नेपाली क्रिकेट: स्कटल्यान्डको प्रभावकारी भ्रमणपछि अबको बाटो

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, स्कटल्यान्डको मैदानको चुनौती पार गरेको नेपाली टोलीको आगामी बाटो सहज देखिँदैन
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ४ मिनेट

पुछारमा रहेको आइसीसी विश्वकप लीग २ को अङ्क तालिकामा नेपाल त्यसै पनि कठिन अवस्थामा थियो।

त्यसैबेला माथिल्लो स्थानमा रहेका दुई टोली स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग उनीहरूको घरेलु पिचमा गएर खेल्नुलाई अझ कठिन चुनौती ठानिएको थियो।

तर नेपालले गजबको नतिजा निकाल्यो - ४ खेलमा ३ जित, त्यसमा पनि एक खेल जितको अत्यन्त नजिक पुगेर हार्न पुगेको थियो।

मनोबलमा प्रभाव

समग्रमा यो नतिजाले डिभिजन २ मा नेपाललाई ठूलो राहत दिएको छ।

नेपाली क्रिकेटको लागि यो केवल ६ अङ्कको नतिजा मात्र भएन, यसले खेलाडीहरूको मनोबल ह्वात्तै बढाएको मात्र होइन, जितको भोक अझै जगाइदिएको छ।

अनि नयाँ प्रशिक्षक स्टुअर्ट ल ले पनि नेपाल आगमनको 'उद्घाटन' भव्य रूपमा गर्न पाएको देखियो।

स्कटल्यान्ड भ्रमणको प्रभावकारी प्रदर्शनमा खेल अगाडिको राम्रो तयारी, नयाँ प्रशिक्षकको रणनीति र खेलाडीहरूको फर्किएको 'फर्म'को भूमिका मुख्य देखियो।

यी सबै पक्षलाई निरन्तरता दिँदै नेपालको अबको एक मात्र स्पष्ट लक्ष्य भनेको लीग तालिकामा उक्लिँदै जाने नै हुनेछ।

प्रभाव जमाएका खेलाडीहरू

स्कटल्यान्ड भ्रमणमा खेलाडीहरूले आफ्नो योग्यता अनुरूपको खेल पस्केका हुन्। धेरै पछि खेलाडीहरू आफ्नो फर्ममा फर्किएको जस्तो देखियो।

केही खेलाडीहरूले असाध्य राम्रो गरेका थिए।

आरिफ शेखले मध्य क्रममा आफ्नो भूमिकालाई यो भ्रमणमा गजबले प्रमाणित गरे।

आरिफले जीवनको दुई अविस्मरणीय अर्धशतक (७८ र ८४ रन) ठोक्दा दुवै खेलमा नेपालले जित पाएको थियो।

करण केसीको प्रभाव कति पनि घटेको छैन र उनी 'म्याच विनर' खेलाडी भएको तथ्य उनको बलिङ र ब्याटिङले बोल्यो।

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, करण केसीले यो शृङ्खलामा प्रभावशाली प्रदर्शन गर्न सके

पहिलो खेलमा स्कटल्यान्ड विरुद्धको अविजित ६५ रनको इनिङले उनलाई शृङ्खलाको सुखद सुरुवात भएको थियो।

स्कटल्यान्ड विरुद्धको दोस्रो खेलको अन्तिम ओभरमा उनले घुमाएको ब्याटले 'बाउन्ड्री' नाघेको भए त यो भ्रमण 'सुनमाथि सुगन्ध' नै हुने थियो।

म्याच विनरको छविमा एउटा खेल थपिने थियो र नेपाल शतप्रतिशत नतिजा लिएर फर्किने थियो।

सोमपाल कामीले वास्तविक अलराउन्डरको छवि कायम राख्दै ब्याट र बलमा आफ्नो क्षमता देखाएका हुन्। स्कटल्यान्डसँगको ६७ रन उनीमाथि गरिएको विश्वासको फल थियो।

नन्दन यादवले आफ्नो डेब्यूलाई स्मरणीय बनाउन सके। नेदरल्यान्ड्स विरुद्धको अन्तिम खेलमा उनले लिएको ३ विकेट नेपालको जितको एउटा मुख्य कारण बन्यो।

स्टुअर्ट लको प्रभाव

मोन्टी देशाईले एक खाले गहिरो छाप छोडेर गएको नेपाली क्रिकेट सम्हाल्न आएका अस्ट्रेलियाका प्रशिक्षक स्टुअर्ट ल को क्षमताको यो पहिलो परीक्षा पनि थियो।

उनी यसमा खरो उत्रिएको देखियो।

"मलाई हार्न मन पर्दैन" भन्ने अभिव्यक्ति दिएर मिडियामा सार्वजनिक भएका स्टुअर्ट ल प्रभावकारी देखिए।

उनले नेपाली क्रिकेट र खेलाडीको क्षमता झट्टै चिनेको देखियो।

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, नयाँ प्रशिक्षक स्टुअर्ट ल ले सुरुका खेलहरूमा सफलता पाएका छन्

राष्ट्रिय टोलीमा पहिलोपटक खेलिरहेका नन्दन यादवले प्रशिक्षकका बारेमा भनेका थिए, "उनी खेललाई सामान्य राख्न प्रयास गर्छन्। दबाव नदिएर हौसला दिने। ज्ञानु दाइ (सहायक प्रशिक्षक) ले पनि त्यसै भन्नु हुन्थ्यो। त्यसले गर्दा टोलीमा सहज भएको छ।"

कठिन समयमा नेपाली टोली सम्हाल्न आइपुगेका ल ले यसै वर्ष हुने लीग २ को दुई शृङ्खलामा यो जादु कायम गर्नुपर्ने छ।

यो वर्षको चुनौती

प्रशिक्षक ल को अबको चुनौती आफूले भर्खरै छोडेको राष्ट्र अमेरिकाविरुद्ध हुनेछ।

नेपालले आगामी अक्टोबरमा यूएई र अमेरिका सम्मिलित पाँचौँ शृङ्खला यूएईमा खेल्नेछ।

आइसीसी टी २० विश्वकपमा ल ले अमेरिकालाई दोस्रो चरणसम्म पुर्‍याउने क्रममा पाकिस्तान जस्तो टीमलाई पराजित गर्न सकेका थिए।

अमेरिका लीग तालिकाको शीर्ष स्थानमा छ। अमेरिकी खेलाडीलाई भित्रैदेखि चिनेका ल ले उनीहरूविरुद्ध त्यस्तै रणनीति पक्कै बनाउने छन्।

तालिकाको पुछारमा रहेको यूएई भने नेपालले धेरै खेलेको र चिनेको प्रतिद्वन्द्वी हो।

त्यसपछि नोभेम्बरमा नेपालले ओमान र यूएईलाई नेपालमा आमन्त्रण गर्नेछ।

घरेलु भूमिमा ल को त्यो पहिलो प्रतियोगिता हुनेछ।

आन्तरिक विवादका कारण ओमानका कतिपय राम्रा खेलाडीहरू टोलीमा छैनन्। त्यो नेपालको लागि झिनो फाइदाको विषय हुन सक्ने छ।

यद्यपि तालिकाको चौथो स्थानमा रहेको ओमान कमजोर टोली भने हुने छैन।

नेपालले यो वर्ष टी २० का लागि पनि तयारी गर्नु छ।

साथै लीग २ मा केन्द्रित भएर टोलीले प्रशिक्षणमा समय बिताउनु उत्तिकै जरुरी छ।

अबका दुई महत्त्वपूर्ण शृङ्खला:

१. अक्टोबर २०२५: यूएई, नेपाल र अमेरिका (आयोजक यूएई)

२. नोभेम्बर २०२५: नेपाल, ओमान र यूएई (आयोजक नेपाल)

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।