नयाँ मन्त्रिमण्डलप्रति विज्ञहरू किन आशावादी
तस्बिर स्रोत, EPA
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ५ मिनेट
शुक्रवार गठित प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन' नेतृत्वको मन्त्रिपरिषद्मा विभिन्न पृष्ठभूमि र समुदायका व्यक्ति समेटिएका छन्।
जानकारहरूले यो सरकारको संरचना युवादेखि महिला प्रतिनिधित्वका हिसाबले एकदम सकारात्मक देखिएको बीबीसीलाई बताएका छन्। उनीहरूले मन्त्रिपरिषद्मा पढेलेखेका धेरै युवाहरूको सहभागिताले ऊर्जा थप्ने उल्लेख गरे।
पन्ध्रसदस्यीय मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री रहेका छन् भने लेखकदेखि, अर्थशास्त्री, पत्रकार, अध्यापकलगायत मन्त्री बनेका छन्।
शुक्रवार पद तथा गोपनीयताको शपथ गरेका प्रधानमन्त्रीसहित मन्त्रीहरूले कार्यभार पनि सम्हालिसकेका छन्।
मन्त्रिपरिषद्को पहिलो बैठक पनि सम्पन्न भइसकेको छ भने यसका निर्णयहरू पनि सार्वजनिक भइसकेका छन्।
'सकारात्मक ऊर्जा थप्ने'
तस्बिर स्रोत, Nepal Photo Library
मन्त्रिमण्डलमा युवाहरूको वर्चस्व रहँदा अहिलेको समयमा त्यसले सकारात्मक ऊर्जा पनि थप्ने कतिपय जानकारहरूले बताएका छन्।
त्यस्तैमध्ये एक सरु जोशीले बीबीसी न्यूज नेपालीसँग भनिन्, "यसलाई अझै राम्रो बनाउन सकिन्थ्यो होला, तर झट्ट हेर्दा नसोचिएका अनुहार मन्त्रिमण्डलमा आएका छन्। नयाँ ऊर्जा ज्ञान लिएर आएका छन्।"
"उही पुराना अनुहार हेर्न चाहने मानिसहरूलाई यो नपचेको हुन सक्छ। तर म त स्वागत गर्छु। यसले सकारात्मक सन्देश प्रवाह गर्ने छ," उनले अगाडि थपिन्।
मुलुकको आर्थिक स्वास्थ्य धेरै मजबुत नदेखिएका बेला ठूलो आकारको मन्त्रिमण्डल नबनाउनु पनि सकारात्मक कदम भएको जोशीको तर्क छ।
"अरू मन्त्रालयहरू गाभिएर १५ सदस्यीय मात्र मन्त्रिपरिषद् बनाइएको छ। यो पनि राम्रो कुरा हो," उनले भनिन्।
महिला प्रतिनिधित्व 'सकारात्मक'
महिलाहरूको प्रतिनिधित्वको हिसाबले पनि मन्त्रिपरिषद् सकारात्मक देखिएको शिक्षाविज्ञ रेशु अर्याल बताउँछिन्।
विगतका मन्त्रिपरिषद्हरूमा ३३ प्रतिशत सहभागिता हुन नसकेको भन्दै आलोचना हुँदै आएको थियो। यसपालि त्यो अवस्था देखिएन।
"पन्ध्र जनामध्ये पाँच जना महिला हुनुहुन्छ। अरू समुदायको पनि प्रतिनिधित्व छ। मलाई त राम्रो लागेको छ," बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।
बादी समुदायबाट सीता बादीलाई मन्त्रिमण्डलमा समावेश गरिनु अर्को सकारात्मक पक्ष भएको अर्यालको ठम्याइ छ।
"ऊर्जावान् युवाहरू आउनुभएको छ। संरचनागत सुधार हुनुपर्छ भनेर लागिपरेको विवेकशील अभियानबाट पनि केही आउनुभएको छ। मलाई त ऊर्जावान् नेतृत्व आएजस्तै महसुस भएको छ," उनले अगाडि थपिन्।
विगतमा मेअर भएयता कुनै प्रकारको आर्थिक अनियमिततामा नमुछिनु प्रधानमन्त्री बालेन्द्र शाहको सबल पक्ष भएको अर्यालले बताइन्।
पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय
तस्बिर स्रोत, RSS
नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले जेन जी आन्दोलन जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनबारे निर्णय गरेको छ।
यसै बैठकबाट सरकारको प्रवक्ता नियुक्त भएका शिक्षा तथा विज्ञान प्रविधिमन्त्री सस्मित पोखरेलले बैठकपछि उक्त जानकारी दिएका हुन्।
पोखरेलका अनुसार उक्त प्रतिवेदन कार्यान्वयन गर्नका लागि सुरक्षा निकायका हकमा अध्ययन समिति गठन गरी सो समितिले भनेबमोजिम गरिने छ।
अन्यका हकमा भने आयोगका सिफारिसहरू तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिने निर्णय भएको पोखरेलले बताए।
साथै बैठकले शासकीय सुधारका १०० कार्यको सूची पारित गरेको छ। उक्त कार्यसूची भने भोलि शनिवार मात्र सार्वजनिक गरिने पोखरेलले जानकारी दिए।
गायकदेखि लेखक र विज्ञसम्म
प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैँसँग राखेका छन्। काठमाण्डू उपत्यकाका पूर्वमेअर गायक र इन्जिनियर पनि हुन्। उनी झापा क्षेत्र नं ५ बाट जितेका हुन्।
तनहुँ क्षेत्र नं २ बाट निर्वाचित रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
विगतमा नेपाली कांग्रेसमा आबद्ध रहेका अर्थशास्त्री वाग्ले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका छन्।
गोरखा क्षेत्र नं १ बाट चुनाव जितेर गृहमन्त्री बनेका सुधन गुरुङसँग सामाजिक क्षेत्रमा काम गरेको अनुभव छ। उनी हामी नेपाल नामक संस्थामा आबद्ध भएर काम गरेका छन्।
रास्वपाबाटै यसअघि शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका शिशिर खनाल यसपालि परराष्ट्रमन्त्री बनेका छन्। उनी काठमाण्डू क्षेत्र नं ६ बाट निर्वाचित भएका हुन्।
रास्वपाको अन्तर्राष्ट्रिय विभागका प्रमुख समेत रहेका खनालले टीच फर नेपाल नामक संस्थामार्फत् शिक्षा क्षेत्रमा काम गरेका छन्।
पेसाले इन्जिनिअर रूपन्देही क्षेत्र नं १ बाट निर्वाचित सुनील लम्सालले भौतिक पूर्वाधार तथा यातायात सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
बालेन्द्र शाह काठमाण्डू महानगरका मेअर रहेका बेला लम्सालले उनका पूर्वाधार सल्लाहकारका रूपमा काम गरिसकेका छन्।
तस्बिर स्रोत, Nepal Photo Library
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका विराजभक्त श्रेष्ठ काठमाण्डू क्षेत्र नं ८ बाट निर्वाचित भएका हुन्।
विगतमा रास्वपाबाटै युवा तथा खेलकुदमन्त्री सम्हालिसकेका श्रेष्ठले विवेकशील पार्टीबाट राजनीति सुरु गरेका हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका खडकराज पौडेल कास्की क्षेत्र नं १ बाट निर्वाचित भएका हुन्।
किताब समेत लेखेका पौडेलले विसं २०७९ को स्थानीय चुनावमा पोखराको मेअर पदका लागि प्रतिस्पर्धा गरे पनि पराजित भएका थिए।
शिक्षा, विज्ञान तथा प्रविधि; युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी पाएका सस्मित पोखरेल काठमाण्डू क्षेत्र नं ५ बाट निर्वाचित भएका हुन्।
बालेन्द्र शाह काठमाण्डूका मेअर रहेका बेला सहरी योजनासम्बन्धी सहायक विज्ञका रूपमा काम गरेका पोखरेलले विवेकशील पार्टीबाट राजनीति थालेका हुन्।
समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी सुनसरीकी निशा मेहताले स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालयको जिम्मेवारी पाएकी छन्।
नर्सिङ पढेकी मेहता विसं २०७९ को चुनावमा पनि रास्वपाको समानुपातिक सूचीमा थिइन्, तर त्यस बेला उनी चुनिइनन्।
भूतपूर्व सञ्चारकर्मी विक्रम तिमिल्सिना नयाँ सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका छन्।
नुवाकोट क्षेत्र नं १ बाट निर्वाचित तिमिल्सिनासँग सुरक्षा व्यवस्थापन, सुशासनलगायत विषयमा अध्यापन गरेको अनुभव छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन अनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएकी प्रतिभा रावल समानुपातिक प्रणालीअन्तर्गत सांसद बनेकी हुन्।
रास्वपाकी सहायक प्रवक्ता समेत रहेकी रावल पनि पत्रकारिता पृष्ठभूमिबाटै आएकी हुन्।
यसपालि चितवन क्षेत्र नं ३ बाट निर्वाचित सोविता गौतमले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएकी छन्।
अघिल्लो चुनावमा काठमाण्डू क्षेत्र नं २ बाट जितेकी गौतमले पनि पत्रकारिता क्षेत्रमा काम गरेकी छन्।
कृषि तथा पशुपन्छी विकास अनि वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी कञ्चनपुरकी गीता चौधरी नेकपा एमाले हुँदै रास्वपामा जोडिएकी हुन्।
थारू समुदायकी गीताले सीमान्तकृत तथा विपन्न समुदायका मानिसलाई कानुनी सहायता प्रदान गर्दै आएकी थिइन्।
दीपककुमार साह तात्कालिक श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलाई महोतरी क्षेत्र नं २ मा पराजित गर्दै निर्वाचित भएका हुन्।
रास्वपाले साहलाई सोही मन्त्रालयको जिम्मेवारी दिएको छ। जलविद्युत् क्षेत्रमा उनीसँग २३ वर्ष लामो अनुभव रहेको रास्वपाको बेवसाइटमा उल्लेख छ।
बादी समुदायकी सीता बादीलाई रास्वपाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सुम्पेको छ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सांसद बनेकी बादी विगतमा विभिन्न सामाजिक कार्यका साथै पत्रकारितामा सक्रिय रहँदै आएकी थिइन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन