इजरेल लेबनन अतिक्रमण: दुई देशबीच कति पटक युद्ध भयो? कारण के थिए?

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २००६ मा लेबननमा इजरेली सेना: सन् १९७८ यता इजरेली सेनाले लेबननमा पाँचौँ पटक अतिक्रमण गरेका छन्
पढ्ने समय: ५ मिनेट

कैयन् दिनसम्म गरिएको बमबारी तथा हिज्बुल्लाह समूहविरुद्ध गरिएका लक्षित आक्रमणपछि इजरेलले लेबननमा स्थल अतिक्रमण थालेको छ।

तर इजरेलले यस्तो आक्रमण गरेको यो पहिलोपटक भने होइन। विगतमा गरिएका त्यस्ता कारबाहीको मिश्रित परिणाम आएको थियो।

उसोभए यसपटकको अतिक्रमण पहिलेको भन्दा कसरी भिन्न छ?

सन् १९७८: पहिलो अतिक्रमण

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, लिटानी कारबाही नाम दिइएको सन् १९७८ को दक्षिण लेबनन अतिक्रमणका बेला एक इजरेली सैनिक

सन् १९४८ मा इजरेल राज्यको स्थापना भएपश्चात् प्यालेस्टीनी शरणार्थीहरूको मुख्य गन्तव्य लेबनन बनेको थियो। ती शरणार्थीमा प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशन (पीएलओ)का मिलिसिया पनि थिए।

ती मिलिसियाले लेबननबाट इजरेलमा आक्रमण गरे र उक्त देशलाई सङ्घर्षमा तानिदिए।

सन् १९७८ मा पीएलओका अर्धसैन्य समूह समुद्री तटमा ओर्लिएर एउटा बस कब्जामा लिए र त्यसपछि भएको हिंसामा ३८ जना इजरेली गैरसैनिक मारिए। उक्त घटनालाई इजरेलमा 'कोस्टल रोड म्यासाकर' भनेर सम्झिने गरिन्छ। लगत्तै इजरेली सेनाले त्यहाँ अतिक्रमण गर्‍यो।

इजरेली सेना दक्षिण लेबननमा पसे अनि दुई महिनापछि फर्किए। उनीहरूले सिमानामा 'बफर जोन' स्थापना गरे जहाँ उनीहरू सन् २००० सम्म रहे।

पहिलो अतिक्रमणका बेला लेबननमा २ हजार लडाकू तथा गैरसैनिक मारिए भने इजरेल तर्फ १८ सैनिकको ज्यान गयो।

सन् १९८२: सबभन्दा ठूलो अतिक्रमण

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, लेबननी बन्दरगाह सहर साइडनमा कब्जामा लिइएका इजरेली सैनिक

लेबननमा इजरेलको सबभन्दा महत्त्वपूर्ण सैन्य कारबाही सन् १९८२ मा भयो जतिखेर लेबननमा गृहयुद्ध भएको थियो।

हजारौँ इजरेली सैनिक तथा सैयौँ ट्याङ्क एवं बख्तरबन्द गाडीले सिमाना पार गरे। लेबननबाट इजरेलमा हमला निरन्तर जारी राखेका पीएलओलाई पछाडि धकेल्ने उद्देश्यका साथ उक्त कारबाही गरिएको बताइयो।

इजरेलको उद्देश्य पीएलओका गढहरूलाई निसाना बनाउनु थियो ताकि तिनको इजरेल लक्षित आक्रमण रोक्न सकियोस्।

इजरेली फौज विभिन्न मोर्चाबाट लेबनन पस्यो। एक साताभित्रै बेइरुत सहरको छेउछाउ पुग्यो।

आक्रमणका बेला इजरेली फौजले प्यालेस्टीनी शरणार्थीहरूको 'आमसंहार' गर्‍यो।

तीन महिनापछि इजरेली सेना फर्कियो। उसले लेबननभित्रै बफर जोन खडा गर्‍यो।

लेबननी क्षेत्रमा २० हजार मानिस मारिए, खासगरि गैरसैनिक। इजरेलतर्फ ६५४ सैनिक मारिए।

सन् १९९६: नयाँ शत्रु र नयाँ अतिक्रमण

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हिज्बुल्लाह र इजरेलबीचको सङ्घर्षमा हजारौँ लेबननी गैरसैनिक फसेका छन्

सन् १९८२को अतिक्रमणले पीएलओलाई विस्थापित गरिदियो, उसले आफ्नो मुख्यालय लेबननबाट ट्युनिशिया सार्‍यो। तर त्यसपश्चात् अर्को अर्धसैनिक समूह हिज्बुल्लाहको जन्म भयो जसले इजरेललाई दुश्मन घोषित गर्दै आक्रमण गर्न थाल्यो।

सन् १९९६ को एप्रिलमा उक्त समूहले गरेका रकेट आक्रमणको विरुद्ध इजरेली फौज हिज्बुल्लाहसँग लड्न लेबनन पस्यो। त्यतिखेरको अतिक्रमण सीमित प्रकारको थियो र केवल २ सातासम्म मात्र जारी रह्यो।

फेरि पनि गैरसैनिकहरूले दु:ख पाए – लेबननमा हिज्बुल्लाहका १३ लडाकु र २५० गैरसैनिक मारिए। इजरेलले कुनै क्षति बेहोरेन।

