भेनेजुएलामा उपराष्ट्रपतिद्वारा अन्तरिम राष्ट्रपतिको सपथ ग्रहण, 'आफू निर्दोष रहेको' न्यू योर्क अदालतमा मदुरोको बयान
तस्बिर स्रोत, Getty Images
भेनेजुएलाको अन्तरिम राष्ट्रपतिका रूपमा डेल्सी रोड्रिगेसले अपदस्थ नेता निकोलास मदुरोको रिहाइको माग गर्दै सुरु भएको संसदीय सत्रमा पदको शपथ लिएकी छन्।
सन् २०१८ यता उपराष्ट्रपति रहेकी ५६ बर्सिया रोड्रिगेसले शनिवार राति अमेरिकी फौजले छापा मारेर कब्जामा लिएका मदुरो र उनी पत्नीको "अपहरण" बाट आफू पीडामा रहेको बताएकी छन्।
त्यसको दुई घण्टाअघि न्यू योर्कको अदालत कक्षमा भएको एउटा नाटकीय दृश्यमा मदुरोले आफू अझै भेनेजुएलाको राष्ट्रपति रहेको र आफू लागु औषध तस्करी र आतङ्कवादलगायतका चारवटा अभियोगमा दोषी नभएको बताएका छन्।
यसैबीच अमेरिकाले संयुक्त राष्ट्रसङ्घको चर्को आलोचनाको सामना गरेको छ। तर अमेरिकी राजदूतले विश्वको सबैभन्दा ठूलो ऊर्जा भण्डार "न्यायबाट भागेको" अवैध नेताको हातमा छोड्न नसकिने प्रतिक्रिया दिएका छन्।
अमेरिकी विदेश मन्त्री मार्को रुबिओ र रक्षा मन्त्री पिट हेग्सेथ सहितका राष्ट्रपति डोनल्ड ट्रम्पका अधिकारीहरूले भेनेजुएलाबारे अमेरिकी सांसदहरूलाई बताएका छन्।
अमेरिकी सिनेटका एक उच्च डेमोक्र्याट चक शुमरले त्यस्तो ब्रिफिङ "स्पष्ट नभएको" र "सन्तोषजनक" पनि नभएको बताएका छन्। तर सभामुख माइक जनसनले भने कारबाही "निर्णायक र न्यायोचित" भएको बताएका छन्।
यसअघि भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले "म अझै राष्ट्रपति हुँ" भनेका थिए।
न्यू योर्क अदालतमा उनले लागु औषध र अन्य अभियोगहरूमा आफू दोषी नभएको बताएका हुन्।
उनी र उनकी पत्नी सिलिया फ्लोरेसलाई शनिवार कराकसस्थित उनीहरूको निवास हाताबाट पक्राउ गरेर। विशेष सैन्य कारबाहीअन्तर्गत अमेरिका लगिएको थियो।
सोमवारको सुनुवाइ एक सर्वसाधारण र मदुरोबीचको तनावयुक्त संवादसँगै सकिएको अदालतमा पुगेका हाम्रा संवाददाताले बताएका छन्।
एक जना सर्वसाधारणले मदुरोलाई स्पेनी भाषामा उनले आफूले गरेका कामको "मूल्य चुकाउनुपर्ने" भनेर चिच्याएर बताएका थिए।
मदुरोले उनीतिर फर्किएर म "अपहरण गरिएको राष्ट्रपति" र "युद्ध बन्दी" हुँ भनेर जवाफ फर्काए।
त्यसपछि हतकडी लगाएका उनलाई श्रीमतीको पछिपछि अदालतको पछाडिको ढोकाबाट बाहिर निकालिएको थियो।
"म एक सभ्य मानिस हुँ। म अझै पनि मेरो देशको राष्ट्रपति हुँ," मदुरोले ३० मिनेट चलेको उक्त सुनुवाइको क्रममा भनेका थिए।
विपक्षी नेत्री मचाडोले के भनिन्?
तस्बिर स्रोत, Reuters
भेनेजुएलाकी विपक्षी नेत्री मारिआ कोरिना मचाडोले फक्स न्यूजसँग बोल्दै निकोलास मदुरोविरुद्ध आफू लडेको चुनावका बारेमा चर्चा गरेकी छन्।
मदुरोबारे बोल्दै उनले भनिन्, "उनले प्रणाली र चुनावी परिषद्लाई पूर्ण रूपमा नियन्त्रणमा लिए" र भेनेजुएलामा स्वतन्त्र चुनाव गराउन कति असम्भव छ भनेर देखाए। तर हामीले उनलाई भारी मतले हराएका थियौँ", उनले भनिन्।
यसअघि एक्समा एउटा विज्ञप्ति जारी गर्दै मचाडोले भेनेजुएलाका मानिसहरूको तर्फबाट डोनल्ड ट्रम्पलाई धन्यवाद दिएकी थिइन्। "भेनेजुएलाको स्वतन्त्रता नजिकै छ र चाँडै नै हामी हाम्रो भूमिमा उत्सव मनाउने छौँ," उनले भनिन्।
मचाडोले आफू "सकेसम्म चाँडो" भेनेजुएला "फर्किने योजनामा रहेको" पनि बताइन्।
उनी धेरै महिनादेखि लुकेर बस्दै आएकी थिइन्। उनका अनुसार त्यो "बढी उपयोगी" थियो किनभने फर्किनु उनका लागि असुरक्षित थियो।
उनले भेनेजुएलामा "१४ जना पत्रकारलाई पक्राउ गरिएको" र त्यहाँ "तनाव आज मात्रै पनि बढेको" बताइन्। उनले अन्तरिम राष्ट्रपति "डेल्सी रोड्रिगेसलाई विश्वास गर्न नसकिने" बताइन्।
'मदुरोलाई पक्राउ गर्ने अधिकार अमेरिकासँग छ'
तस्बिर स्रोत, Reuters
यसअघि, अमेरिकाका उपमहान्यायाधिवक्ता टोड ब्लान्चले सञ्चारमाध्यमसँग बोल्दै निकोलास मदुरोजस्ता व्यक्तिलाई पक्राउ गर्ने 'पूर्ण कानुनी अधिकार' अमेरिकासँग रहेको बताएका छन्।
"यो कुनै देश विरुद्ध गरिएको आक्रमण होइन," र सप्ताहान्तमा भेनेजुएलाका नेतालाई पक्राउ गर्नु "कुनै अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन पनि होइन," एनबीसी न्यूजसँगको केहीअघिको अन्तर्वार्तामा उनले भने।
त्यस्तै अमेरिकी सिनेटमा शीर्ष डेमोक्र्याट रहेका चक शुमरले रुबियोसँगको कुराकानीप्रति प्रतिक्रिया दिँदै एउटा पूर्ण विज्ञप्ति जारी गरेका छन्।
"यद्यपि यो ब्रिफिङ धेरै बृहत् र लामो थियो, यसले पहिलेभन्दा धेरै प्रश्नहरू उब्जायो," न्यू योर्कका सिनेटरले भने। "भेनेजुएलालाई अमेरिकाले चलाउने उनीहरूको योजना अस्पष्ट र असन्तोषजनक थियो।"
"मैले कुनै आश्वासन पाइनँ कि हामी अन्य देशहरूमा पनि यस्तै गर्ने प्रयास गर्दैनौँ भनेर। र निष्कर्षमा जब अमेरिका यस किसिमको सत्ता परिवर्तन र तथाकथित राष्ट्रनिर्माणमा संलग्न हुन्छ, यसले सधैँ अन्ततः अमेरिकालाई चोट नै पुर्याउँछ। यो फेरि हुनेछ भन्ने महसुस गर्दै ब्रिफिङ हुँदै गर्दा म त्यहाँबाट निस्किएँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन