अस्ट्रेलियामा बढिरहेको छ नेपालीको सङ्ख्या, आप्रवासन नीति फेरिँदा कस्तो प्रभाव

तस्बिरको क्याप्शन, केही वर्षयता अस्ट्रेलिया नेपाली विद्यार्थीहरूको पहिलो रोजाइ बनिरहेको छ
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

हजारौँ नेपाली विद्यार्थीजस्तै चितवनका विश्वास सुवेदीको मनमा विदेश गएर पढ्ने अनि काम गर्ने धोको थियो।

सन् २०१७ मा १२ कक्षा सिध्याउनासाथ उनले विदेश जाने प्रक्रिया सुरु गरे। उनको रोजाइमा पर्‍यो, अस्ट्रेलिया।

अहिले उनी अस्ट्रेलियामा पुगेको पनि झन्डै छ वर्ष भइसक्यो।

त्यहाँ गएर उनले सुरुमा निकै चुनौती बेहोरे। उनी अहिले मेल्बर्न सहरनजिकैको बेन्डिगो भन्ने ठाउँमा बस्छन्।

कुनै ठाउँमा नर्सहरूको आवश्यकता पर्नासाथ खटाइनेगरी उनी अहिले ‘ट्राभल नर्स’को पेसामा छन्।

“सुरुमा आउँदा, अलि नबुझीकन आउँदा केही समय चुनौती नै भयो। तर अहिले भने राम्रै छ।”

अस्ट्रेलियाको स्थायी बसोबासको प्रक्रिया थालिसकेका सुवेदी समग्रमा आफू खुसी नै भएको सुनाउँछन्।

तर उनी उसैगरी अस्ट्रेलिया आउन चाहने विद्यार्थीहरूलाई भने आफ्नो लक्ष्य, आर्थिक अवस्था, पढ्ने क्षमता, कतिसम्म दु:ख गर्न सकिन्छ भन्ने सबै सोचविचार गरेर मात्र निर्णय लिन सल्लाह दिन्छन्।

यस्तो निर्णय गर्दा शैक्षिक परामर्श दिने निकायसँग मात्र भर नपर्न पनि उनको सुझाव छ।

तस्बिर स्रोत, Bishwas Subedi

तस्बिरको क्याप्शन, चितवनका विश्वास सुवेदी अहिले अस्ट्रेलियामा 'ट्राभल नर्स'को काम गर्छन्

विश्वास सुवेदीजस्तै दशौँ हजार नेपाली विद्यार्थी अस्ट्रेलिया गएका छन्।

वास्तवमा केही समययता अस्ट्रेलियामा विदेशी विद्यार्थी पठाउने देशहरूको सूचीमा नेपाल तेस्रो स्थानमा छ।

अस्ट्रेलियाको शिक्षा विभागले प्रकाशित गरेको विवरणअनुसार सन् २०२३ को सुरुको दुई महिनाको तथ्याङ्क हेर्दा सवा लाख विद्यार्थीसहित चीन अनि झन्डै ९०,००० विद्यार्थीसहित भारत क्रमश: पहिलो र दोस्रो स्थानमा छन्।

नेपाली विद्यार्थीको सङ्ख्या ४८,००० भन्दा धेरै छ।

अस्ट्रेलियामा गएर विभिन्न पेसा र व्यवसाय गरेर त्यहीँ बसेका नेपालीहरूको सङ्ख्या पनि वृद्धि भइरहेको छ।

तर त्यहाँको सरकारले आगामी दिनमा आप्रवासनसम्बन्धी नीति परिवर्तन गर्ने भनेको छ र त्यससम्बन्धी अध्ययन पनि गराइसकेको छ।

गत वर्ष सेप्टेम्बरमा गृहमन्त्री क्लेअर ओ’निलले अस्ट्रेलियाको आप्रवासन प्रणालीलाई वर्तमान चुनौतीको अझ राम्ररी सामना गर्न तथा आगामी दशकहरूका निम्ति स्पष्ट मार्गनिर्देशन गर्नेगरी एक सघन समीक्षा गर्न तीन विशिष्ट व्यक्तिहरूको टोलीलाई जिम्मा दिएकी थिइन्।

सो टोलीले यो वर्षको मार्चमा प्रतिवेदन बुझाइसकेको छ।

कस्तो परिवर्तन होला?

यो बिन्दुमा (परिवर्तनसम्बन्धी) त्यस्तो कुनै स्पष्ट नीति घोषणा नभइसकेको नेपालको निम्ति अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले बीबीसी न्यूज नेपालीसँगको कुराकानीमा भनेकी छन्।

तर विद्यार्थीहरूको हकमा केही परिवर्तन भने जुलाई महिनादेखि नै लागु हुन लागेको छ। अब सातामा काम गर्न पाउने समयको मापदण्ड अनि निश्चित क्षेत्रको पढाइ सकेपछि थप समय काम गर्ने अवसरमा वृद्धि हुने देखिन्छ।

कोभिडको समयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग गर्न अस्ट्रेलिया सरकारले डेढ अर्ब अस्ट्रेलियाली डलर खर्च गर्‍यो।

उनीहरूको मानसिक स्वास्थ्य, अन्य कल्याणकारी सहयोगका अतिरिक्त आर्थिक सहयोग पनि त्यसले समेटेको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘अस्ट्रेलियामा विद्यार्थीहरूका निम्ति काम गर्न निकै उदार अवसर प्रदान गरिएको छ’

साथै त्यतिखेर विद्यार्थीहरूले काम गर्न पाउने समयको हदबन्दी हटाइयो।

तर अब जुलाई १ देखि लागु हुनेगरी विद्यार्थीहरूले साताको २४ घण्टामात्र काम गर्न पाउने छन्।

सोही दिनबाट उसले काम गर्न थप समय बस्न पाउने अवसरमा पनि परिमार्जन गरेको छ।

“यो वर्षको जुलाई १ देखि लागु हुनेगरी अस्ट्रेलियाको अर्थतन्त्रका लागि महत्त्वपूर्ण अनि श्रमको खाँचो परेका केही क्षेत्रसँग सम्बन्धित विषयमा स्नातक तह पढेका जोसुकैले पढाइ सकेर चार वर्ष काम गर्न पाउँछन्। यी क्षेत्र भनेको स्वास्थ्य, स्वास्थ्य विज्ञान, इन्जिनियरिङ, मनोविज्ञान, वातावरण तथा कृषि विज्ञान आदि पर्छन्। स्नातकोत्तर तह सिद्ध्याएका विद्यार्थीहरूको हकमा पहिले तीन वर्ष काम गर्न पाइन्थ्यो भने अब पाँच वर्ष पाइन्छ। डक्टरल गरेकाहरूका लागि चार वर्षबाट छ वर्ष पुर्‍याइएको छ,” राजदूत भोल्कले भनिन्।

“यी परिवर्तनबाहेक भविष्यमा के होला भनेर म अहिले टिप्पणी गर्न सक्दिनँ,” उनले भनिन्।

यो YouTube पोस्ट छोड्नुहोस्
Google YouTube को सामग्रीलाई अनुमति छ?

यो लेखमा Google YouTube बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Google YouTube cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन। YouTube का सामग्रीमा विज्ञापन हुन सक्छन्।

YouTube पोस्ट समाप्त

नेपाली विद्यार्थीलाई कस्तो प्रभाव पर्ला?

डा. कृष्ण श्रेष्ठ अस्ट्रेलियाको एक अग्रणी विश्वविद्यालय 'यूनिभर्सिटी अफ न्यूसाउथ वेल्स' मा 'ग्लोबल डिभलप्मन्ट 'विषयका प्राध्यापक हुन्। उनी आप्रवासन मामिलाका पनि जानकार हुन्।

अस्ट्रेलियाको आप्रवासन नीतिमा आगामी दिनहरूमा निकै व्यापक परिवर्तन हुन सक्ने उनको अनुमान छ। “यो गत १५-२० वर्ष कै सबभन्दा ठूलो परिवर्तन आउँदै छ,” उनले भने।

“नेपाली विद्यार्थीहरूमा यसको सम्भाव्य प्रभाव के होला भने धेरै विद्यार्थीको रोजाइ देखिएको खासगरी अलि कम पैसा र सहज तरिकाले जान मिल्ने 'भेट' भनिने व्यावसायिक शैक्षिक तालिमजस्ता डिप्लोमा वा एड्भान्स डिप्लोमाका क्षेत्रमा चाहिँ भिसा पाउन र पाइसकेपछि भविष्यमा स्थायी बसोबास अनुमति पाउने विषयमा अब उल्लेखनीय परिवर्तन हुने छ।”

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘विद्यार्थीको भिसा सर्तहरूमा कडाइ हुने देखिएको छ’

“त्यस्ता विषयमा जाने अवसर अब कम हुन्छ। अब विद्यार्थीहरूले विश्वविद्यालय, उच्च शिक्षा, वा महत्त्वपूर्ण आवश्यकता भएका क्षेत्र आदि रोज्नुपर्ने छ जसको आर्थिक दायित्व पनि बढी हुने छ।”

उनका अनुसार विद्यार्थी वा अभिभावकलाई अब अस्ट्रेलिया नआउन भनिएको होइन कि पढ्न भनेर आएपछि विद्यार्थीले पढ्नुपर्छ भन्ने सन्देश दिन खोजिएको हो।

यी नयाँ नियमले नेपाली विद्यार्थीहरूको जाने क्रममा धेरै असर भने नपर्ने ठान्छन् नेपाल अस्ट्रेलिया अलम्नाई सङ्घका अध्यक्ष अनन्त पौडेल।

काठमाण्डूमा एउटा शैक्षिक परामर्श दिने संस्था पनि चलाइरहेका पौडेलको विचारमा नेपालीहरू अस्ट्रेलिया जान रुचाउनुका चार कारण छन्। ती हुन्ः

  • गुणस्तरीय शिक्षाको निश्चितता
  • पढेपछि काम गर्न पाइने अवसर
  • स्थायी बसोबासको अवसर र
  • बलियो नेपाली समुदायको उपस्थिति

“त्यसैले मलाई लाग्छ यी परिवर्तनहरूबाट धेरै असर पर्दैन। अझ दीर्घकालको निम्ति यी परिवर्तनको फाइदा नै हुन्छ जस्तो लाग्छ। अहिले जति पनि काम गर्न पाउँदा कतिपयले पढाइमा ध्यान नदिने हुनसक्छ।"

"हातमा डलर परेपछि डिग्री बिर्सिन सक्छन्। समयले बाँधिएपछि पढाइमा ध्यान जान्छ,” उनले भने।

'गहिरिँदो सम्बन्ध'

नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध गाँसिएको ६३ वर्ष पुगिसकेको छ।

अस्ट्रेलियाले सन् १९८४ मै काठमाण्डूमा दूतावास खोल्यो भने नेपालले चाहिँ सन् २००७ मा क्यान्बेरामा नेपाली दूतावास खोल्यो।

सन् १९७९ देखि अस्ट्रेलियाले नेपाललाई उसको विकास सहायता कार्यक्रममा समावेश गरेको छ।

नेपालको सामुदायिक वन कार्यक्रमदेखि लिएर नीति विकास, स्वास्थ्य एवं शिक्षामा अस्ट्रेलियाले सहयोग गर्दै आएको देखिन्छ।

सम्बन्ध विकासका प्रारम्भिक दशकहरूमा दुई देशबीच जनस्तरमा सम्पर्क सम्बन्ध नगण्य भए पनि खासगरी सन् २००० पश्चात् र अझ विगत एक दशकमा यसको आकार र गहिराइमा व्यापक वृद्धि भएको पाइन्छ।

नेपालको शिक्षा मन्त्रालयको तथ्याङ्कले पनि अस्ट्रेलिया नेपाली विद्यार्थीहरूको पहिलो रोजाइ बनिरहेको देखाउँछ।

विगत १० महिनामा विदेश पढ्न जान भनेर नो अब्जेक्शन सर्टिफिकेट लिनेको सङ्ख्या झन्डै एक लाख थियो। तीमध्ये एकतिहाइले अस्ट्रेलिया जानको निम्ति उक्त स्वीकृति लिएका थिए।

दक्षिण एशियाको एक गरिब र अविकसित मुलुक भए पनि नेपाल अस्ट्रेलियामा विद्यार्थी पठाउने तेस्रो ठूलो देश बनिसकेको छ।

त्यहीँ बसोबास गर्ने नेपाली मूलका मानिसहरूको सङ्ख्या पनि सवा लाख नाघिसकेको सरकारी तथ्याङ्कले देखाउँछ।

“मेरो विचारमा सरकारी तथ्याङ्कभन्दा पनि वास्तविक सङ्ख्या निकै बढी हुनुपर्छ। नेपालीहरूको अधिकांश हिस्सा सिड्नी सहर वरपर बस्छन्। त्यहाँ मात्रै ३६ वटा त नेपाली समुदायका फुटबल टोलीहरू रहेछन्,” प्राध्यापक श्रेष्ठले भने।

“सिड्नीमा नेपाली भाषाको स्कूल छ। टास्मानिया क्षेत्रमा नेपाली बोल्नेहरूको सङ्ख्या सबभन्दा तीव्र गतिमा बढिरहेको भनिएको छ,” उनले भने।

सातैपिच्छे अस्ट्रेलियाका विभिन्न सहरमा नेपाली समुदायले केही न केही मेला वा महोत्सव गरिरहेका समाचार आउँछन्। डार्विन सहरमा नेपाली तेस्रो धेरै बोलिने भाषा बनेको राजदूत भोल्कले बताएकी छन्।

तस्बिर स्रोत, Nepali Ambassador/Kailash Raj Pokharel

तस्बिरको क्याप्शन, अस्ट्रेलियाका विभिन्न सहरहरूमा नियमित रूपमा नेपाली समुदायले महोत्सव मनाइरहेका हुन्छन्

सुरुमा खासगरी विद्यार्थी अनि सरकारी अधिकारीहरू छात्रवृत्तिमा पढ्न जान थालेको क्रम सन् २००० पछि यसरी बढ्यो कि अब त उल्लेख्य सङ्ख्यामा नेपालीहरूले त्यहाँको नागरिकता वा स्थायी बसोबास अनुमति पाइसकेका छन्।

कैयौँ नेपालीहरूले अस्ट्रेलियाबाट पढेर आएर नेपालमा विशिष्ट योगदान पनि दिएका छन्।

“यहाँ कतिपयले विद्यार्थीहरू उता गएर 'ब्रेन ड्रेन' वा 'प्रतिभा पलायन' भयो भन्छन्। तर त्यसको अर्को पाटो पनि छ। थुप्रै विद्यार्थीहरू फर्किएर देशमा निकै राम्रो योगदान दिइरहेका छन् चाहे त्यो मेडिकल क्षेत्रमा होस् वा स्वास्थ्य, वातावरण, शिक्षा आदिमा,” अनन्त पौडेलले भने।

कस्ता छन् अवसर र चुनौती?

अस्ट्रेलियामा विस्तार भइरहेको नेपाली समुदायलाई सामान्यतया मेहनती र अनुशासित मानिने हुँदा सबैले रुचाएको प्राध्यापक श्रेष्ठको बुझाइ छ।

नेपालीहरूले शिक्षा, व्यापार व्यवसायजस्ता विभिन्न क्षेत्रमा प्रभाव जमाइरहेको र आगामी दिनमा त्यो झन् बढ्ने उनी ठान्छन्।

त्यति हुँदाहुँदै पनि नेपाली समुदायसामु केही चुनौतीहरू भने रहेको उनी औँल्याउँछन्।

“नेपाली समुदाय अलि इन्ट्रोभर्ट (अन्तर्मुखी) वा भनौँ आफैँमा धेरै रमाउने खालको छ। अन्य समुदायसँग धेरै घुलमिल हुन जरुरी छ। सङ्ख्याको हिसाबमा पनि अब यो समुदायले राजनैतिक तथा अन्य प्रतिनिधित्व पाउनुपर्छ जसको लागि समुदाय नै जागरुक हुनुपर्छ,” उनले भने।

नेपालले पनि आफ्ना समुदायबाट ज्ञान, सीप, अनुभवको पर्याप्त फाइदा उठाउन नसकेको उनी ठान्छन्।

जनस्तरको सम्बन्ध सँगसँगै दुई देशबीच राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तार हुन नसकेको जानकारहरू बताउँछन्।

तस्बिर स्रोत, Tim Watts/Twitter

तस्बिरको क्याप्शन, गत महिना अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्स नेपाल भ्रमणमा आएका थिए

उच्च तहमा राजनीतिक भेटघाट दुर्लभ देखिन्छ ।

“अस्ट्रेलियासँगको सम्बन्ध बढाउन एकदम धेरै अवसर छ। अन्य ठूला देशजस्तो अस्ट्रेलियाको नेपालमा कुनै विशिष्ट सामरिक वा रणनीतिक चासो छैन। त्यसैले यो सम्बन्ध सहज विकास हुनुपर्छ,” प्राध्यापक श्रेष्ठले भने।

द्विपक्षीय सम्बन्ध अझ गाढा बनाउनुपर्नेमा अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क पनि सहमत छिन्।

धेरै वर्षयता पहिलो पटक हालै अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले गत महिना नेपाल भ्रमण गरे।

“मलाई लाग्छ त्यसले हाम्रा सम्बन्धमा राजनीतिक भेटघाटको नयाँ थालनीको सङ्केत गर्छ। वहाँले नेपालका प्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसँगको कुराकानीमा पनि हाम्रो गहिरो सम्बन्ध झल्किने गरी वरिष्ठ तहमा सम्पर्क बढाउन प्रयास भइरहेको बताउनुभयो। त्यसैले मलाई लाग्छ भविष्यमा तपाईँले यस्ता थप भ्रमण देख्नुहुने छ,” राजदूत भोल्कले भनिन्।