हमासको आक्रमणपछि प्यालेस्टिनी क्षेत्रमा इजरेलको हवाई हमला, कैयौँको मृत्यु

तस्बिर स्रोत, Reuters

इस्लामिक लडाकु समूह हमासको रकेट आक्रमणपछि इजरेलले गरेको जवाफी हमलामा कम्तीमा १९८ जना प्यालेस्टिनीहरू मारिएको विवरण आएका छन्।

हमासले अचानक गरेको रकेट प्रहारका क्रममा इजरेलमा यसअघि कम्तीमा ७० जनाको ज्यान गएको बताइएको थियो। त्यस्तै सात सयभन्दा बढी इजरेलीहरू घाइते भएको अधिकारीहरूले बताएका छन्।

हमासको आक्रमणको जवाफमा इजरेलले पनि गाजामा प्यालेस्टिनी क्षेत्रहरूमा आक्रमण गरेको छ।

शनिवार बिहान हमासका लडाकुहरू गाजामा प्रवेश गरेर आक्रमण सुरु गरेका थिए।

प्यालेस्टिनी लडाकुहरूले इजरेलका सैनिकहरू सहित दर्जनौँ इजरेलीहरूलाई नियन्त्रणमा लिएर बन्धक बनाएको अधिकारीहरूले बताएका छन्।

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरेल "युद्धमा रहेको" र गाजाको शासक हमासले "उसले कहिल्यै नसोचेको मूल्य चुकाउनु पर्ने" बताएका छन्।

तस्बिर स्रोत, Reuters

अहिले इजरेलका दर्जनौँ लडाकु विमानहरूले गाजास्थित हमासका लडाकुहरू रहेको क्षेत्रमा हवाई हमला गरिरहेका छन्।

आक्रमणमा परेर कम्तीमा एक जना प्यालेस्टिनीको मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

हमास बन्दुकधारीको इजरेली क्षेत्रमा प्रवेश

तस्बिर स्रोत, Reuters

शनिवार बिहानै हमासका दर्जनौँ बन्दुकघारी दक्षिणी इजरेलमा अचानक प्रवेश गरेर आक्रमणमा गरेको बताइएको थियो।

त्यसबेला इजरेलको सेनाले "परिस्थितिको मूल्याङ्कन" गर्दै गाजा स्ट्रिपमा आक्रमणकारी भएका स्थानहरूमा प्रहार गरिरहेको बताएको थियो।

शनिवार सुरुमा इजरेलतर्फ दर्जनौँ रकेटहरू प्रहार गरिएको थियो। त्यसले गर्दा उक्त देशभरि हवाई आक्रमणको पूर्वसूचना दिने साइरनहरू बजेका थिए।

तेल अभिभ र गाजा वरपरका क्षेत्रमा विस्फोटन भएका विवरण आएका थिए।

प्यालेस्टिनी लडाकु समूह हमासले आक्रमणको जिम्मा लिएको थियो।

उसको सशस्त्र बलले शनिवार २० मिनेटमा ५ हजार वटा रकेट प्रहार गरेको जनाएको छ।

इजरेलले के भन्यो?

तस्बिर स्रोत, EPA

इजरेली रक्षा बल (आईडीएफ)ले हमासले "गाजा स्ट्रिपबाट इजरेली क्षेत्रमा ठूलो मात्रामा रकेट प्रहार गर्न थालेको" र सशस्त्र लडाकुहरू "विभिन्न स्थानबाट" इजरेली क्षेत्रमा प्रवेश गरेको बताएको छ।

एउटा वक्तव्यमा इजरेली सेना प्रमुखले "परिस्थितिगत मूल्याङ्कन" गरिरहेको र हमासले "ती घटनाहरूको परिणाम भोग्नुपर्ने" बताएको उल्लेख गरिएको छ।

गाजा वरपरका बासिन्दाहरूलाई भित्रै बस्न भनिएको छ भने दक्षिणी र मध्य क्षेत्रका नागरिकहरूलाई "सेल्टरको छेउमा बस्न" भनिएको छ।

इजरेयलको एउटा उद्धार एजेन्सीले एक जनाको मृत्यु भएको र अन्य १५ जना घाइते भएको बताएको छ।

रोएटर्सले लिएको एउटा भिडिओमा इजरेली अग्निनियन्त्रकहरूले आश्केलोन सहरमा आगो निभाउँदै गरेको देखिन्छ भने जलेका सवारी साधनहरूबाट धुवाँको बाक्लो मुस्लो उडेको देखिन्छ।

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले रकेट आक्रमणबारे छलफल गर्न सुरक्षा प्रमुखहरूको बैठक बस्न लागेको जनाएको छ।

 हमास के भन्छ?

तस्बिर स्रोत, Reuters

हमासका नेता मोहम्मद डेफले शनिवार बिहान इजरेलतर्फ पाँच हजार वटा रकेट प्रहार गरिएको बताएका छन्। त्यसलाई उनले "अपरेशन अल-अक्सा स्टर्म" भनेका छन्।

"हामीले अति भनेको त अति नै हुन्छ भनेर यो निर्णय गरेका हौँ," उनले भने।

“हामीले पहिले नै शत्रुलाई चेतावनी दिएका छौँ। उनीहरूको कब्जाले कैयौँ नागरिकहरूको नरसंहार भएको छ। उनीहरूले गरेको कब्जाको अपराधका कारण यो वर्ष सयौँ शहीद र घाइते भएका छन्।

"हामी ‘अपरेशन अल-अक्सा फ्लड’ सुरु भएको घोषणा गर्छौँ र हामी घोषणा गर्छौँ- पहिलो प्रहारले शत्रुका स्थान, विमानस्थल र सैन्य किल्लालाई लक्षित गरेको थियो र हामीले पाँच हजार रकेटहरू प्रहार गर्‍यौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।