भारतमा एक बेहुली, दुई बेहुला भएको 'अनौठो' विवाहबारे उठेका प्रश्न

तस्बिर स्रोत, ALOK CHAUHAN

तस्बिरको क्याप्शन, प्रदीप नेगी (बायाँ) र कपिल नेगी (दायाँ) ले सुनीता चौहान (बीचमा) सँग विवाह गरेका हुन्
    • Author, सौरभ चौहान
    • Role, बीबीसी हिन्दी
  • पढ्ने समय: ७ मिनेट

भारतको हिमाचल प्रदेशस्थित सिरमौर जिल्लाको शिलाई गाउँमा हालै भएको एउटा 'अनौठो' विवाहबारे निकै चर्चा र बहस भइरहेको छ।

कुम्हाट गाउँकी सुनिता चौहानले दुई सहोदर दाजुभाइ प्रदीप नेगी र कपिल नेगीसँग एकैसाथ विवाह गरेकी हुन्।

उक्त विवाह अनुसूचित जनजातिको दर्जा पाएको हाटी समुदायको एउटा प्रचीन बहुपति प्रथाअनुरूप भएको हो। त्यसलाई स्थानीय भाषामा 'जोडीदारा' वा 'जाजडा' भनिन्छ।

उक्त विवाहमा सयौँ गाउँले तथा आफन्तहरू सहभागी भए। पारम्पारिक व्यञ्जन, लोकगीत तथा नृत्यले उक्त समारोहलाई स्मरणीय बनाएको थियो।

सांस्कृतिक परम्पराको उदाहरण बनिरहँदा उक्त विवाहबारे कैयौँ प्रश्न पनि खडा भएका छन्।

बीबीसीले विवाहितका परिवारजनसँग यसबारे कुरा गर्ने कोसिस गरेको थियो तर बारम्बारको अनुरोधपछि पनि उनीहरूले कुनै टिप्पणी गरेनन्।

कति पुरानो परम्परा?

तस्बिर स्रोत, ALOK CHAUHAN

तस्बिरको क्याप्शन, प्रदीप नेगी राज्य सरकारको जलशक्ति विभागमा काम गर्छन् भने कपिल विदेशमा हस्पिटालिटी क्षेत्रमा काम गर्छन्

दुलहाहरू र दुलहीको गाउँ १५ किलोमिटरको दूरीमा छ। उक्त क्षेत्र प्रदेश राजधानी शिमलाबाट करिब १३० किलोमिटरको दुरीमा पर्छ।

दुवै परिवार हाटी समुदायका हुन्। उक्त समुदायको मूल रूपमा सिरमौर जिल्लाको गिरीपार (गिरी नदीको पारि) क्षेत्रका अलावा उत्तराखण्डको जोनसार–बाबर तथा रवाई–जोनपुर क्षेत्रमा पनि बसोबास छ।

यस समुदायमा बहुपति प्रथा लामो समयदेखि प्रचलनमा छ। परिवारमा एकता कायम राख्नु र पैतृक सम्पत्तिको भागबन्डा रोक्नु उक्त विवाहको उद्देश्य भएको यसका जानकारहरू बताउँछन्।

यस प्रथामा एक महिलाले दुई वा धेरै दाजुभाइसँग विवाह गर्छिन् र घरको जिम्मेवारी आपसी सहमतिमा पूरा गर्ने गरिन्छ। उक्त परम्परा सिरमौरका अलावा शिमला, किन्नौर तथा लाहौलका केही हिस्सामा समेत देख्न पाइन्छ।

स्थानीय कपिल चौहान भन्छन्, "जोडीदारा प्रथा हाम्रो पहिचान हो। यो प्रथाले सम्पत्तिको भागबन्डा रोक्न, दाइजो प्रथाबाट जोगिन, दाजुभाइबीच एकता कायम राख्न तथा सन्तानको पालनपोषण गर्न मद्दत गर्छ।"

उनका अनुसार शिलाई क्षेत्रका लगभग हरेक गाउँमा चारदेखि छ परिवारले उक्त प्रथाको पालना गर्छन्।

हालै चर्चामा आएको विवाहबारे सोधिएको प्रश्नमा चौहान भन्छन्, "मलाई धेरै अघिदेखि यसबारे थाहा थियो। यो अचानक भएको होइन। यो एउटा प्रथागत परम्परा हो। यो हाम्रा निम्ति गर्वको कुरा हो र दुलहादुलही तथा उनका परिवारजन यसप्रति सहज हुँदासम्म यो अरूको लेनादेनाको विषय होइन।"

उनले अगाडि भने, "यसलाई स्वीकार गर्नुपर्छ। मान्छेहरू लिभ–इन रिलेशनशिपप्रति पनि त सहज छन् नि।"

सांस्कृतिक पहिचान

तस्बिर स्रोत, ALOK CHAUHAN

तस्बिरको क्याप्शन, स्थानीयवासीका अनुसार उक्त विवाह सांस्कृतिक विरासतको पहिचान पनि हो

बाह्र जुलाईदेखि सुरु भएको यस विवाह समारोहको एउटा पक्ष के पनि हो भने दुलही तथा उनका दुवै पति पढेलेखेका व्यक्ति हुन्। दुलही सुनीता आईटीआईमा पढेकी हुन्।

प्रदीप राज्य सरकारको जलशक्ति विभागमा काम गर्छन् भने कपिल विदेशमा हस्पिटालिटी क्षेत्रमा क्रियाशील छन्।

आफ्नो विवाहबारे सुनीताले बीबीसी हिन्दीसँग भनिन्, "यो मेरो आफ्नै निर्णय हो। मलाई उक्त परम्पराबारे थाहा थियो र मैले यसलाई अपनाएँ।"

त्यस्तै प्रदीप भन्छन्, "हाम्रो संस्कृतिमा यसलाई विश्वास, हेरचाह र साझा जिम्मेवारीको सम्बन्धका रूपमा लिइन्छ।"

कपिलले भने, "विदेशमा बस्ने भए पनि म यो सम्बन्धप्रति प्रतिबद्ध छु र आफ्नी पत्नीलाई स्थिरता र प्रेम दिन चाहन्छु।"

पारम्पारिक रमलसार पूजापद्धतिअनुरूप उक्त विवाह सम्पन्न गरियो। यस विधिमा अग्निको वरिपरि घुम्नेभन्दा त्यसको अघिल्तिर उभिएर कसम खाइन्छ। त्यसलाई 'सिन्ज' भनिन्छ।

'जोडीदारा' प्रथामा दुलहीको घरबाट दुलहाको घर जन्ती जान्छ। यसैले पनि उक्त प्रथालाई प्रचलितभन्दा भिन्न ठानिन्छ।

कानुनी मान्यता

तस्बिर स्रोत, ALOK CHAUHAN

तस्बिरको क्याप्शन, उत्तराखण्डका हाटी पनि जोनसारी समुदायकै हिस्सा हुन् र उनीहरूको परम्परा पनि समान छ

हिमाचल प्रदेशमा यो प्रथा 'वजिब उल अर्ज' नामको औपनिवेशिक कालको राजस्व दस्तावेजमा दर्ता भएको पाइन्छ। उक्त दस्तावेजमा गाउँठाउँका सामाजिक तथा आर्थिक प्रथाहरूलाई दर्ता गर्ने गरिएको र त्यसले 'जोडीदारा'लाई हाटी समुदायको परम्पराको रूपमा मान्यता दिएको देखिन्छ।

उक्त प्रथाको उद्देश्य कृषियोग्य भूमिको बाँडफाँट रोक्नु र परिवारलाई एकताबद्ध राख्नु रहेको बताइन्छ।

'हिन्दू विवाह अधिनियम'ले एकपत्नी विवाहलाई वैध मान्ने भएकाले यस किसिमका विवाहको कानुनी स्थितिलाई लिएर प्रश्न उठ्ने गर्दछ।

हिमाचल प्रदेश हाई कोर्टका अधिवक्ता सुशील गौतम भन्छन्, "दुवै विवाह एकैसाथ सम्पन्न हुने भएकाले हिन्दू विवाह अधिनियम, १९५५ को धारा ५ र भारतीय न्यायसंहिता बीएनएसको धारा ३२ लागु हुँदैन।"

इतिहास र संस्कृतिको जरो

गिरीपार क्षेत्रमा यो प्रथालाई प्राचीन मानिन्छ। यसलाई महाभारतकी द्रौपदीको कथासँग पनि जोडिने भएकाले कैयौँले यसलाई 'द्रौपदी प्रथा' पनि भन्छन्।

हिमाचलका पहिलो मुख्यमन्त्री डा वाईएस परमारले आफ्नो पुस्तक 'पलियन्ड्री इन द हिमालयाज'मा यो प्रथाको सामाजिक तथा आर्थिक कारणहरूको विस्तारमा चर्चा गरेका छन्।

उनका अनुसार, 'यो प्रथा पहाडी क्षेत्रका कठिन परिस्थितिहरूमा विकसित भयो, जहाँ सीमित कृषि भूमिलाई एकसाथ राख्न आवश्यक थियो।'

हाटी समुदायका विद्वान् तथा सामाजिक कार्यकर्ता अमिचन्द हाटी भन्छन्, "यस प्रथालाई सामाजिक स्वीकृति हासिल छ र यसले समुदायको एकता तथा परम्पराहरूलाई दर्शाउँछ। यसलाई सामुदायिक मूल्यहरूको संरक्षणका रूपमा हेरिनुपर्छ।"

केन्द्रीय हाटी समितिका महासचिव कुन्दनसिंह शास्त्रीका अनुसार यो प्रथा निकै पुरानो हो र परिवारलाई एकताबद्ध बनाइराख्नु यसको उद्देश्य हो।

सामाजिक बहस र आलोचना

उक्त विवाहपछि सामाजिक र नैतिक बहस पनि सुरु भएको छ। केही मानिस यसलाई आपसी सहमति र व्यक्तिगत रोजाइको विषय ठान्छन् भने कतिपय सङ्गठनहरू महिला अधिकारविरुद्धको विवाह ठान्छन्।

अल इन्डिया डिमोक्र्याटिक विमिन्स असोसिएशनकी महासचिव मरियम धावले भन्छिन्, "यो प्रथाले महिलामाथि हुने शोषणलाई बढावा दिन्छ र उनीहरूको मौलिक अधिकारहरूको उल्लङ्घन गर्छ।"

हिमाचल प्रदेशको सीपीआईएमका भूतपूर्व राज्यसचिव डा ओमकार शद पनि उक्त विवाहलाई संविधान र कानुनविपरीतको ठान्छन्।

तर हिमाचल प्रदेश सरकारका उद्योगमन्त्री तथा शिलाईका विधायक हर्षवर्धन चौहान भन्छन्, "यो शिलाईको पुरानो परम्परा हो। प्रदीप र कपिलले उक्त प्रथालाई जीवित राखेर आफ्नो सांस्कृति विरासतको सम्मान गरेका छन्।"

हाटी समुदायका अन्य विवाह प्रथा

तस्बिर स्रोत, ALOK CHAUHAN

तस्बिरको क्याप्शन, सिरमौरमा १५० भन्दा धेरै ग्राम पञ्चायत गिरीपार (गिरी नदीपारिको) क्षेत्रमा पर्छन् र त्यहाँ हाटी समुदायका डेढ लाखभन्दा धेरै मानिस बसोबास गर्छन्

'जोडीदारा'बाहेक उक्त समुदायमा विवाहका चार अन्य पारम्पारिक प्रथाहरू पनि प्रचलनमा छन्।

बालविवाहमा गर्भावस्थामै बच्चाको विवाह तय गरिन्छ। तथापि, हुर्केपछि निजको सहमतिपछि मात्रै विवाहको प्रक्रिया पूरा गरिन्छ।

जाजडा विवाहमा वर पक्षले विवाहको प्रस्ताव गर्छ र सहमति प्राप्त भएपछि संस्कार पूरा गरिन्छ। यस प्रथामा पनि 'सिन्ज'को प्रक्रिया गरेर विवाह गरिन्छ।

खिताइयो विवाह त्यस्तो परिस्थितिमा हुन्छ जब कुनै विवाहित महिलाले आफ्नो घरसँगको सम्बन्ध तोडेर दोस्रो विवाह गर्छिन्।

कुनै महिलाले परिवारको इच्छाविपरीत गएर कुनै व्यक्तिसँग विवाह गरेमा त्यसलाई हार विवाह भनिन्छ।

समयसँगै बदलिँदै गरेको परम्परा

जानकारहरूका अनुसार 'जोडीदारा प्रथा' पहिलेको तुलनामा निकै कम भएको छ।

सामाजिक कार्यकर्ता रमेश सिङ्गटा भन्छन्, "यो प्रथा अब कुनुकुनै गाउँमा मात्रै देखिन्छ र धेरैजसो यस्ता विवाह बिनाहल्लाखल्ला गरिन्छ।"

तर हालै भएको विवाहले सामाजिक सञ्जाल र हाटी समुदायले प्राप्त गरेको अनुसूचित जनजातिको दर्जाका कारण मानिसहरूको व्यापक ध्यान तानेको छ।

हाटी समुदायको कुल जनसङ्ख्याबारे कुनै आधिकारिक तथ्याङ्क छैन तर सन् २०२०-२१ मा केन्द्र सरकारसमक्ष समुदायलाई अनुसूचित जनजातिमा सामेल गर्नुपर्ने माग राख्दा अनुमानित जनसङ्ख्या साढे दुई लाखदेखि तीन लाखको बीचमा भएको बताइएको थियो। त्यसमा सिरमौरको गिरीपार (गिरी नदीको पारिको) क्षेत्रका लगभग डेढदेखि दुई लाख मानिस सामेल छन्।

हाटी समुदायको परिचय

सिरमौर जिल्लामा १५० भन्दा धेरै ग्राम पञ्चायत गिरीपार क्षेत्रमा पर्छन्। समुदायका केही मानिसका अनुसार उक्त क्षेत्रमा कहिल्यै स्थायी बजार थिएन र व्यापारका निम्ति मानिसहरू आसपासका इलाकाबाट आएर अस्थायी हाट लगाउने गर्थे। त्यसैले समयसँगै उक्त समुदायलाई हाटी भन्न थालियो।

सामाजिक कार्यकर्ता रमेश सिङ्गटाका अनुसरा हाटी नाम स्थानीय हाटबजारमा घरेलु उत्पादन बेच्ने पुरानो परम्परासँग जोडिएको छ। उत्तराखण्डमा हाटी समुदायलाई जोनसारी समुदायको हिस्सा मानिन्छ र उनीहरूको परम्पराहरूमा पनि निकै समानता छ।

केन्द्र सरकारले हिमाचलको हाटी समुदायलाई अनुसूचित जनजातिको दर्जा दिएको थियो। तथापि, ज्यानुअरी २०२४ मा हिमाचल प्रदेश उच्च न्यायालयले 'गिरीपार अनुसूचित जाति सुरक्षा समिति'को एउटा निवेदनअनुरूप उक्त फैसलामाथि रोक लगाइदियो।

हाटी समुदायलाई उक्त दर्जा दिँदा मौजुदा आरक्षण व्यवस्था प्रभावित हुन सक्ने र अनुसूचित जातिको अधिकारमा असर पर्न सक्ने उक्त समितिको तर्क थियो। यद्यपि, उक्त समुदायलाई अनुसूचित जनजातिको दर्जा प्राप्त भए पनि त्यसअनुरूपको सुविधा दिइएको छैन।

उत्तराखण्ड (तात्कालिक उत्तर प्रदेश)का हाटी समुदायलाई सन् १९६७ मै अनुसूचित जनजातिको दर्जा दिइएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।