१७ लाख डलर पर्ने ४५ बोतल मदिरा चोर्ने जोडीलाई चार वर्ष जेल
तस्बिर स्रोत, EUROPA PRESS NEWS
- Author, क्याथ्रिन आर्म्स्ट्रङ
- Role, बीबीसी न्यूज
मेक्सिकोकी एक पूर्वसुन्दरी र उनका प्रेमीलाई झन्डै १७ लाख डलर मूल्य पर्ने मदिरा चोरेको अभियोगमा स्पेनमा चार वर्ष कारागारको सजाय सुनाइएको छ।
सन् २०२१ मा स्पेनको कासेरेस सहरस्थित एउटा विलासी होटलबाट ४५ बोलत मदिरा चोरी भएको थियो। त्यतिबेला अभियुक्तहरू उक्त होटलमा बसेका थिए।
चोरी गरेर उनीहरू त्यहाँबाट भागेका थिए।
तर नौ महिनापछि क्रोएशिया-मोन्टिनिग्रोको सीमामा पक्राउ गरेर उनीहरूलाई स्पेन फर्काइएको थियो।
नक्कली पासपोर्ट
चोरी भएको मदिराको कुनै बोतल पनि फेला परेको छैन।
अदालतले उक्त जोडीलाई टाटानिया र इस्टानिस्लाओ भनेर मात्र चिनाएको छ।
तर स्पेनका सञ्चारमाध्यमले उनीहरूको नाम प्रिस्किला ग्वेभारा र कोन्स्टान्टिन डुमिट्रु भएको विवरणहरू प्रकाशित गरेका छन्।
अदालतका अनुसार नक्कली स्विस राहदानी देखाएर टाटानिया सन् २०२१ को अक्टोबरमा एट्रिओ होटलमा बसेकी थिइन्।
पछि इस्टानिस्लाओ पनि उनीसँगै बस्न आए अनि दुवै जनाले मिचेलिन स्टार रेस्टुराँमा १४-कोर्स भोजनको स्वाद लिए।
त्यसपछि उक्त जोडीलाई विभिन्न किसिमका मदिरा सजाएर राखिएको ठाउँ देखाइयो।
त्यसको भोलिपल्ट एकाबिहानै इस्टानिस्लाओ चोरिएको एउटा चाबी लिएर मदिरा राखिएको ठाउँमा गएका थिए।
उन्नाइसौँ शताब्दीको मदिरा
अदालतका अनुसार टाटानियाले रेस्टुराँको रिसेप्शनमा भएका मानिसको ध्यान अन्यत्र मोड्दा सघाएकी थिइन् भने इस्टानिस्लाओले त्यहाँबाट चाबी चोरेका थिए।
उनीहरूले चोरेर झोलामा राखेका बोतलमध्ये एउटा १९औँ शताब्दीको मदिरा थियो जसको मूल्य साढे तीन लाख यूरो जति पर्छ।
बहुमूल्य मदिरा चोरी भएपछि अन्तर्राष्ट्रिय स्तरमा चोरहरूको खोजी भयो।
क्रोएशिया छिर्ने प्रयासमा रहेको उक्त जोडी गत जुलाईमा पक्राउ परेपछि खोजीकार्यमा विराम लाग्यो।
एल पाइस पत्रिकाका अनुसार चोरीको तयारी गर्नका लागि उक्त जोडी कम्तीमा तीन पटक त्यो रेस्टुराँ पुगेको थियो।
अदालतले उनीहरूलाई साढे सात लाख यूरोभन्दा बढी जरिवाना तिर्न पनि आदेश दिएको छ।
यद्यपि उनीहरूले अदालतको आदेशलाई चुनौती दिन पुनरावेदन गर्न पाउनेछन्।
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन