समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, माओवादी भन्दा अगाडी
तस्बिर स्रोत, RSS
समानुपातिक प्रणाली तर्फको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा देखिएको छ।
रबि लामिछाने नेतृत्वमा चुनाव अघि मात्र गठन भएको स्वतन्त्र पार्टीले यसअघि संसद्मा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रलाई निरन्तर पछि पारिरहेको छ।
प्रारम्भिक मतगणना परिणाममा नेपाली कांग्रेसले पहिलो र नेकपा एमालेले दोस्रो बढी मत पाएका छन्।
कांग्रेस र एमालेबीच १० हजार भन्दा कम मतान्तर छ। राष्ट्रिय स्वतन्त्र पार्टी एमालेभन्दा २५ हजार बढी मत अन्तरले पछि छ भने माओवादी भन्दा तीन हजार मतान्तरले अघि छ।
माओवादी पछि राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौँ स्थानमा देखिएको छ।
राप्रपा चाहिँ स्वतन्त्र पार्टीभन्दा १० हजार मतले पछि परेको छ।
छैटौँ स्थानमा जनता समाजवादी पार्टी छ भने माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी क्रमशः नवौँ र दशौँ स्थानमा छन्।
प्रदेशसभातर्फ भने लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएको छैन।
प्रदेशमा एमाले अगाडी
सात वटा प्रदेशमध्ये यो समाचार तयार गर्दासम्म निर्वाचन आयोगले पाँच वटा प्रदेशको समानुपातिक तर्फको मतगणना परिणाम अद्यावधिक गरेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको मतगणना अद्यावधिक गरिएको छैन।
पाँच वटा मध्ये तीन वटा प्रदेशको समानुपातिक मतमा एमालेले अग्रता लिएको छ भने एउटामा कांग्रेस अगाडी छ।
प्रारम्भिक मत परिणाम अनुसार प्रदेश १, गण्डकी र लुम्बिनीमा एमालेले समानुपातिकतर्फ सबैभन्दा धेरै मत पाएको छ भने बाग्मती प्रदेशमा कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ।
मधेश प्रदेशमा जनमतको अग्रता
तस्बिर स्रोत, RSS
मधेस प्रदेशमा बिहान १० बजेसम्म अद्यावधिक भएको नजिता अनुसार सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिक मतपरिणाममा अग्रता लिएको छ।
यसअघि पृथकतावादी अभियान चलाएका राउत नेतृत्वको जनमत पार्टीले भाग लिएको यो पहिलो संसदीय निर्वाचन हो।
मधेस प्रदेश बाहेकका चार वटा प्रदेशमा राप्रपाले चौथो धेरै समानुपातिक मत पाएको छ। मधेस प्रदेशमा चाहिँ जनमतपछि क्रमशः कांग्रेस, एमाले, माओवादी र जनता समाजवादी पार्टीले सबैभन्दा धेरै समानुपातिक मत पाएका छन्।
निर्वाचन आयोगले यो निर्वाचनमा ६१ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। जसअनुसार समानुपातिक तर्फ एक करोड ९ लाख मतदाताले मत खसालेको आकलन गरिएको छ।
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन