हङकङमा स्थापित हुने चिनियाँ प्रविधि कम्पनीहरूको प्रयास, कारण र असर केके

तस्बिर स्रोत, Yunji

तस्बिरको क्याप्शन, चिनियाँ प्रविधि कम्पनी यून्जीले हङकङका होटलहरूमा आफ्नो डेलिभरी रोबटलाई परीक्षण गरिरहेको छ
    • Author, सिल्भिआ चाङ
    • Role, व्यापार संवाददाता, हङकङ
  • पढ्ने समय: ५ मिनेट

हङकङको एउटा होटेलको लबीमा लिफ्टको ढोका खोल्दा एउटा डेलिभरी रोबट रोकिन्छ अनि एकजना पाहुना बाहिर निस्किन्छन्। रोबट पर्खन्छ र त्यसपछि भित्र छिर्छ।

यो सरल देखिन्छ तर सरल छैन। अन्तर्राष्ट्रिय सञ्जाल भएको एउटा व्यस्त होटेलमा काम गर्न रोबटले भवन राम्ररी कहाँ के छ थाहा पाएर अगाडि बढ्नुपर्छ। तर होटेलको समग्र गति त्यसका लागि सुस्त भइदिँदैन।

मानिसहरू प्राय: हिँडिरहेका हुन्छन् र लिफ्ट सही तल्लामा नै पुग्न सक्नुपर्छ र सही कोठा पत्ता लगाउनुपर्छ।

यो रोबट बनाउने कम्पनी यून्जी चीनको मुख्य भूमि (मेनल्यान्ड चाइना) को प्रविधि कम्पनी हो र ऊ हङकङलाई सफल व्यापार विस्तारका लागि अवसर बनाउन चाहन्छ।

"हामी हङकङमा हाम्रो उत्पादनलाई सफल बनाउने लक्ष्य राख्छौँ र त्यसपछि बाहिर विस्तार गर्छौँ," उक्त कम्पनीका उपाध्यक्ष सी युनपेङले भने।

'चिनियाँ जोखिम'को डर

चीनका प्रविधि कम्पनीका लागि हङकङ पैसा उठाउने, विदेशी सेवाग्राहीका लागि उत्पादनहरू परीक्षण गर्ने र विदेशी विस्तारका लागि विश्वसनीयता निर्माण गर्ने ठाउँको रूपमा महत्त्वपूर्ण बन्दै गएको छ।

यो किन महत्त्वपूर्ण छ भने अमेरिका र युरोपेली देशहरू त्यस्ता चिनियाँ कम्पनीहरूबाट बढी सावधान भएका छन्। केही टिप्पणीकारहरूले "चिनियाँ जोखिम"को कुरा उठाइरहेका बेला ती देशहरू सरकारी नेतृत्वमा जासुसी र उनीहरूको प्रविधि क्षेत्रमा अत्यधिक चिनियाँ प्रभुत्वको डरमा छन्।

चीनको मुख्य भूमिका प्रविधि कम्पनीहरूका लागि केही अन्तर्राष्ट्रिय बजारमा पुँजी, ग्राहक र विश्वासमा पहुँच पाउन कठिन भइरहेको छ। त्यसैले, तिनीहरू बरु पहिला हङकङमा खुल्न चाहिरहेका छन्।

गत वर्ष, हङकङ स्टक एक्स्चेन्जमा सूचीकृत हुने चिनियाँ कम्पनीको सङ्ख्या सन् २०२४ को ३० बाट १५३ प्रतिशतले बढेर ७६ पुगेको 'प्राइसवाटरहाउसकूपर्स'को प्रतिवेदनले जनाएको छ।

चीनले विशेष प्रशासनिक क्षेत्र भन्ने हङकङका लागि स्थापति लगानी प्रवर्द्धन एजेन्सी 'इन्भेस्ट हङकङ'ले पनि चीनका कम्पनीहरूको सङ्ख्यामा वृद्धि भएको जनाएको छ। उसले यो क्षेत्रमा कम्पनी स्थापना गर्न वा विस्तार गर्न मद्दत गरेको जनाएको हो।

तस्बिर स्रोत, Yunji

तस्बिरको क्याप्शन, सी युनपेङका अनुसार हङकङबाट उनको कम्पनीलाई विदेशमा विस्तार गर्ने लक्ष्य राखिएको छ

युरेशिया ग्रूपका राजनीतिक परामर्शदाता सियामङ लूले चीनका प्रविधि कम्पनीहरू "भूराजनीतिक प्रतिकूलताले उनीहरूको सपनालाई कमजोर पार्ने भएर" आफ्नो प्राथमिक शेअर सूचीकरणका लागि "हङकङ सरिरहेको" बताएकी छन्।

"आजकल हङकङ विश्वव्यापी लगानीकर्ताहरूलाई आकर्षित गर्ने र चीनको मुख्यभूमि बजारको सीमाबाट पूर्ण रूपमा सीमित नभएको खेलाडीका रूपमा आफूलाई स्थापित गर्ने उनीहरूको सबैभन्दा राम्रो आशा हो," उनी थप्छिन्।

यसैबीच, जर्मनीमा आधारित थिङ्कट्याङ्क मर्केटर इन्स्टिट्यूट फर चाइना स्टडिजकी वेन्डी चाङले हङकङले "चिनियाँ कम्पनीहरूका लागि बाहिरी संसारसँग जोड्ने रणनीतिको रूपमा आफूलाई ढालिरहेको" बताएकी छन्।

चीनका प्राथमिकता

बेइजिङमा चिनियाँ सरकारले अझ बढी 'प्रविधि आत्मनिर्भरता' हासिल गर्ने लक्ष्य लिएका बेला हङकङमा यो बढ्दो ध्यान केन्द्रित भएको हो।

विदेशी हार्डवेअर र सफ्टवेअरको आवश्यकतालाई उल्लेखनीय रूपमा कम गर्नु अब यसको आर्थिक नीतिको केन्द्रमा छ, खास गरी आर्टिफिशल इन्टेलिजन्स र सेमिकन्डक्टरका विषयमा।

नयाँ १५ औँ पञ्चवर्षीय योजनाको मुख्य ध्यान यसमै छ, जसले प्रविधिलाई आर्थिक प्राथमिकताको रूपमा मात्र नभई अमेरिकासँगको तनावलाई ध्यानमा राख्दै रणनीतिक प्राथमिकताका रूपमा पनि हेर्छ।

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, केहीले हङकङलाई चीनको मुख्यभूमिका कम्पनीहरूको लागि उपयोगी "हाफवे हाउस" को रूपमा हेर्छन्

यस सन्दर्भमा, "उच्च प्रविधि चिनियाँ कम्पनीहरूको लागि हङकङको रणनीतिक मूल्य" बढेको विश्वव्यापी व्यापार परामर्श दिने डीजीए समूहका वाशिङ्टनस्थित साझेदार पल ट्रिओलो बताउँछन्।

फ्रान्सेली लगानी ब्याङ्क नटिक्सिसका एशिया प्रशान्त क्षेत्रीय प्रमुख अर्थशास्त्री एलिशा गार्सिआ-हेरेरो हङकङले चीनका मुख्य भूमिका कम्पनीहरूलाई एउटै स्थान प्रदान गर्ने र त्यहाँ उनीहरूले अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न सक्ने बताउँछिन्। सँगै, यसले विश्वव्यापी लगानीकर्ता र आफ्ना ग्राहकहरूसँग पनि विश्वास निर्माण गर्ने उनले बताएकी हुन्।

युन्जीका लागि यसको अर्थ उसका रोबटहरूले विश्वव्यापी रूपमा वास्तवमै अन्तर्राष्ट्रिय संरचनाहरूमा काम गर्न सक्छन् भनेर प्रमाणित गर्नु हो। होटेल, अस्पताल र कारखानाहरूका लागि आफ्नो सेवा उपलब्ध गराउन रोबट निर्माण गर्ने कम्पनी गत वर्षको अक्टोबरमा हङकङमा सूचीकृत भएको थियो। उक्त कम्पनीले चीनको मुख्य भूमिभन्दा बाहिर आफ्नो लगानीकर्ता आधार विस्तार गर्न खोजेको थियो।

चिनियाँ एआई सफ्टवेअर कम्पनी माइनिङल्याम्प टेक्नोलजीले त्यही महिना आफ्नो काम हङकङमा सुरु गरेको थियो। उक्त कम्पनीका संस्थापक वु मिङ्ख्वे हङकङलाई "डेटा कम्प्लाअन्स ट्रान्स्फर स्टेशन" भन्छन् किनभने चीनमा भएका उनका जस्ता कम्पनीले अन्य बजारमा सर्नुअघि सीमापार डेटा प्रवाह र नियम परिपालनासम्बन्धी प्रक्रियाहरू कसरी व्यवस्थापन गर्ने भनेर परीक्षण गर्न सक्छन्।

अझै बाँकी जोखिम

चीनको मुख्य भूमिमा रहेका कम्पनीहरू हङकङमा सफल भए पनि उनीहरूले विदेशमा अवरोधहरूको सामना गर्नुपर्ने हुन सक्छ।

अमेरिका र युरोपका सरकारहरूले डेटाको पहुँच र महत्त्वपूर्ण पूर्वाधारको चिन्तालाई औँल्याउँदै चिनियाँ लगानी र प्रविधिको राष्ट्रिय सुरक्षा समीक्षालाई कडा बनाएका छन्। अमेरिका र यूकेजस्ता देशहरूले चिनियाँ आपूर्तिकर्ताहरूलाई टेलिकम नेटवर्कबाट प्रतिबन्ध लगाउन वा हटाउन अघि बढेका छन्।

पश्चिमा राष्ट्रहरूले पनि चिनियाँ कम्पनीहरूको प्रशासन र पारदर्शितालाई लिएर व्यापक चिन्ता व्यक्त गरेका छन्।

यसैबीच, हङकङ अन्तर्राष्ट्रिय कम्पनीहरू र लगानीकर्ताहरूका लागि पहिलेको जस्तो आकर्षक छैन। सन् २०१९ मा प्रजातन्त्रसमर्थक प्रदर्शनपछि अधिकारीहरूले राष्ट्रिय सुरक्षा कानुन र नयाँ स्थानीय सुरक्षा कानुन व्यापक रूपमा लागू गरेका छन्।

दर्जनौँ अधिकारकर्मी, विपक्षी राजनीतिज्ञ र पत्रकारहरू सुरक्षा वा यससम्बन्धी अन्य कानुनअन्तर्गत पक्राउ परेका छन् वा जेल परेका छन्।

बेइजिङ र हङकङका अधिकारीहरूले स्थिरता र सुव्यवस्था पुनर्स्थापना गर्न यी उपायहरू आवश्यक रहेको बताएका छन्। तर आलोचकहरूले यसले राजनीतिक स्वतन्त्रतामा तीव्र रूपमा कटौती गरेको बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।