के केही मानिस जन्मजात गणितमा कमजोर हुन्छन्
तस्बिर स्रोत, djedzura/Getty Images
- Author, क्राउडसाइन्स प्रोग्राम
- Role, बीबीसी विश्व सेवा
- पढ्ने समय: ६ मिनेट
एक कृषकले तीन प्रकारका जनावर पालेका छन्। तीमध्ये तीनवटा बाहेक सबै भेडा हुन्, चारबाहेक सबै बाख्रा हुन्, अनि पाँचबाहेक सबै घोडा हुन्। उनीसँग कुन जनावर कतिवटा छन्?
के यो प्रश्नले तपाईँलाई विचारमग्न बनायो? हो भने पनि त्यसो हुने तपाईँ एक्लो व्यक्ति हुनुहुन्न। उत्तर चाहिँ ती किसानसँग एक घोडा दुई बाख्रा र तीन भेडा थिए भन्ने हो।
किन कोही मानिसहरू गणितमा अत्यन्त तीक्ष्ण हुन्छन् तर अरूलाई अङ्कले आच्छुआच्छु पारिदिन्छ?
यसमा वंशाणुले भूमिका हुन सक्छ। यद्यपि जीवविज्ञान, मनोविज्ञान र पर्यावरणको जटिल भूमिका पनि रहन्छ।
जुम्ल्याहामा गरिएको अध्ययन
यूकेको गोल्डस्मिथ्स विश्वविद्यालय लन्डनमा प्राध्यापन गर्ने यूलिया कोभास वंशाणुशास्त्री तथा मनोवैज्ञानिक हुन्। उनी मानिसहरूमा किन हिसाब गर्ने क्षमता फरकफरक हुन्छ भन्ने अध्ययन गर्छिन्।
उनले समान र असमान जुम्ल्याहा बच्चाका १०,००० जोडीको बृहत् अध्ययन गरेकी छन् र आनुवंशिक र पर्यावरणीय कारणले सिक्ने क्षमता कसरी प्रभावित हुन्छ भन्ने पत्ता लगाउन खोजेकी छन्।
"समान जुम्ल्याहा (अर्थात् एउटै शुक्राणुबाट निषेचित डिम्बको विभाजन भएर जन्मिएका बच्चा) का मनोवैज्ञानिक विशेषता उस्तै हुने गरेको तर असमान जुम्ल्याहा (भिन्न शुक्राणुबाट निषेचित भिन्न डिम्बबाट विकसित भई जन्मिएका बच्चा) मा भने भिन्नता रहने गरेको पाइयो। त्यसैले उनीहरूको गणना गर्ने क्षमता पनि समान रहने गरेको पाइयो। त्यसैले घरेलु वातावरणले उनीहरूमा रहने गणितीय क्षमताको सम्पूर्ण व्याख्या गर्न सक्दैन। त्यसैले यसमा वंशाणुको भूमिका हुन्छ जस्तो लाग्छ," उनी भन्छिन्।
प्रा कोभासका अनुसार माध्यमिक विद्यालयमा हुँदा र वयस्क हुँदा गणितको सिकाइ र क्षमतामा करिब ५० देखि ६० प्रतिशत अनुवंशले तय गर्छ। उनी भन्छिन्, "त्यसैले व्यक्तिको गणितीय क्षमतामा जीन र वातावरण दुवै महत्त्वपूर्ण छन्।"
वातावरण
हामीले हेर्न र बुझ्न पाएका कुराबारे पनि विचार गर्नुपर्ने हुन्छ।
हाम्रो विद्यालय कति राम्रो छ या गृहकार्यमा हामीले कति सहयोग पाउँछौँ भन्नेमा मात्र यो सीमित छैन। "यो आकस्मिक पनि हुन सक्छ - उदाहरणका लागि, रेडिओमा सुनेको कुनै कुराले हाम्रो रुचि मार्ग नै फेरिदिन सक्छ," कोभास भन्छिन्।
उनका अनुसार वंशानुगुणले कसैलाई कुनै विशेष कुरातर्फ आकर्षित गरिदिन सक्छ।
लफ्बरो विश्वविद्यालय यूकेमा कार्यरत डा इरो शेनिडू-डेर्भूका अनुसार सबै जना गणितमा तीक्ष्ण हुन नसके पनि मानिसहरूले आफ्नो क्षमता सुधार्न भने सक्छन्।
उनी भन्छिन्, "हाम्रो सङ्ख्याको ज्ञान वा गणितमा दक्षता विकास गर्न हाम्रा विचार, विश्वास र दृष्टिकोण तथा भावनाले महत्त्वपूर्ण भूमिका खेल्छन्।"
डा शेनिडू-डेर्भूका अनुसार "गणितका कारण उत्पन्न हुने तनाव"ले व्यक्तिको काम गराइमा प्रभाव पार्न सक्छ। त्यसैले सुधार गर्न चाहने मानिसले आत्मविश्वास राख्नुपर्छ।
'गणितको एङ्जाइटी'
तिमीलाई गणित आउँदैन भन्ने किसिमको नकारात्मक टिप्पणी सुनाइदिँदा त्यसले तनाव ( एङ्जाइटी)को चक्रतर्फ लैजान सक्छ।
"गणितको एङ्जाइटीले सकेसम्म हिसाब नगर्ने स्थितितिर धकेलिदिन सक्छ अनि त्यसले गणितको दक्षता झन् कमजोर हुन सक्छ र त्यसले त्यस्तो एङ्जाइटी झन् बढाइदिन सक्छ।"
त्यसबाट चिन्तन गर्न प्रयुक्त हुने क्रियाशील स्मृतिमा बोझ थपिदिन सक्छ।
"एङ्जाइटीले हाम्रो क्रियाशील स्मृतिको महत्त्वपूर्ण भाग ओगट्न सक्छ र जसले गर्दा विद्यमान समस्या समाधान गर्न तपाईँसँग निकै कम मात्र क्षमता उपलब्ध हुन सक्छ," डा शेनिडो-डेर्भूको विश्लेषण छ।
उनले लफ्बरो विश्वविद्यालयमा गरिएको एक अध्ययनलाई औँल्याइन् । त्यो अध्ययनमा नौ अथवा १० वर्षका बच्चामा क्रियाशील स्मृति र गणितको एङ्जाइटी बीचको सम्बन्धबारे अनुसन्धान गरिएको थियो।
बच्चाहरूलाई मनमनै गर्न सकिने दुई अङ्कको हिसाब दिइएको थियो र उनीहरूले शब्द सुनेर दोहोर्याउनुपर्ने एउटा सर्त पनि थियो। त्यस्तो कार्यमा गणितको चरम एङ्जाइटी भएका बच्चाहरूको काम प्रभावित भएको पाइएको उनले सुनाइन्।
अन्तर्निहित सङ्ख्या ज्ञान
यूनिभर्सिटी कलेज लन्डनका प्राध्यपक ब्रायन बटर्वर्थ सङ्ज्ञानात्मक न्यूरोसाइकोलजीको क्षेत्रमा काम गर्छन्। उनको अनुसन्धानले कहिल्यै पनि गणना गर्न नसिकाइएका बच्चासहितका मानिसमा सङ्ख्याबारे अन्तर्निहित ज्ञान हुन्छ भन्ने देखाउँछ।
तर केहीमा "त्यस्तो अन्तर्निहित संयन्त्रले राम्ररी काम गर्दैन"।
'डिस्क्याल्कुलिआ' सङ्ख्या र परिणामबारेको बुझाइबारे सिकाइमा देखिने समस्या हो। यो समस्या 'डिस्लेक्शिआ' जत्तिकै धेरै मानिसलाई पाइन्छ। प्रा बटर्वर्थका अनुसार त्यसले ५ प्रतिशत मानिसलाई असर पारेको हुन्छ।
डिस्क्याल्कुलिआ भएका मानिसलाई अङ्कगणितीय काम, जस्तो कि ५ गुणा ८ अथवा ६ मा १६ जोड्दा कति हुन्छ भन्ने हिसाब, गर्न निकै कठिन हुन्छ।
प्रा बटरवर्थ र उनको समूहले एउटा खेल विकास गरेका छन् जसले डिस्क्याल्कुलिआको समस्या भएका लगायतका बच्चालाई आधारभूत अङ्कगणितमा सहयोग गर्छ।
तर उनी त्यस्तो सहयोगले दीर्घकालमा कस्तो असर पार्छ भन्ने स्पष्ट छैन भन्ठान्छन्।
उनी भन्छन्, "यसमा बच्चालाई सहयोग छिट्टै उपलब्ध गराउनुपर्छ र त्यसपछिका केही वर्ष उनीहरूको विकास कसरी हुन्छ त्यो हेरिरहनुपर्ने हुन्छ। "
त्यसोभए गणित अरू विषयभन्दा कसरी फरक छ त?
डा जेनिडू-डेर्भू गणित सिकाइलाई इँट्टाको पर्खाल लगाउने कार्यसँग तुलना गर्छिन् जसमा अग्लो पर्खाल लगाउनलाई आधार बलियो हुनुपर्छ।
"गणितमा इँट्टाहरू फड्किन सकिन्न। उदाहरणका लागि, इतिहासमा तपाईँलाई कुनै युगबारे थाहा नहुन सक्छ अर्कोबारे पूरै थाहा हुन सक्छ। त्यसमा त्यो ठिकै हुन्छ तर गणितमा त्यसो गर्न पटक्कै सकिन्न," उनी भन्छिन्।
विश्वभरिबाट सिकेको पाठ
तस्बिर स्रोत, AFP via Getty Images
प्रा कोभास प्रोग्राम फर इन्टरन्याश्नल स्टुडन्ट असेस्मन्ट पीआईएसए सर्भेबारे कुरा गर्छिन्। सन् २००० मा सुरुतिर विश्वभरिका १५ वर्षे किशोरकिशोरीको गणित पढ्ने क्षमता र विज्ञानमा उनीहरूको दक्षताबारे भएको अनुसन्धानका लागि विश्वव्यापी शिक्षा प्रणालीको समीक्षा गरिएको थियो।
"अन्तर्राष्ट्रिय वरीयताको सूचीमा चिनियाँ विद्यार्थीहरू सबभन्दा माथि थिए, केही अन्य पूर्वी एशियाली मुलुक र फिनल्यान्ड पनि थिए। फिनल्यान्डलाई युरोपेली आश्चर्यका रूपमा हेरियो किनभने यो अरू पूर्वी एशियाली मुलुकहरू सँगसँगै परेको थियो," उनी भन्छन्।
राम्रो अवस्थामा भएका ती मुलुकबाट हामी केही सिक्न सक्छौँ कि?
जियाङ्शी नर्मल यूनिभर्सिटी इन चाइनामा गणितका सहायक प्राध्यापक जेन्जेन मियाओ भन्छन्, "चीनमा गणित विषय आधारभूत ज्ञान, आधारभूत क्षमता, आधारभूत गणित अनुभव र आधारभूत गणितीय सोचाइमा केन्द्रित छ।"
उनका अनुसार त्यहाँ शिक्षक र शिक्षाप्रति "विशेष सम्मान" छ। त्यहाँ शिक्षकहरूले दिनको एक वा दुई पाठ मात्र पढाए पुग्छ र बाँकी समय उनीहरूले तयारी र पाठलाई राम्ररी बुझाउन प्रयोग गर्छन्।
पेक्का रासानेन फिनल्यान्डस्थित यूनिभर्सिटी अफ टुर्कुमा अर्थसमाजशास्त्र प्राध्यपक हुन्। उनी पनि फिनल्यान्डको शिक्षा प्रणालीमा गणित विषयको आधारभूत कुरामा ध्यान दिने गरिएको बताउँछन्।
"फिनल्यान्डमा शिक्षकहरूले पाँच वर्षको प्राज्ञिक तालिम प्राप्त गरेका हुन्छन् र पढ्नका लागि आवेदन माग्दा उपलब्ध सीटभन्दा दशगुना बढी मानिसले रुचि देखाउँछन्। त्यो किनभने यहाँ शिक्षकहरूप्रति सम्मान छ।"
सबै मुलुकमा जस्तै त्यहाँ पनि भिन्नता भएको र त्यसले "विषयको जटिलता" प्रदर्शन गर्ने कोभासको धारणा छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन