साफ यू-२० उपाधि जित्न नेपाल चुक्यो, बाङ्ग्लादेश ४-१ ले विजयी

तस्बिरको क्याप्शन, बाङ्ग्लादेशसँग हारेपछि नेपालका कप्तान कुशल देउवा मैदानमै रोएका थिए
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू
  • पढ्ने समय: ४ मिनेट

बाङ्ग्लादेशको यू-२० फुटबल टोलीका प्रशिक्षक मरुफुल हकले भनेका थिए, “नेपाली भूमि हाम्रा लागि 'लकी' हुने गर्छ।”

बुधवार सातदोबाटो एन्फा कम्प्लेक्सको मैदानमा खेलिएको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू-२० च्याम्पिअनशिप त्यस्तै भयो।

पहिलो हाफको अतिरिरक्त समयमा बाङ्ग्लादेशका खेलाडी मिराजुल इस्लामले फ्रीकिकबाट गोल गरेपछि फाइनल खेलको रूपरेखा नै परिवर्तन भयो।

त्यसपछि दोस्रो हाफमा बाङ्ग्लादेशले एकपछि अर्को गर्दै ती गोल थप्दै खेल पूरै आफ्नो पक्षमा पार्‍यो।

खेल बाङ्ग्लादेशले ४-१ ले जित्यो र चौथो प्रयासमा साफ यू-२० च्याम्पिअनशिपको विजेता बन्यो।

नेपाली खेलाडीहरूले घरेलु मैदान र घरेलु दर्शकको फाइदा उठाउन सकेनन्। बरु तेस्रो गोल खाएपछि असन्तुष्ट समर्थकहरूले मैदानमा बोतल फालिदिए।

नेपालले एक गोल नेपालले फर्कायो। तर त्यतिन्जेल धेरै ढिला भइसकेको थियो।

सन् २०२२ मा बाङ्ग्लादेशी महिला फुटबल टोलीले दशरथ रङ्गशालामा नेपाललाई नै पराजित गरी पहिलो पटक महिला साफ च्याम्पियनशिपको उपाधि जितेको थियो।

त्यसै गरी सन् १९९९ को दक्षिण एशियाली खेलकुद (साग गेम्स) मा त्यस्तै भएको थियो। फुटबलको फाइनलमा बाङ्ग्लादेशले नेपाललाई हराउँदै स्वर्ण जितेको थियो।

त्यसैले नै प्रशिक्षक मरुफुल हकले नेपालमा आफ्नो टोली 'लकी' हुने अपेक्षा गरेका थिए।

दुवैका लागि महत्त्वपूर्ण खेल

तस्बिरको क्याप्शन, साफ यू-२० उपाधिका लागि खेल्न लागेका दुवै टोली जितको रणनीति बुन्नमा व्यस्त छन्

यो फाइनल दुवै टोलीलाई धेरै अर्थमा महत्त्वपूर्ण थियो।

नेपालको लागि यो किन महत्त्वपूर्ण थियो भने नेपालले उपाधि नजितेको धेरै भइसक्यो। पछिल्लो समय उपाधिभन्दा आलोचनाका कारण चर्चामा रहने गरेको फुटबल खेलमा युवा टोली खुसी बाँड्न चाहन्थ्यो।

बाङ्ग्लादेश त तीन पटक फाइनलमा पुगेर पनि उपाधि जित्न चुकेको टोली हो। चौथो प्रयासमा मौका गुमाउने मूडमा बाङ्ग्लादेश पनि थिए।

यसै प्रतियोगिताको लीग चरणमा नेपाल र बाङ्ग्लादेश भेट हुँदा नेपालले खेल २-१ ले जितेको थियो।

नेपाली युवा टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले भनेका थिए, “फाइनल जहिले पनि नयाँ हुन्छ। नयाँ रणनीतिका साथ जित्नुपर्छ।”

बाङ्ग्लादेशका प्रशिक्षक मरुफुल हकले भनेका थिए , “हाम्रो फाइनलसम्मको यात्रा निकै उतारचढावपूर्ण रह्यो। मलाई थाहा छ नेपालसँग उनीहरूकै मैदानमा खेल्न सहज हुने छैन। तर हामी तयार छौँ।”

फाइनलमा पुग्दा बाङ्ग्लादेशको मनोबल भने चुलिएको थियो किनभने टोलीले सेमिफाइनलमा बलियो टोली भारतलाई पराजित गरेको छ।

भारत त्यही टोली थियो जसले दुई पटक बाङ्ग्लादेशलाई उपाधि जित्नबाट रोकेको थियो।

नेपाल तेस्रो पटक फाइनलमा

तस्बिरको क्याप्शन, नेपाल भुटानलाई हराउँदै फाइनलमा पुगेको हो

साफको युवा फुटबल प्रतिस्पर्धामा नेपाल यसअघिको दुई पटकको विजेता हो।

यसअघि सन् २०१५ र २०१७ मा क्रमशः यू-१८ र यू-१९ को स्वरुपमा खेलाइदा नेपालले उपाधि जितेको थियो।

सन् २०१५ को संस्करणमा नेपालले फाइनलमा भारतलाई सातदोबाटोको यही मैदानमा पराजित गरेर पहिलो उपाधि जितेको थियो।

सन् २०१७ मा भुटानमा भएको संस्करण राउन्ड रोबिन लीगको आधारमा खेलाइएको थियो र नेपाल च्याम्पिअन बनेको थियो।

त्यसपछिको दुई संस्करणमा नेपाल सेमिफाइनल भन्दा अगाडि बढ्न सकेन।

यसपालि प्रतियोगिता घुमेर नेपाल आइपुग्दा नेपाली टोली उपाधिको सङ्घारमा उभिएको थियो तर त्यो सम्भव भएन।

नेपाल र बाङ्ग्लादेशका यसअघिका खेल

तस्बिर स्रोत, ANFA

तस्बिरको क्याप्शन, लीग चरणमा नेपालले बाङ्ग्लादेशलाई २-१ले हराएको छ

नेपाल र बाङ्ग्लादेशका युवा टोलीबिच चार पटक भेट भइसकेको छ। तीमध्ये तीन पटक नेपालले जितेको छ भने एउटा खेल बराबरीमा टुङ्गिएको छ।

सन् २०१५ र २०१७ को संस्करणमा नेपालले बाङ्ग्लादेशलाई लीग चरणमा समान २-१ ले हराएको थियो भने सन् २०२२ को संस्करणमा १-१ को बराबरी खेलेको थियो।

संयोग यसपालीको लीगमा पनि नेपालले बाङ्ग्लादेशलाई २-१ ले नै पराजित गर्‍यो।

बलियो नेपाल

तस्बिरको क्याप्शन, अभ्यस्त मैदानमा खेल्न लागेको नेपाल यसपालि उपाधि जित्नेमा आशावादी थियो

नेपालको लागि घरेलु मैदानमा खेल हुनु मुख्य फाइदा थियो।

त्यसबाहेक अर्को फाइदा के थियो भने बाङ्ग्लादेशको पहिलो रोजाइका गोलरक्षक घाइते थिए र उनले फाइनल खेलेनन्।

बाङ्ग्लादेशको राष्ट्रिय टोलीका पनि गोलरक्षक रहेका मेहदी हसन बाङ्ग्लादेशको चर्चित क्लब वसुन्धराबाट व्यावसायिक फुटबल खेल्छन्।

सेमिफाइनलमा भारतसँग खेल्दा उनी घाइते भएका थिए। तर रमाइलो कुरा के हो भने वैकल्पिक गोलरक्षक मोहम्मद आशिफले टाइब्रेकरमा दुई पेनल्टी जोगाउँदै टोलीलाई फाइनलमा पुर्‍याउन उल्लेख्य भूमिका खेलेका थिए।

तस्बिरको क्याप्शन, गोलरक्षक जियारत शेखले नेपाललाई फाइनलमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएका छन्

नेपाली टोली पूर्ण फिट अवस्थामा रहेको र टोलीमा कुनै समस्या नभएको दाबी गरिएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, बाङ्ग्लादेशसँग फाइनल खेल्नुअघि नेपाली टोलीको 'प्रतिबद्धता' (भिडिओ : कमल परियार)

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।