नै कअर्थविद् आचार्यको असन्तुष्टि छ। "सरकारलाई खाली राजस्व आउनुपर्यो, जहाँबाट आए पनि हुन्छ भन्ने छ। त्यही राजस्व हाम्रो आन्तरिक उत्पादन बढेर, अन्तशुल्क राजस्व बढेर, मूल्य अभिवृद्धि कर राजस्व बढेर भएको भए हुन्थ्यो।"
"सरकारले पुँजीगत खर्च मज्जाले गर्न सक्ने हो भने अनि पुल र सडक पूर्वाधारको निर्माण गर्न सक्ने हो र त्यसमा नेपालकै सिमेन्ट, डन्डी प्रयोग गर्ने एवं भारतका भन्दा प्रतिस्पर्धी भएर त्यहाँ पनि निर्यात गर्न सक्नेतर्फ निजी क्षेत्र र नेपाल सरकारले पनि सोच्नुपर्छ, कार्यक्रम बनाउनुपर्छ," आचार्यको सुझाव छ।
पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको आयात बढेको देखिन्छ। तर ती सवारीसाधनहरू आउनुभन्दा अगाडि भित्रिएका धेरैजसो गाडीहरू डीजल तथा पेट्रोलबाटै चलिरहेका छन्।
"पेट्रोल तथा डीजलको इन्जिनलाई विद्युतीय इन्जिनमा रूपान्तरणका लागि लाग्ने खर्चमा केही सहुलियत दिन सक्ने भए राम्रो हुन्थ्यो,"अर्थविद् आचार्य भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन