नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह र १४ मन्त्रीद्वारा शपथग्रहण

तस्बिर स्रोत, Nepal Photo Library

पढ्ने समय: ५ मिनेट

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'लाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजित एक विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराएका छन्।

शाह नेपालको संविधान २०७२ अन्तर्गत प्रधानमन्त्री बन्ने छैटौँ व्यक्ति हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाह गत महिना भएको निर्वाचनबाट प्रतिनिधिसभामा चुनिएका हुन्।

राष्ट्रपति पौडेलले शाहलाई शुक्रवार बिहान नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री नियुक्त गरेका हुन्। सो व्यवस्थाअन्तर्गत राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमतप्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्छन् र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुन्छ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन पनि गरेका छन्। प्रधानमन्त्रीको शपथग्रहणपछि राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पनि पद तथा गोपनीयताको शपथ गराए।

शपथग्रहण समारोहको आरम्भमा शङ्खनाद गरिएको थियो भने १०८ बटुकहरूले स्वस्तिवाचन र १०८ बौद्ध लामाहरूले मङ्गलपाठ गरेका थिए।

उक्त समारोहमा उपराष्ट्रपति, अन्तरिम प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष सहित वरिष्ठ पदाधिकारीहरू र विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरू उपस्थित थिए।

केही पूर्वप्रधानमन्त्रीहरू समेत समारोहमा उपस्थित भए तापनि शेरबहादुर देउवा र केपी शर्मा ओली भने त्यहाँ देखिएनन्।

प्रतिनिधिसभामा रास्वपा १८२ सांसदसहित सबैभन्दा ठूलो दल हो।

छत्तीस वर्षीय शाह नेपालको बहुदलीय प्रजातान्त्रिक इतिहासमा निर्वाचित कार्यकारी प्रमुख हुने सबैभन्दा कान्छा व्यक्ति हुन्। नवनियुक्त मन्त्रीहरूले आआफ्ना कार्यालयमा गई पदभार ग्रहण गर्न थालेका छन्।

महानगरदेखि सिंहदरबारसम्म

तस्बिर स्रोत, Reuters

शाह प्रतिनिधिसभाको निर्वाचनअघि काठमाण्डू महानगरपालिकाका मेअर थिए। त्यसअघि उनी र्‍याप गायकका रूपमा परिचित थिए। पेसाले उनी स्ट्रकचरल इन्जिनिअर हुन्।

महानगर प्रमुखको पदबाट राजीनामा दिएर उनी चुनावमा सहभागी भए। झापा-५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै उनी प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।

रास्वपाको संसदीय दलले उनलाई बिहीवार नेता छानेको थियो। उनी निर्वाचनको केही साताअघि मात्र रास्वपामा प्रवेश गरेका थिए। त्यतिबेला उनले रास्वपा सभापति रवि लामिछानेसँग आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने गरी सहमति नै गरेका थिए।

काठमाण्डू महानगर प्रमुखका रूपमा साढे तीन वर्ष काम गरेको अनुभव भएका शाहको दलगत राजनीतिक अनुभव यसअघिका प्रधानमन्त्रीको तुलनामा कम छ। तर उनी स्थानीय निर्वाचनका बेलादेखि नै विशेष गरी युवापुस्तामाझ लोकप्रिय थिए।

उनका समर्थकहरू उनी महानगर प्रमुखका रूपमा रहँदा शिक्षा, सरसफाइ, सम्पदा संरक्षण लगायतका क्षेत्रमा भएका कामहरूको प्रशंसा गर्छन्। यद्यपि महानगर प्रमुख हुँदा नगर प्रहरी परिचालन गरेर सडक व्यापारी र सुकुम्बासीमाथि 'दमन गरेको' आरोप पनि उनीमाथि लाग्ने गरेको छ।

सामाजिक सञ्जालमा पनि उनी निकै लोकप्रिय छन्। तर उनले तीखो शब्दमा गर्ने पोस्टहरू बेलाबखत आलोचित बन्ने गरेका पनि छन्।

महानगर प्रमुख हुँदा उनले गरेको एउटा टिप्पणीका कारण सर्वोच्च अदालतमा उनीविरुद्ध अवहेलनाको मुद्दा पनि परेको छ। सांसदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनी बिहीवार सर्वोच्च अदालत पुगेर उक्त मुद्दाको तारिख बुझेको विवरण विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको छ।

नेपालमा प्रधानमन्त्रीको इतिहास

तस्बिर स्रोत, Nepal Photo Library

एकीकरणपछिको नेपालको आधुनिक इतिहासमा भीमसेन थापालाई पहिलो प्रधानमन्त्री (मुख्तियार) मानिन्छ। त्यसै गरी २०१५ सालमा सरकारको नेतृत्व गरेका विश्वेश्वरप्रसाद कोइरालालाई प्रथम निर्वाचित प्रधानमन्त्री मानिन्छ।

शाह नेपालको संविधान २०७२ अन्तर्गत प्रधानमन्त्री बन्ने छैटौँ व्यक्ति हुन् भने विसं २०४६ मा नेपालमा बहुदलीय व्यवस्था पुर्नस्थापित भएपछि सरकारको नेतृत्व गर्ने १५औँ व्यक्ति हुन्।

पञ्चायती व्यवस्था अन्त्य भएपछि छोटो समय लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने। त्यसपछि नेपाली कांग्रेसका तात्कालिक सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारले २०४८ को संविधान बनाएर निर्वाचन गरायो।

त्यसपछि गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी शर्मा ओली र सुशीला कार्कीले सरकारको नेतृत्व गरे। तीमध्ये दोस्रो संविधानसभाको निर्वाचन गराउने जिम्मासहित तात्कालिक प्रधानन्यायाधीश रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष बनेका थिए।

निवर्तमान प्रधानमन्त्री कार्की सर्वोच्च अदालतकी भूतपूर्व प्रधानन्यायाधीश हुन्।

को-को बने मन्त्री?

तस्बिर स्रोत, Nepal Photo Library

मन्त्रिपरिषद्‍मा प्रधानमन्त्रीसहित १५ सदस्य छन्। तीमध्ये पाँच जना महिला छन्।

प्रधानमन्त्री शाहले रक्षा एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफूसँगै राखेका छन्।

  • अर्थ : स्वर्णिम वाग्ले
  • गृह : सुधन गुरुङ
  • परराष्ट्र : शिशिर खनाल
  • भौतिक, पूर्वाधार तथा यातायात: सुनिल लम्साल
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ: विराजभक्त श्रेष्ठ
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन: खडकराज पौडेल
  • शिक्षा, विज्ञान, प्रविधि, युवा तथा खेलकुद : सस्मित पोखरेल
  • स्वास्थ्य, तथा जनसङ्ख्या, खानेपानी : निशा मेहता
  • सञ्चार तथा सूचना प्रविधि: विक्रम तिमिल्सिना
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन, भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण: प्रतिभा रावल
  • कानुन, न्याय तथा संसदीय मामिला: सोबिता गौतम
  • कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण: गीता चौधरी
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा: दीपककुमार साह
  • महिला, बालबालिका तथा जेष्ठ नागरिक: सीता वादी

देश र विदेशबाट बधाई

नेपाल र अन्य देशका नेताहरूले प्रधानमन्त्री शाह र उनको नेतृत्वमा गठित सरकारलाई बधाई तथा शुभकामना दिएका छन्।

प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी नभएका दुई भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत् शाहलाई बधाई दिएका हुन्।

नेपाली कांग्रेसका सभापति गगन थापाले पनि शाहलाई बधाई र शुभकामना दिँदै लेखेका छन्, "देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ।"

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शाहलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमा आफ्नो सन्देश पोस्ट गर्दै मोदीले भनेका छन्, "तपाईँको नियुक्तिमा नेपाली जनताले तपाईँको नेतृत्वमा राखेको विश्वास प्रतिबिम्बित भएको छ।"

दुवै देशका जनताको साझा हितका लागि नेपाल-भारत मित्रता र सहकार्यलाई थप उचाइमा पुर्‍याउन आफूले नेपालका नयाँ प्रधानमन्त्रीसँग निकट रहेर काम गर्न चाहेको उनले लेखेका छन्।

प्रधानमन्त्री शाहलाई बधाई दिँदै चीनको विदेश मन्त्रालयले नेपाललाई सदाझैँ स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता रक्षा गर्न तथा एकता, स्थिरता, विकास र समृद्धि हासिल गर्न सहयोग गर्ने जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ साउथ एन्ड सेन्ट्रल एशिअन अफेअर्सले नयाँ सरकारसँग आपसी समृद्धि र क्षेत्रीय स्थिरता अघि बढाउन काम गर्न इच्छुक रहेको जनाएको छ।

काठमाण्डूस्थित ब्रिटिश राजदूतावासले पनि नेपालसँग आर्थिक वृद्धि, युवा रोजगारी, जलवायुलगायतका क्षेत्रमा सहकार्य गर्न इच्छा व्यक्त गरेको छ।

शाहलाई बधाई दिँदै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले नेपाल र पाकिस्तानबीचको सहकार्य सुदृढ पार्न तथा क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिको साझा लक्ष्य हासिल गर्न चाहेको जनाएका छन्।

त्यसै गरी जापानकी प्रधानमन्त्री र सिङ्गापुरका प्रधानमन्त्रीले पनि शाहलाई बधाई दिँदै नेपालसँगको दौत्य सम्बन्ध अझ बलियो बनाउने अपेक्षा व्यक्त गरेका छन्।

काठमाण्डूस्थित विभिन्न देशका कूटनीतिक नियोगले पनि नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाई दिँदै उनको नेतृत्वमा गठित सरकारसँग सहकार्य गर्ने तत्परता व्यक्त गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।