६७ जना यात्रु बोकेको अजरबैजानको विमान काजाकस्तानमा दुर्घटना

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, दुर्घटनामा परेको जहाजमा चालक दलका सदस्यसहित ६७ जना यात्रारत थिए
पढ्ने समय: २ मिनेट

अजरबैजानको एउटा यात्रुवाहक जहाज काजाकस्तानमा दुर्घटनामा परेको स्थानीय अधिकारीहरूले बताएका छन्।

उक्त जहाज काजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको बताइएको छ। जहाजमा ६२ जना यात्रु र ५ जना चालकदलका सदस्यहरू रहेको बताइएको छ।

अजरबैजान एअरलाइन्सको उक्त जहाज खसेपछि उद्धारका लागि आकस्मिक सेवाका अधिकारीहरू नजिक जाँदै गर्दा त्यसमा आगो लागेको थियो। पछि जहाजमा लागेको आगो निभाइएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिर

काजाकस्तानको आकस्मिक सेवासम्बन्धी मन्त्रालयले उक्त दुर्घटनामा केही मानिसहरू बच्न सफल भएको जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार कम्तीमा ३० जना यात्रुहरू बच्न सफल भएका छन्। त्यसमध्ये अधिकांशलाई अस्पताल पुर्‍याइएको स्थानीय अधिकारीहरूले बताएका छन्।

अजरबैजान एअरलाइन्सको उडान नम्बर जे२-८२४३ को जहाज अजरबैजानको राजधानी बाकुबाट चेचन्याको ग्रोज्नीतर्फ गइरहेको थियो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अजरबैजान एअरलाइन्सको उक्त जहाज खसेपछि उद्धारका लागि आकस्मिक सेवाका अधिकारीहरू नजिक जाँदै गर्दा त्यसमा आगो लागेको थियो

कुहिरोका कारण उक्त जहाजलाई काजाकस्तानतर्फ मोडिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उक्त दुर्घटनाको अजरबैजान र काजाकस्तान दुवैले अनुसन्धान सुरु गरिएको जनाएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।