एआईको तनाव: के तपाईँहरूको जागिर जोखिममा छ?
तस्बिर स्रोत, Getty Images
- Author, जोसी कक्स
- Role, बीबीसी वर्कलाइफ
क्लेअरले लन्डनस्थित एक परामर्शदाता कम्पनीमा ६ वर्ष जनसम्पर्क प्रतिनिधिका रूपमा काम गरिन्।
३४ वर्षीय उनी आफ्नो काममा रमाइरहेकी छन् र राम्रो तलब बुझ्छिन्।
तर पछिल्लो ६ महिनामा उनी आफ्नो करिअरको भविष्यलाई लिएर चिन्तित छन्।
कारण हो: आर्टिफिसिअल इन्टलिजेन्स (एआई)।
“अझैसम्म मैले गर्ने कामको गुणस्तरको तुलना मेसिनले तयार पार्ने कामसँग हुन्छ भन्ने लाग्दैन,” क्लेअर भन्छिन्।
उनको हालको जागिरमा असर नपरोस् भनेर हामीले क्लेअरको थर यहाँ खुलाएका छैनौँ।
“तर त्यति नै बेला च्याटजीपीटी कति छिटै परिष्कृत भयो भन्ने कुराले मलाई चकित पारेको छ। केही वर्षमा हेर्नुस् जतिबेला निश्चित रूपमा मैले जत्तिकै काम मेसिनले गर्न सक्छ। मेरो रोजगारीमा यसको असर कस्तो पर्ला भन्ने म सोच्नै चाहन्नँ।”
पछिल्ला वर्षमा मानिसका जागिर रोबोटले खोसिरहेको कुरा समाचारका शीर्षक बनिरहेका छन्। च्याट जीपीटीजस्ता एआई माध्यमहरू छिट्टै नै सबैको पहुँचमा पुगेका छन्।
यसले मानिसहरूलाई उनीहरूसँग रहेका सीप श्रम बजारमा आउँदा वर्षमा काम लाग्ला कि नलाग्ला भन्नेमा चिन्तित बनाएको छ।
मार्च महिनामा गोल्डम्यान स्याक्स कम्पनीले प्रकाशित गरेको एक प्रतिवेदनले ३० करोड पूर्णकालीन जागिरलाई एआईले विस्थापित गर्न सक्ने जनाएको थियो।
गत वर्ष पीडब्ल्यूसीले वार्षिक रूपमा गर्ने ग्लोबल वर्क फोर्स सर्वेमा जवाफ दिने एक तिहाइले आउने तीन वर्षमा प्रविधिले विस्थापित गर्न सक्ने भूमिकालाई लिएर चिन्तित भएको बताएका थिए।
“मलाई लाग्छ सृजनशील क्षेत्रमा काम गर्न धेरै जना चिन्तित छन्,” ब्रिस्टल, यूकेका २९ वर्षीय कपिराइटर एलिस मार्सलले भने।
“अहिले हामीले हाम्रा सेवा लिनेहरूले त्यसको कदर गरून् र सहज एआई माध्यमभन्दा मानिसमा विश्वास गरून् भन्ने आशा मात्र गरिरहेका छौँ।”
यतिखेर करिअरका विषयमा सल्लाह दिनेहरू र जनशक्ति विज्ञहरूका केही चिन्ता जायज भए तापनि कर्मचारीहरू आफूले नियन्त्रण गर्न सक्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताउँछन्।
मेसिनका कारण जागिर गुम्न सक्ने सम्भावनाका कुराले आत्तिनुभन्दा उनीहरूले प्रविधिको लयसँगै काम गर्नका लागि लगानी गर्न आवश्यक छ।
विज्ञहरूका अनुसार यदि उनीहरूले यसलाई खतरा नमानिकन संसाधनका रूपमा लिए भने उनीहरूले रोजगारदातासामु आफूलाई थप मूल्यवान व्यक्तिका रूपमा प्रस्तुत गर्न सक्छन् र कम चिन्तित हुनेछन्।
अज्ञात चिन्ता
केही मानिसहरूका लागि ओपन एआईको च्याटजीपीटी रातारात बाहिरियो र ‘एआई दौडको चेतावनी’ हरेक दिन रफ्तारमा अघि बढेर कर्मचारीहरूमा अनिश्चितताको चिन्ता उत्पन्न गराइरहेको छ।
न्यूयोर्कमा रहेको कोलम्बिया युनिभर्सिटीकी अध्यापक तथा करिअर कोच क्यारोलिन मोन्ट्रोसले प्रविधिमा आइरहेका नयाँ नयाँ कुराको गति र त्यसले ल्याउने परिवर्तन चिन्ताजनक हुने कुरा स्वीकार गर्छिन्।
“एआईका प्रभावलाई लिएर चिन्तित हुनु सामान्य कुरा हो किनकि यसको उत्पत्ति तरल छ र त्यसको धेरै अज्ञात प्रयोगका पक्षहरू छन्,” उनी भन्छिन्।
तर उनले त्यसलाई लिएर कर्मचारीहरूले आफ्नो अस्तित्व नै मर्ने गरी सोच्नु पर्दैन भन्छिन्।
आफू कतिसम्म चिन्तित हुने भनेर निर्णय गर्ने मानिसहरूको आफ्नै निर्णयको कुरा हो।
उनीहरू कि त “एआईलाई लिएर चिन्तित हुन पाउँछन् वा त्यसलाई प्रयोग गर्न उत्साहित हुँदै आफ्नो फाइदामा प्रयोग गर्न” सिक्नेछन्।
विश्वास र प्रविधिका विषयलाई बुझ्ने विषयमा विज्ञता हासिल गरेका पीडब्ल्यूसीका स्कट लाइकेन्सले समेत मोन्ट्रोसको कुरामै समर्थन जनाउँछन्।
उनी भन्छन्, “परिष्कृत प्रविधिले कामका प्रक्रियालाई स्वचालित र सङ्गठित गर्न सक्ने देखाएका छन्। यद्यपि सही सीपहरू हुँदा मानिसहरू यी विकास क्रमसँगै रहेर काम गर्न सक्नेछन्।”
“एआईको तीव्र गतिको प्रभावबाट कम चिन्तित हुनका लागि कर्मचारीहरूले प्रविधिको प्रयोग गर्न सिक्नुपर्छ। एआईबारे सिक्न शिक्षा र तालिम मुख्य कुरा हुन् जसले उनीहरूलाई नयाँ सीप विकास गर्न समेत सघाउनेछ। एआईबाट भाग्नुभन्दा कर्मचारीहरूले त्यसलाई आत्मसाथ गर्न र ज्ञान हासिल गर्ने तर्फको योजना बनाउनुपर्छ।”
लाइकेन्सका अनुसार रोजगारीका क्षेत्रमा यस्तो अवरोध देखा परेको यो पहिलो पटक होइन। “स्वचालितदेखि उत्पादनसम्म, इकमर्शदेखि बिक्रीसम्म हामीले यससँग अनुकूल हुने तरिका थाहा पाएका छौँ।”
नयाँ प्रविधिको कुराले धेरैलाई त्रस्त पार्नु स्वाभाविक भए तापनि मोन्ट्रोसका अनुसार विगतका नयाँ विकासबाट धेरै राम्रा नतिजा आएका छन्।
उनले समाजको उन्नतिका लागि प्रविधिमा आएको परिवर्तन सधै मुख्य तत्व भएको बताउँछिन्।
मोन्ट्रोसका अनुसार एआई प्रविधिसँग मानिसहरू जे जसरी जुझ्ने काम गरे तापनि त्यो अब हामीसँगै हुनेछ र सकारात्मक भएर हेर्दा त्यो अगाडिको बाटोका लागि निकै सहयोगी हुनेछ।
उनी भन्छिन्, “यदि मानिसहरूले आफ्नो सीप सुधार्न भन्दा बढ्ता चिन्तित हुन थाले पनि त्यसले एआईले भन्दा बढ्ता समस्या सिर्जना गर्नेछ।”
मानिसहरूको मौलिक मूल्य
विज्ञहरूले केही चिन्तित हुनु स्वाभाविक भए तापनि अत्यास मान्नुपर्ने बेला आई नसकेको बताउँछन्। केही अध्ययनहरूले मानिसहरूका काम रोबोटले विस्थापित गर्ने कुरा आवश्यकताभन्दा बढ्ता चर्चा भएको देखाएका छन्।
सन् २०२२ को नोभेम्बरमा अमेरिकाको युटास्थित ब्रिङ्हम यङ युनिभर्सिटीका समाजशास्त्रका प्राध्यापक एरिक डालिनले गरेको अध्ययनमा धेरै मानिसहरूले सोचेको दरमा रोबोटले मात्र मानिसहरूको काम विस्थापित नगरेको देखाउँछ।
बरु के मानिसहरू स्वचालित प्रणालीले विस्थापित गरिरहेको कामबारेसमेत गलत बुझाई पाइन्छ।
उनको विवरण अनुसार १४ प्रतिशत मानिसहरूले आफ्नो काम रोबोटले विस्थापित गरिरहेको लाग्ने बताएका थिए।
तर दुवै खाले कर्मचारीहरू – जसले प्रविधिले आफ्नो काम विस्थापित गरेको सोच्ने र त्यसो नसोच्नेहरूको अनुमान यथार्थभन्दा पर छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन