‘भूतलाई अलमल्याउन’ हुम्लामा मनाइने अनौठो खालको चैतलो पर्व

तस्बिर स्रोत, Narjan Tamang

तस्बिरको क्याप्शन, चैतेलोमा रममाइरहेका हुम्लाका महिलाहरू
    • Author, प्रकाश पन्त
    • Role, हुम्ला

कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा “भूतलाई अलमल्याउन” चैतलो पर्व मनाउने अनौठो चलन छ।

सदरमुकाम सिमकोट र ठेहे गाउँका खस समुदायले हरेक वर्ष फागुन महिनामा चैतलो मनाउँछन्।

विशेषगरी महिलाहरू पीताम्बर अर्थात् पहेँलो वस्त्र र थरीथरीका गरगहनामा सजिएर भुओखाडो (खेल्ने चौर) मा गएर चैतलो खेल्ने गर्छन्।

महिलाहरू चैतलो खेलिरहँदा थोत्रा कपडा लगाएका पुरुषहरू भने खरानी छर्कँदै “भूतलाई अलमल्याउने” भन्दै महिलाहरू चैतलो खेलिरहेको ठाउँ नजिकै मुखौटो लगाएर लाखे नाच्छन्।

नाच्ने तरिका

चैतेलो खेल्ने अर्थात् नाचगान गर्ने ठाउँलाई चौपाडी, सभाथाडो र भुओखाडो भनिन्छ।

उमेरअनुसार महिलाहरू जेठीबाट कान्छीसम्म गोलाकार लाइनमा उभिएर चैतलो खेल्ने गरेको स्थानीयवासी केशुकला रावत बताउँछिन्।

उनका अनुसार गोलाकार लाइनमा उभिएका महिलाहरूले नाचगान र भजन गाउने गर्छन्।

रावत भन्छिन्, “देवीदेवता र पञ्चभूत तत्त्वलाई खुशी पार्न माङ्गल, चाड्ची र आरती गाइन्छ भने रमाइलोका लागि चुड्किला भन्ने र देउडा खेल्ने पनि गरिन्छ।”

तस्बिर स्रोत, Mahesh Bikram Shahi

तस्बिरको क्याप्शन, चैतेलोमा रममाइरहेका हुम्लाका महिलाहरू

चैतलोको महत्त्व

सिमकोट र ठेहे गाउँका महिलाले दशैँ, तिहार र तीजलाई भन्दा पनि विशेष महत्त्व दिएर चैतलो मनाउँछन्।

“हाम्रा लागि तीजभन्दा पनि ठूलो चैतेलो पर्व हो,” सिमकोटकी बदुमा रोकाया भन्छिन्, “फरक शैलीमा सजिएर, मिठो मसिनो खाएर र एक आपसमा खुसी साटेर चैतेलो पर्व मनाउँछौँ।”

चैतलो खेलिसकेपछि सबै महिलाहरू गाउँलेका घरघरमा पुगेर आफ्ना मान्यजनलाई ढोग्छन् र उनीहरूबाट आशीर्वाद लिन्छन्।

तर आफन्तको निधन भएको वर्ष दिन पूरा नभएका घरका महिलाहरू भने चैतलो खेल्न जाँदैनन्।

चैतेलो पर्वका दिन कतिपयको मागी विवाह गर्ने चलन पनि रहको छ।

चैतलो खेल्ने महिलालाई आफन्त, छरछिमेक र इष्टमित्रले बोलाएर मिष्टान्न परिकारसमेत खुवाउने गर्छन्।

कतिपय भने वसन्त ऋतुलाई स्वागत गर्दै वर्षैँभरि राम्रो होस् भनेर यो पर्व मनाउने गरिएको बताउँछन्।

चैतलो पर्वमा छेलो फ्याँक्ने प्रतियोगिता पनि हुन्छन्।

छेलो जित्नेलाई विशेष सम्मान गर्ने चलन रहेको सिमिकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताए।

चैतलो पर्वलाई गाउँलेहरूले आफन्तसँग भेटघाट गर्ने अवसरको रूपमा पनि लिन्छन्।

तस्बिर स्रोत, Mahesh Bikram Shahi

किंवदन्ती

स्थानीयवासी तीर्थराज रोकाय चैतलो खेलिरहेका महिलालाई भूतले “टिपेर लान्छ” भन्ने ठानिने र “महिलालाई जोगाउन” पुरुषले भूतलाई “अलमल्याउन” लाखे नाच्ने गरेको जनविश्वास रहेको बताउँछन्।

उनका भनाइमा त्यस क्षेत्रमा त्यस्तो खालको किंवदन्ती चर्चित रहेको छ।

उनले भने, “पुरुषले भूतलाई अलमल्याउँछन् र महिलाले ढुक्कसँग चैतलो नाच्छन् भन्ने मान्यता छ।”

सिमकोट गाउँपालिकाका अध्यक्ष भण्डारी पनि “भूतलाई भुलायो भने चैतलो खेल्ने महिलालाई भूतले लग्दैन” भन्ने विश्वास गाउँलेमा रहेको बताउँछन्।

तस्बिर स्रोत, Mahesh Bikram Shahi

पर्व लोप हुने चिन्ता

आधुनिकताको प्रभावसँगै चैतलो पर्व लोप हुने हो कि भन्ने चिन्ता कतिपयले गर्न थालेका छन्।

मोबाइल, आधुनिक बाजा र गीतसङ्गीतले गर्दा चैतलोमा गाउने चुट्किला, फाग, डमरी, मङ्गलजस्ता गीत हराउन थालेको उनीहरू बताउँछन्।

महिलाले लगाउने चाँदीका माला, चक्ररी, कल्लीजस्ता गहना र कपालमा बाटिने कौराको चलन पनि हराउन थालेको बूढापाका गुनासो गर्छन्।