जाजरकोटमा ६.४ म्याग्निट्यूडको भूकम्प, पश्चिम नेपालका विभिन्न जिल्लामा धनजनको ठूलो क्षति

तस्बिर स्रोत, Lalu Basnet/Jajarkot

तस्बिरको क्याप्शन, जाजरकोट अस्पतालमा भूकम्पका कारण घर भत्किएर घाइते भएकाहरूलाई ल्याइएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्

शुक्रवार राती गएको भुकम्पका कारण कर्णाली प्रदेशको विशेषगरी जाजरकोट, रुकुम पश्चिम जिल्लाहरूबाट ठूलो क्षतिको विवरणहरू प्राप्त भैरहेको सुर्खेतबाट हाम्रा सम्वाददाता प्रकाश पन्तले जनाएका छन्।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले स्थानीयवासीबाट प्राप्त जानकारी अनुसार त्यहाँ हालसम्म २६ जनाको ज्यान गएको थाहा भएको बताएका छन्।

त्यसै गरी रुकुम पश्चिमस्थित नायब प्रहरी उपरीक्षक नमराज भट्टराईले स्थानीयवासीले दिएको जानकारी अनुसार २८ जनाको मृत्यु भएको जनाएका छन्।

विहान ४ बजेसम्म प्राप्त उक्त विवरण अनुसार दुई जिल्लामा गरी ज्यान गुमाउनेहरूको थाहा भएको सङ्ख्या ५० जनाभन्दा बढी पुगेको छ।

भूकम्पका कारण जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिँहको पनि ज्यान गएको नलगाड नगरपालिका वडा नम्बर ४ का अध्यक्ष बद्री पन्तले जानकारी दिएका छन्।

घाइते भएकाहरू मध्ये ३० जना जतिको रुकुम पश्चिममा र जाजरकोट अस्पतालमा १०० जनाभन्दा बढीको उपचार भैरहेको पनि स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

स्थानीय अधिकारीहरूका अनुसार भूकम्पपछि गएको सुख्खा पहिरोले बाटो अवरुद्ध हुँदा घाइतेको उद्धार र उपचारका निम्ति अस्पतालमा ल्याउनलाई कठिनाई भैरहेको छ।

तस्बिर स्रोत, Badri Pant

तस्बिरको क्याप्शन, भूकम्प गएपछि डरका कारण जाजरकोटका बासिन्दा रातभर घर बाहिर बसेका थिए

६.४ म्याग्निट्यूडको भूकम्प, केन्द्र विन्दू जाजरकोट

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटमा केन्द्रविन्दू रहेको ६ दशमलव ४ म्याग्निट्यूडको भूकम्प मापन गरिएको छ।

रातीको समय र प्रभावित क्षेत्र दुर्गम भएका कारण घाइतेको उद्धार तथा क्षतिको विवरणहरू संकलनमा कठिनाइ भैरहेको बताइएको छ।

जाजरकोटको खलंगामा कतिपय घरहरू भत्किएको र मानिसको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन भएको त्यहाँका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन्।

त्यस क्षेत्रमा त्रासका कारण मानिसहरू रातभर घरबाहिर बसेका जनाइएको छ।

तस्बिर स्रोत, Dipendra Sharma

भूकम्पको धक्का देशका अन्य भागहरूका साथै राजधानी काठमाण्डूमा समेत अनुभव गरिएको थियो। भारतको राजधानी दिल्लीमा पनि भूकम्पको धक्का अनुभव गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।