इजरेल र हिज्बुल्लाह निरन्तर सङ्घर्षमा रहे। विद्रोहीहरूले रकेट प्रहार गरिरहे अनि इजरेली हवाई सेनाले बमबारी गरिरह्यो।

सन् २००६: ३४ दिनको युद्ध

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, घाइते इजरेली सैनिकलाई स्वदेश फिर्ता लगिँदै

त्यसपछि आयो जुलाई २००६। हिज्बुल्लाहका लडाकुहरूले सीमापारी इजरेली सहरहरूमा गोलाबारी गर्नुका साथै सीमा पार गरेर दुई वटा सैन्य गाडीमा हमला गरे जसमा ८ इजरेली सैनिक मारिए भने २ बन्धक बनाइए।

इजरेलले त्यस्को जबाफमा भीषण हवाई हमला तथा लेबननभरि गोलाबारी गर्‍यो। लेबननविरुद्ध हवाई तथा सामुद्रिक नाकाबन्दी लगायो अनि दक्षिण लेबननमा स्थल अतिक्रमण गर्‍यो।

उक्त युद्ध ३४ दिनसम्म चल्यो र युद्धविराममा टुङ्गियो।

लेबननतर्फ ११९१ मानिस मरे जसमा अधिकांश गैरसैनिक थिए। इजरेलतर्फ १२१ सैनिक तथा ४४ गैरसैनिकको ज्यान गयो।

सैन्यविद्हरू के भन्छन्?

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९८२ मा लेबननको राजधानी बेइरुत इजरेली फौजको घेराबन्दीमा पारिएको थियो

अहिलेका निम्ति हिज्बुल्लाहविरुद्ध इजरेलको कारबाहीले दुई देशबीचको शक्ति सन्तुलनमा फेरबदल आएको बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बावेनले बताए: “…बितेका केही सातामा इजरेलले हिज्बुल्लाहको सङ्गठन छिन्नभिन्न पारिदिएको छ, उसको आधा अस्त्र भण्डार नष्ट गरिदिएको छ, अनि अमेरिकी तथा इजरेली अधिकारीहरूका अनुसार: लेबननमा अतिक्रमण गरेको छ।”

इजरेली सैन्य विश्लेषक योआभ स्टर्नले यसपालि पनि सन् २००६ मा जस्तै सीमित प्रकृतिको अतिक्रमण हुने – नकि सन् १९८२ को जस्तो विस्तारित अतिक्रमण हुने – बीबीसीलाई बताए।

“यो विस्तारै, होसियारीपूर्वक अनि निकै तालमेल मिलाएर गरिएको अतिक्रमण हुनेछ। जसमा दक्षिण लेबननका सहरहरू एकपछि अर्को कब्जा गरिनेछन् नकि द्रुत गतिमा र विस्तृत प्रकृतिको अतिक्रमण,” स्टर्नले भने।

हिज्बुल्लाह लामो समयदेखि दक्षिण लेबननका सहरहरूमा जमेर बसेको हुनाले इजरेलले तिनलाई कब्जा गरेर तत्कालै फर्किहाल्ने स्थिति सम्भव नहुने उनले बताए।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, इजरेली हवाई हमलामा मारिएकाहरूको खोजी गर्न लेबननमा परिचालित उद्धार टोली

तर लेबननको अवस्था र अक्टोबर ७ को हमास हमलापछि गाजामा इजरेलको कारबाहीबीच फरक छ किनभने हमासको प्रतिरोधको तुलनामा इजरेली सैन्य क्षमता निकै ठूलो छ।

हिज्बुल्लाहको नेतृत्व र उसका संरचनाविरुद्ध भएका सफल आक्रमणका बाबजुद लेबननको परिस्थिति निकै चुनौतीपूर्ण हुन सक्छ।

“हिज्बुल्लाह भनेको हमास होइन: यो क्षतिग्रस्त त छ तर अझै पनि शस्त्रले निकै लैस तथा रणनीतिकरूपमा महत्त्वपूर्ण क्षेत्रमा छ,” अस्ट्रेलियन न्याशनल युनिभर्सिटीका मध्यपूर्व विज्ञ प्राध्यापक अमिन साइकालले भने।

“यो समूहले इजरेली कब्जाविरुद्ध अन्तहीन प्रतिरोध गर्न सक्छ। जसका कारण इजरेलले निकै धेरै मानवीय वा भौतिक क्षति बेहोर्नु पर्ने हुन सक्छ।”

जेरेमी बावेनले इजरेलले गाजामा पनि उसको एक मुख्य उद्देश्य हासिल गरिनसकेको औँल्याए।

“दक्षिण लेबननमा हिज्बुल्लाहको पक्कै पनि सुरुङ तथा अन्य संरचनाको विशाल सञ्जाल छ। गाजामा प्रवेश गर्दा इजरेली सेनाको एउटा मुख्य उद्देश्य भनेको त्यहाँ निर्मित हमासको सुरुङ सञ्जाल ध्वस्त गर्नु थियो। एक वर्ष बितिसक्दा त्यो अहिलेसम्म हुन सकेको छैन।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।