रगत पातलो बनाउने औषधि गोमन सर्पको विषलाई 'प्रभावहीन बनाउन उपयोगी'

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नेपालमा पनि सर्पदंशका कारण मानिसहरूको मृत्यु हुने गरेको छ
    • Author, डोमिनिक ह्युज
    • Role, स्वास्थ्य संवाददाता, बीबीसी न्यूज
  • पढ्ने समय: ४ मिनेट

चार देशका वैज्ञानिकहरूको एउटा समूहले रगतलाई पातलो बनाउन चिकित्सकहरूले सिफारिस गर्ने एउटा औषधि गोमन सर्पको विषलाई निष्क्रिय पार्न उपयोगी भएको पत्ता लगाएको छ।

अस्ट्रेलिया, क्यानडा, कोस्टारिका र यूकेका वैज्ञानिकहरूले 'हेपरिन' नामक उक्त औषधि गोमन सर्पले टोक्दा सस्तो 'एन्टिडोट' अर्थात् 'विषमारक औषधि'का रूपमा प्रयोग गर्न सकिने बताएका हुन्।

सर्पको टोकाइका कारण विश्वभरि प्रत्येक वर्ष १.३८ लाख जनाभन्दा बढीको ज्यान जान्छ। त्यसरी ज्यान गुमाउने अधिकांश मानिस अफ्रिका, दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका विपन्न ग्रामीण बस्तीमा बस्छन्।

त्यसबाहेक चार लाखभन्दा बढी मानिसमा सर्पले डसेको ठाउँमा रहेको शरीरको तन्तु मर्ने र कालो हुने समस्या 'नेक्रोसिस' उत्पन्न हुन्छ।

हेपरिनले कसरी काम गर्छ

तस्बिर स्रोत, Getty Images

भारत र अफ्रिकामा सर्पले टोकेका अधिकांश घटनाहरू गोमन सर्पसँगै सम्बन्धित हुन्छन्। गोमन सर्पको विषमा मानिसको शरीरका तन्तुहरू गलाउने वा मार्ने हानिकारक तत्त्वहरू हुन्छन्। 'हेपरिन' ले ती तत्त्वलाई निष्क्रिय पारिदिन सक्छ।

उक्त औषधि अरू सर्पको विषविरुद्ध भने प्रभावकारी हुँदैन।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हेपरिनले रगतलाई पातलो पारिदिन्छ र शरीरभित्र जम्न दिँदैन

सर्पदंशको उपचार गर्न अहिले प्रयोग गरिने ‘एन्टिभेनम’ ले कुनै एक सर्पको प्रजातिले टोकेको अवस्थामा मात्रै काम गर्छन्। तिनले तन्तु मर्ने वा क्षय हुने 'नेक्रोसिस' रोक्न सक्दैनन्।

त्यस्तो परिस्थितिमा हेपरिन सस्तो र लचिलो विकल्प हुने वैज्ञानिकहरूले औँल्याएका छन्।

मुसामा यो औषधिको सफल परीक्षण भइसकेको छ र अबको परीक्षण मानवमा गरिने भनिएको छ।

‘विश्वव्यापी लडाइँ’

उक्त शोधका वरिष्ठ लेखक एवं यूनिभर्सिटी अफ सिड्नीका ग्रेग नीलीले भने, “हामीले पत्ता लगाएको कुराले नाटकीय रूपमा गोमन सर्पले डस्दा हुने नेक्रोसिसले निम्त्याउने गम्भीर प्रकृतिका घाउचोट घटाउन सक्छ। अनि यसले विषको प्रभावलाई सुस्त बनाइदिन्छ र मानिसको ज्यान जोगिने दर पनि वृद्धि गर्न सक्छ।”

“विष र टक्सिनजस्ता जैविक पदार्थहरूको हकमा त्यसलाई ग्रहण गर्ने पक्ष अर्थात् मानवबाट पनि सहकार्यको आवश्यकता पर्छ। त्यही भएर हाम्रो उद्देश्यमा मानवमा भएको के कुराले नेक्रोसिस गराउन सर्पको विषसँग अन्तरक्रिया गर्छ र मृत्यु निम्त्याउँछ भन्ने जान्नु पनि थियो।”

तस्बिर स्रोत, Getty Images

उनले थपे, “नितान्त भिन्न प्रजातिबाट निकै भिन्न विषहरू लिँदा तिनले मानव कोशिकासँग अन्तरक्रिया गर्ने तरिका पनि कम हुने हामीले पत्ता लगाएका छौँ।"

उनका अनुसार विज्ञानको दृष्टिकोणबाट भन्नुपर्दा सर्पको विषले मानव शरीरका कोशिकासँग चार वा पाँच तरिकाले अन्तरक्रिया गर्छन्। उनले व्यापक प्रयोग गर्न मिल्ने खालका ‘विषमारक औषधि’ बनाएर धेरै प्रजातिका सर्पको विषलाई प्रभावहीन तुल्याउन सकिने बताए।

“गोपन सर्पको एन्टिडोटबाट सर्पदंशका कारण विश्वकै गरिब समुदायमा बस्ने मानिसहरूको मृत्यु र अङ्गभङ्ग गराउने विश्वव्यापी सङ्घर्षमा सहयोग पुग्ने अपेक्षा हामीले गरेका छौँ।”

‘आजीवन अपाङ्गता’

प्रमुख अनुसन्धानकर्ता टिआन डू यसलाई एउटा ठूलो प्रगति ठान्छिन्। उनी यूनिभर्सिटी अफ सिड्नीमा विद्यावारिधि गर्दै छिन्।

उनले भनिन्, “हेपरिन महँगो छैन, यो सर्वत्र पाइन्छ र यसलाई विश्व स्वास्थ्य सङ्गठनले पनि अत्यावश्यक औषधिमा सूचीकृत गरेको छ।”

मानिसमा परीक्षण भएपछि त्यसलाई तुरुन्तै प्रयोगमा ल्याउन सकिने भन्दै उनले गोमन सर्पले डसेको अवस्थामा उपचार गराउन त्यो "सस्तो, सुरक्षित र प्रभावकारी औषधि" हुने बताइन्।

'लिभरपुल स्कूल अफ ट्रपिकल मेडिसिन सेन्टर फर स्नेकबाइट रिसर्च एन्ड इन्टर्भेन्शन्स'का प्रमुख वैज्ञानिक निकोलस केस्वेलले सर्पदंश एउटा उपेक्षित रोग भएको बताउँछन्।

कम तथा मध्यम आय भएका देशका ग्रामीण समुदायमा सर्पदंशबाट मानिसहरू बढी प्रभावित रहेको उनले बताए।

“हामीले पत्ता लगाएको कुरा उत्साहजनक छ किनभने अहिलेका एन्टिभेनमहरू विषालु सर्पले डस्दा सानो ठाउँमा हुने गम्भीर प्रकारका समस्यामा प्रभावकारी देखिँदैनन्। त्यस्तो समस्या हुँदा निकै दुख्ने र फैलिने खालको सुजन हुन्छ, फोका उठ्छ र डसेको ठाउँमा तन्तु मर्छ।"

“त्यसबाट हातखुट्टा काम गर्न नसक्ने अवस्थामा पुग्छन् र अन्ततः तिनलाई शल्यक्रिया गरेर काट्नुपर्ने अवस्था वा आजीवन अपाङ्गता निम्त्याउन सक्छ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।