४७ वटा विषालु सर्प भएको ब्यागसहित मुम्बई विमानस्थलमा पक्राउ परे एक भारतीय
तस्बिर स्रोत, Mumbai Customs-III/X
- Author, शेरिलन मोलान
- Role, बीबीसी न्यूज, मुम्बई
- पढ्ने समय: २ मिनेट
भारतीय अधिकारीहरूले विषालु सर्पलगायत दर्जनौँ दुर्लभ सरिसृप देशभित्र तस्करी गरेर ल्याउन लागेको अभियोगमा एकजना पुरुषलाई पक्राउ गरेका छन्।
थाइल्यान्डबाट फर्कँदै गरेका ती भारतीय नागरिकलाई आईतवार मुम्बई सहरको विमानस्थलमा भन्सार अधिकृतहरूले समातेका थिए।
अधिकारीहरूका अनुसार ४७ विषालु सर्प सहितका ती जन्तु उक्त पुरुषको लगेजमा फेला परेको थियो।
भारतका वन्यजन्तु संरक्षणसम्बन्धी विभिन्न कानुन अन्तर्गत ती जीवलाई सरकारले नियन्त्रणमा लिएको छ।
ती यात्रुको पहिचान खुलाइएको छैन र उनलाई उनलाई हिरासतमा राखिएको छ। उनले पक्राउसम्बन्धी कुनै टिप्पणी गरेका छैनन्।
कस्ता जीवजन्तु थिए उनको साथ?
एउटा ठूलो प्लेटमा रङ्गीचङ्गी सर्पहरू घुमिरहेको फोटोलाई भन्सार अधिकारीहरूले सामाजिक सञ्जाल एक्समा राखिदिएका छन्।
उनीहरूले गरेको पोस्टमा तीनवटा स्पाइडर-टेल्ड हर्न्ड भाइपर, पाँचवटा एसियन लीफ टर्टल तथा ४४ इन्डोनेसियन पिट भाइपर सर्प ती यात्रुको साथबाट कब्जा गरिएको उल्लेख छ।
ती जन्तु कहाँबाट ल्याइएका हुन् भन्ने प्रस्ट छैन।
वन्यजन्तु भित्र्याइनु सोझै अपराध नमानिए पनि भारतको वन्यजन्तु संरक्षण कानुनले निश्चित प्रजातिका जन्तु भित्र्याउने कार्यलाई भने अवैध मान्छ। सङ्कटापन्न वा संरक्षित जीव त्यसमा पर्छन्।
साथै कुनै जन्तु ल्याउनका निम्ति यात्रुले पहिले नै इजाजत लिनु पर्दछ।
भारतमा भन्सार अधिकारीहरूले यात्रुहरूले तस्करी गरेका वन्यजन्तु फेला पर्नु अनौठो भने होइन।
ज्यानुअरीमा भारतीय अधिकारीहरूले दिल्ली विमानस्थलमा एक गोहीको खप्पर ब्यागमा राखेको अवस्थामा एक क्यानडेली पुरुषलाई पक्रिएको थियो। एक महिनापछि मुम्बई विमानस्थलमा अधिकारीहरूले एक यात्रुको साथमा इन्डोनेसिया, मलेसिया तथा थाइल्यान्डमा पाइने सानो एप प्रजातिको पाँचवटा सायमाङ् गिब्बन फेला पारेका थिए।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण निकाय आईयूसीएनले गिब्बनलाई सङ्कटमा परेको जन्तुको सूचीमा राखेको छ। ती यात्रुले तिनलाई ट्रली ब्यागको भित्र प्लास्टिक क्रेटमा लुकाएर राखेका थिए।
सन् २०१९मा चेन्नई विमानस्थलका अधिकारीहरूले थाइल्यान्डबाट आएका यात्रुको साथमा एक हर्न्ड पिट भाइपर सर्प, पाँच इग्वाना, चार ब्लू टङ्ग्ड स्किङ्क, तीन ग्रीन ट्री फ्रग तथा २२ इजिप्सियन टर्टोइज फेला पारेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन