जब प्यारिस ओलिम्पिक्समा दक्षिण कोरियाली टोलीलाई उत्तर कोरियाली भनेर चिनाइयो. . .
तस्बिर स्रोत, Reuters
ओलिम्पिक्सका आयोजकहरूले दक्षिण कोरियाली खेलाडीहरूलाई शुक्रवार प्यारिसमा आयोजित उद्घाटन समारोहमा भुलवश उत्तर कोरियाली भनेर चिनाएपछि "गहिरोसँग क्षमा याचना" गरेका छन्।
उत्साहित रूपमा राष्ट्रिय झण्डा फहराउँदै सेन नदीमा डुङ्गामा बसेर अघि बढेको टोलीलाई दुवै फ्रेन्च र अङ्ग्रेजी भाषाका उद्घोषकहरूले उत्तर कोरियाको औपचारिक नाम "प्रजातान्त्रिक जनगणतन्त्र कोरिया" भनेर परिचित गराएका थिए।
सोही नाम पछि - सही रूपमा - उत्तर कोरियाली प्रतिनिधिमण्डल अगाडी बढ्ने क्रममा समेत लिइएको थियो।
दोस्रो विश्वयुद्धयता दुई कोरिया विभाजित छन् र पछिल्ला दिनमा उनीहरूबीचको तनाव थप चर्किरहेको छ।
यद्यपि टेलिभिजन प्रसारणका क्रममा देखाइएको 'सबटाइटल' भने शुद्ध थियो।
तस्बिर स्रोत, Reuters
दक्षिण कोरियाली खेल मन्त्रालयले उक्त अपमानजनक अभिव्यक्तिका लागि "फ्रान्ससँग सरकारी तहमै कडा उजुरी" दर्ता गर्ने सोचेको जनाएको छ।
एक वक्तव्यमार्फत उक्त मन्त्रालयले "दक्षिण कोरियाली प्रतिनिधि मण्डललाई उत्तर कोरियाली भनेर परिचित गराइएकामा... खेद व्यक्त गरेको" जनाएको छ।
उक्त विज्ञप्तिमा आफ्ना द्वितीय उप खेलकुद मन्त्री जाङ मी-रनले ओलिम्पिक समितिका अध्यक्ष थमस बाचसँग बैठकका लागि आग्रह गरेको समेत उल्लेख छ।
जाङ मी-रन सन् २००८ को ओलिम्पिक भारोत्तोलन च्याम्पिअन समेत हुन्।
अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी आईओसीले कोरियाली भाषाको आफ्नो औपचारिक एक्स अकाउन्टमा क्षमा याचना गरेको छ।
जसमा लेखिएको छ: "उद्घाटन समारोहमा दक्षिण कोरियाली प्रतिनिधिमण्डलको परिचयमा भएको गल्तीप्रति हामी गहिरोसँग क्षमा याचना गर्दछौँ।"
यस वर्ष कोरियाली गणतन्त्र अर्थात् दक्षिण कोरियाका १४३ खेलाडीहरू २१ खेलका लागि ओलिम्पिक्समा सहभागी छन्।
उत्तर कोरियाले भने १६ जना खेलाडी पठाएको छ।
सन् २०१६ को रियो ओलिम्पिक्सपछि पहिलोपटक उत्तर कोरिया ओलिम्पिक्समा प्रतिस्पर्धाका लागि उत्रिएको हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन