बडीमालिका: हरेक वर्ष सरकार, सर्वसाधारण र सेनाले विशेष पूजा गर्ने 'भूस्वर्ग'

तस्बिर स्रोत, Hem Raj regmi

तस्बिरको क्याप्शन, वर्षमा दुई समयमा मात्र बडीमालिकाको पूजा गर्ने गरिन्छ
    • Author, हिक्मतबहादुर रावल
    • Role, धनगढी
  • पढ्ने समय: ५ मिनेट

चार हजार २ सय मिटरभन्दा बढी उचाइमा अवस्थित बडीमालिकाको यो वर्षको पूजा सरकार र सर्वसाधारणले गत शुक्रवार साउन शुक्ल चतुर्दशीमा सम्पन्न गरेका छन्।

पुजारी नेत्रराज पाध्यायका अनुसार त्यहाँ नेपाली सेनाले भने जेठमा पूजा गर्ने चलन छ।

मालिका पर्वतस्थित मन्दिरमा वर्षको दुई पटक पूजा हुन्छ।

बडीमालिकाको दर्शनका लागि देश विदेशबाट आएका हजारौँले पूजा अर्चना गरेको मालिकाका पुजारी नेत्रराज पाध्यायले बताए।

''विगतमा भन्दा यसपालि भक्तजनहरूको घुइँचो बढी लाग्यो,'' उनले भने।

बडीमालिका पुगेर फर्किएका धनगढीका सुरेश जोशी त्यहाँको प्राकृतिक सौन्दर्यको बयान गर्दै भन्छन्, ''आँखाले हेरेर नभ्याइने, हरिया कार्पेट फिँजाएझैँ लाग्ने २२ पाटन, कैयन प्रजातिका रङ्गीचङ्गी फूलहरू, बहुमूल्य जडीबुटी पुग्न गाह्रो छ, पुगेपछिको आनन्द अतुलनीय छ। उनले भने, ''वैकुण्ठ रहे छ मालिका।''

दर्शनार्थीहरूको घुइँचो लाग्ने भनेकै साउन शुक्ल चतुर्दशीमा हो। यो बेला श्रद्धालुहरूको जयजयकारले मालिका पर्वत गुञ्जायमान हुन्छ, पाध्याय भन्छन्, ''साउन १६ गतेबाटै पूजा थालिएको थियो। मन्दिरको पुनः निर्माण गर्दा भएका त्रुटिहरू क्षमा होऊन् भन्ने उद्देश्यले क्षमायाचना पूजा पनि गरियो।''

तस्बिर स्रोत, Hem Raj Regmi

तस्बिरको क्याप्शन, बडीमालिका पुग्न भिरको बाटो हिँड्नुपर्छ

मालिकाको महिमा

एकजना ज्योतिषाचार्य मनिराज जोशीका अनुसार स्कन्दपुराणको मानसखण्डमा बडीमालिकाको महिमा उल्लेख गरिएको छ।

जनश्रुति अनुसार, सतीदेवीको मृत शरीर महादेवले बोक्दै पृथ्वी भ्रमण गर्दा उनका अङ्गहरू विभिन्न स्थानमा खसे। बाजुराको मल्लागिरी पर्वत – बडीमालिकामा उनको बायाँ काँध खसेको मानिन्छ।

देवताहरूले यहाँ सयौँ वर्ष घनघोर तपस्या गर्दा श्रावण शुक्ल चतुर्दशीका दिन भगवती स्वयं प्रकट भएको विश्वास गरिन्छ।

बडीमालिका दर्शनले इच्छाअनुसार वरदान प्राप्त हुने जनविश्वासले भारतका कुमाउँ, गढवाल, पिथौरागढ लगायतका क्षेत्रबाट पनि हजारौँ तीर्थालु यहाँ आउने गर्छन्। सुदूरपश्चिममा मालिकाको पूजनपछि मात्रै अन्य देवी–देवताको पूजा गर्ने परम्परा छ।

पुजारी नेत्रराज पाध्यायका अनुसार देवीकी पनि महादेवी मानिन्छिन् मालिका। उनले भने,'' नवभगवतीमध्ये जेठी बहिनी मालिका समानको उच्च स्थानमा रहेको तीर्थ अन्यत्र छैन।"

तस्बिर स्रोत, Suresh Joshi

सरकारी पूजाको परम्परा

बडीमालिकामा हरेक वर्ष सरकारको तर्फबाट पनि पूजा गर्ने गरिन्छ।

मालिकाका पुजारी नेत्रराज पाध्यायका अनुसार देश र देशवासीले सङ्कट बेहोर्न नपरोस् भन्ने कामना गर्दै राष्ट्रका नाममा परापूर्व कालदेखि सरकारी पूजा गर्ने चलन छ।

जुम्ला, कालिकोट, अछाम, बाजुरा, डोटीबाट सरकारी प्रतिनिधिहरू डोली, पेटारो, पूजा सामग्रीसहित बडीमालिका पुग्ने गर्छन्।

जुम्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले १८ दिनको यात्रा तय गरेर जुम्ला प्रशासनको टोली बडीमालिका पुगेका बताए। ''सिधै जान नपाइने, विभिन्न ठाउँमा मन्दिरको पूजा गर्नु पर्ने भएका कारण त्यहाँ पुग्न लामो समय लाग्छ'', उनले भने।

बडीमालिकाका लागि जुम्लाबाट चाँदीका गहना, सुनको टीका पठाउने चलन रहेको उनले बताए। यसरी पूजाको डोलीसहित बडीमालिका हिँडेको टोलीलाई सेनाको टुकडीले सलामी दिँदै बाजागाजा र बिगुल फुकेर भव्य बिदाइ गर्ने गरिन्छ।

पुजारी पाध्याय भन्छन्, ''बडीमालिकाको पूजाका लागि तत्कालीन सिंजा राज्यको प्रतिनिधित्व गर्दै जुम्लाबाट सरकारी पूजा सामग्री, डोली र डोटी राज्यको प्रतिनिधित्व गर्दै डोटीबाट सरकारी पूजा सामग्री –पेटारो पठाउने प्रचलन हाल पनि कायमै छ।"

डोटी जिल्ला प्रशासन कार्यालयबाट जाने टोलीले गोरखनाथको मन्दिरबाट तथा जुम्ला जिल्ला प्रशासन कार्यालयको टोलीले चन्दननाथको मन्दिरबाट विशेष पूजा सामग्री लिएर जानुपर्ने परम्परा छ।

पृथ्वीनारायण शाहको पालादेखि नै बडीमालिकामा सरकारी पूजा परम्परा रही आएको जानकारहरू बताउँछन्। तत्कालीन पश्चिम नुवाकोट, सिञ्जा एवं डोटी राज्य जितेर देश एकीकरण गर्न गोरखनाथले शाहलाई बडीमालिका देवीको पूजा गर्न पठाएको लोकोक्ति छ।

''शान्ति र समृद्धिको कामना गर्दै सरकारको कोषबाट सरकारका प्रतिनिधिद्वारा पूजा गरिने भएका कारण सरकारी पूजा भनिएको हो'' बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का भन्छन्। धनगढी उपमहानगरपालिकाले पनि यो वर्षदेखि बडीमालिकामा सरकारी पूजाको सुरुवात गरेको छ।

कष्ट अनेक

बडीमालिका पुग्न चार हजार दुई सय मिटर अग्लो पर्वत, उकालोओरोलो र जोखिमपूर्ण बाटोको यात्रा गर्नुपर्छ। एक पटक पाइला चुक्दा ज्यानै जोखिममा पर्छ।

सरकारी पूजामा पहिलो पटक सहभागी भई फर्किएका बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी शितलबहादुर रावल भन्छन्, "त्यति सुन्दर ठाउँ संसारमै छैन जस्तो लाग्छ। तर खानेपानी, बस्ने बास, शौचालय, कुनै सुविधा छैन दर्शनार्थीले धेरै कष्ट भोग्नुपर्छ। यस पटक ५० हजारभन्दा बढी मानिस आए होलान्, तर व्यवस्थापन शून्य छ।"

धनगढी उपमहानगरकी उपप्रमुख कन्कलाकुमारी रानाले भनिन् "फर्कँदा भिरमा लडेर चोट लाग्यो, धन्न साथीहरूले बचाए। मृत्युसँग लडेर फर्किनुपर्छ। सुन्दर र आस्थामय स्थल हो, तर सरकारको ध्यान पुगेको देखिँदैन।"

हरेक वर्ष ज्यान लिने भिर

हरेक वर्ष बडीमालिका फर्किने क्रममा कतिपय दर्शनार्थीहरू दुर्घटनामा पर्छन्। ''अहिलेसम्म कतिले ज्यान गुमाए भन्ने रेकर्ड हामीसँग छैन। यसपालि भने दुई जनाले ज्यान गुमाएको जानकारी प्राप्त भएको छ'' , बाजुरा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकबाल हवारीले भने।

नाट्यश्वरी मन्दिरतिरको ओरालो झर्ने क्रममा काठमाण्डू गोकर्णेश्वर–५ नारायण टारका विप्लव ओझा र बर्दियाका ७५ वर्षीय डल्लीराज घाडासैनीको भिरमा लडेर मृत्यु भयो। यसअघि पनि धेरैले ज्यान गुमाइसकेको स्थानीय बासिन्दाहरू बताउँछन्।

अफ्ठयारो ठाउँमा रेलिङको व्यवस्था गर्न सकिए, बाटोलाई अलिकति व्यवस्थित गर्न सकिए, यस्ता घटना कम हुन्थे होलान्, बाजुराका पत्रकार लक्ष्मी पाध्याय भन्छन्, ''दुई जना राष्ट्रपति नै पुगे मालिका।"

पोहोरसाल मालिका पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले त भाषणमै धर्तीकै स्वर्ग भने।

तस्बिर स्रोत, Suresh Joshi

त्रिवेणी विवाद, कर्णाली र सुदूरपश्चिमको आ–आफ्नै दाबी

त्रिवेणी, बडीमालिकाको प्रमुख आकर्षण हो। लामो यात्रा पार गर्दै यहाँ पुग्ने भक्तजनहरूले त्रिवेणीमा स्नान गरेर मात्रै मालिका दर्शन गर्नु पर्ने मान्यता छ।

जसका कारण भक्तजन एक रात यही बिसाएर नुहाइधुवाइ गरी पितृ पूजा सकेर भोलिपल्ट सबेरै बडीमालिका धाम उक्लिने गर्छन्।

तर अहिले यही क्षेत्र विवादमा परेको छ। कर्णाली प्रदेश सरकारले त्रिवेणी पाटन क्षेत्र आफ्नो सिमानामा पर्ने दाबी गर्दै करोडौँको लागतमा भौतिक संरचना निर्माण सुरु गरेको छ भने बडीमालिका, त्रिवेणी नगरपालिकाले भूभाग आफ्नो भएको दाबी गरिरहेको छ। विवाद स्थानीय तह हुँदै प्रदेशसम्म पुगेको छ।

तस्बिर स्रोत, suresh Joshi

बडीमालिकाका नगर प्रमुख अमर खड्का सिमानाको विवादले मालिकाको संस्थागत विकास हुन नसकेको बताउँछन्। ''दीर्घकालीन योजना विना, ऐतिहासिक, पुरातात्त्विक र प्राकृतिक सौन्दर्य नास्ने गरी कङ्क्रिटका संरचना एकतर्फी रूपमा बनाइँदैछन्। यो राम्रो होइन। आफ्नो भनेर कर्णालीको हस्तक्षेप बढ्दै गएको छ। यस्तै हो भने सीमा विवाद बढ्न सक्छ'', उनले भने।

सान्नीत्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंहले त्रिवेणीका बारेमा बाजुराले अनावश्यक विवाद सिर्जना गरेको बताइन्। यो विषयमा जुम्ला उच्च अदालतमा मुद्दा नै चलिरहेको छ, उनले भनिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।