इराकी जेलभित्र सयौँ महिला भोक हडतालमा

तस्बिरको क्याप्शन, थुप्रै बालबालिका आफ्ना आमासँग बग्दादस्थित एउटा जेलमा रहेको बताइन्छ
    • Author, मुराद शिशानी र निक स्टर्डी
    • Role, बीबीसी अरेबिक

इराकको राजधानी बग्दादमा उच्च सुरक्षा व्यवस्था मिलाइएको एउटा कारागारमा झन्डै ४०० महिलाले दोस्रो साता पनि अनशन जारी राखेको जानकारी बीबीसीले पाएको छ।

ती महिलाहरू इस्लामिक स्टेट समूहसँग आबद्ध भएको अभियोगमा जेलमा छन्। तर उनीहरूले आफूविरुद्ध चलाइएको मुद्दा निष्पक्ष नभएको दाबी गरेका छन्।

कारागारमा रहेका महिलामध्ये रुस, टर्की, अजरबैजान, युक्रेन, सिरिया, फ्रान्स, जर्मनी र संयुक्त राज्य अमेरिकाका नागरिक पनि छन्।

उक्त कारागारमा झन्डै १०० बालबालिका पनि रहेको ठानिएको छ।

आईएस भनेर पनि चिनिएको चरमपन्थी इस्लामिक स्टेट समूहले स्वघोषित इस्लामिक राष्ट्र स्थापित गर्ने उद्देश्यसहित सिरिया र इराकमा हिंसात्मक अभियान थालेको थियो। उसका लडाकुहरूले पाँच वर्षको अवधिमा धेरै मानिसको हत्या गर्नुका साथै हजारौँलाई दास बनाएका थिए।

सन् २०१७ मा असफल भएपछि आईएसका दशौँ हजार पूर्वलडाकुहरू समातिए।

तीमध्ये धेरै पुरुषहरूलाई रीत नपुर्‍याईकन मृत्युदण्ड दिइयो। तर हजारौँ महिला तथा बालबालिकालाई जेल चलान गरियो।

तस्बिरको क्याप्शन, केही अनशनकारीले पानी पनि खान अस्वीकार गरेका छन्

कतिपय विदेशी नागरिकलाई उनीहरूको देश फर्काइयो भने कतिपयलाई सिरिया र इराकका जेल पठाइयो।

बग्दादको कारागारबाट बीबीसी अरेबिकलाई पठाइएका भिडिओमा दुब्ला महिलाहरू शिथिल भएर ढुङ्गाको भुइँमा पल्टिरहेको देखिन्छ।

अनशनमा रहेका महिलाहरूले एप्रिल २४ तारिखयता खाना नखाएको बुझिएको छ।

अनशनको सुरुतिर उनीहरूले प्रत्येक दिन आधा गिलास पानी मात्र पिएका थिए। केही महिलाहरूले अब पानी पनि पिउन छोडेका छन्।

साना बालबालिका पनि भिडिओ फुटेजमा देखिन्छ। तीमध्ये धेरे चाहिँ कारागारभित्रै जन्मेको ठानिएको छ।

कारागारमा रहेका महिलाहरूले १५ वर्षदेखि आजीवन जेलसजाय पाएका छन्।

केही महिला मृत्युदण्डको सजाय पाउने पनि रहेका छन् जसको सजाय कार्यान्वयन हुन बाँकी रहेको बीबीसीले बुझेको छ।

आफूहरूले पाएको सजाय र हाल बसिरहेको अवस्थालाई लिएर ती महिलाहरू अनशनरत छन्।

गैरकानुनी रूपमा राखेको मोबाइल फोनबाट कुरा गर्दै एक महिलाले रिहा नभएसम्म केही नखाने बताइन्।

दश मिनेटको सुनुवाइको भरमा आफूलाई १५ महिनाको जेलसजाय सुनाइएको उनले बताइन्।

ती महिलाका अनुसार उनलाई बलपूर्वक अभियोगपत्रमा हस्ताक्षर गर्न लगाइएको थियो।

उनले हस्ताक्षर गरेको कागजपत्र अरेबिकमा थियो जुन भाषा उनी बुझ्दिनन्। हतियार बोकिरहेको अवस्थामा मो‍सुलबाट उनलाई पक्राउ गरिएको थियो। आफूविरुद्धको आरोप उनले अस्वीकार गर्दै आएकी छन्।

उनका अधिकांश दाबीलाई पुष्टि गर्न सम्भव छैन।

कैदीबन्दी महिलाहरूले आफ्नो देशका दूतावासहरूसँग नभएको र सुनुवाइका बेला कूटनीतिक प्रतिनिधिहरू उपस्थित नभएको बताएका छन्।

जेलमा धेरै जनाको मृत्यु भएको दाबी

हामीले कुरा गरेका महिलाहरूले विगत छ वर्षको अवधिमा रुसाफा कारागारभित्र ३० बालबालिकासहित झन्डै ६० कैदीबन्दीको ज्यान गइसकेको दाबी गरेका छन्।

एक महिलाका अनुसार कारागारभित्र पछिल्लो पटक ज्यान गुमाउने बच्चाको उमेर जम्मा तीन वर्ष थियो।

उक्त कारागार पूर्वी बगदादमा रहेको छ जहाँ आतङ्कवादसम्बन्धी आरोपमा नभई अरू अपराधमा दोषी ठहर गरिएका महिलाहरू बस्छन्।

कारागारको एउटा कोठामा ४० जनालाई राखिएको र उनीहरूलाई कुटपिट गरिनुका साथै अमानवीय व्यवहार समेत हुने गरेको कैदीबन्दीले बताएका छन्।

गत एप्रिलमा इराकी न्याय मन्त्रालयले उक्त कारागारबाट श्रव्य सामग्री चुहिएको भन्दै कारागारका निर्देशकलाई बर्खास्त गर्ने घोषणा गरेको थियो।

रुसाफा कारागारमा क्षमताभन्दा चारगुना बढी कैदीबन्दी रहेको पनि मन्त्रालयले स्वीकार गरेको थियो।

इराकी सरकारले महिला कैदीबन्दीहरूको अनशन अथवा कारागारको अवस्थाबारे बीबीसीसँग कुरा गर्न अस्वीकार गरेको छ।

हालै इराकी संसद्‌को मानवाधिकार समितिले आईएससँग जोडिएका विदेशी कैदीबन्दीहरूलाई उनीहरूको देश फर्काउने प्रक्रियामा तीव्रता दिन अधिकारीहरूलाई निर्देशन दिएको थियो।

इच्छाले आईएसमा जोडिएको र उनीहरूको अपराधमा पनि संलग्न भएको केही महिलाहरूले स्वीकारेका थिए भने केहीले झुक्याएर वा जबरजस्ती लगाइएको बताएका थिए।

उनीहरूमध्ये एकदमै चर्चा भएकामध्ये शमिमा बेगम थिइन्। ब्रिटेनमा विद्यालयमा पढ्दै गरेकी उनी सन् २०१५ मा सिरिया पुगेकी थिइन्।

उनी अहिले पनि देशको उत्तरी क्षेत्रस्थित बन्दीगृहमा कैद छिन्।

कैदीबन्दी महिलाहरूले गरेका दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन छ।