नरेन्द्र मोदीलाई ‘आतङ्ककारी’ भन्ने माल्दिभ्सका तीन मन्त्री निलम्बित
तस्बिर स्रोत, Reuters
- Author, अनबरसन इतिराजन
- Role, बीबीसी न्यूज, कोलम्बो
माल्दिभ्सले भारत र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा आपत्तिजनक टिप्पणी गर्ने तीन मन्त्रीलाई निलम्बन गरेको छ।
उनीहरूले सामाजिक सञ्जाल पोस्टमा प्रतिक्रिया दिँदै मोदीलाई "विदूषक", "आतङ्ककारी" र "इजरेलको कठपुतली" भनेका थिए।
मोदीबारे त्यस्तो टिप्पणी गरिएको भोलिपल्ट भारतले माल्दिभ्सका उच्चायुक्तलाई स्पष्टीकरण दिन बोलाएको छ।
माल्दिभ्सको विदेश मन्त्रालयका एक प्रवक्ताले ती टिप्पणीहरू व्यक्तिगत भएका र तिनले सरकारको धारणा प्रतिनिधित्व नगर्ने बताए।
ती मन्त्रीहरूको टिप्पणीले भारतीय सामाजिक सञ्जालमा खैलाबैला मच्चाएपछि मालेको प्रतिक्रिया आएको हो।
सोमवार माल्दिभ्सका दिल्लीस्थित उच्चायुक्त इब्राहिम शाहिबलाई भारतीय विदेश मन्त्रालयबाट बाहिरिँदै गरेको देखिएको थियो।
माल्दिभ्सका लागि भारतीय उच्चायुक्त पनि मालेमा त्यहाँको विदेश मन्त्रालय गएका थिए।
तर भारतीय उच्चायुक्तको कार्यालयले मुनु महावर एउटा पूर्वनिर्धारित बैठकका लागि गएको बताएको छ।
तस्बिर स्रोत, Reuters
राष्ट्रपति कार्यालयले के भन्यो?
राष्ट्रपति मोहम्मद मुइज्जूको कार्यालयका प्रवक्ताले बीबीसीसँग भने, "त्यस्ता टिप्पणी गर्ने सबै अधिकारीलाई तत्कालै लागु हुने गरी निलम्बन गरिएको छ।"
गत वर्ष सत्तामा आएका मुइज्जूले गत वर्ष झन्डै ७५ भारतीय सैनिकलाई माल्दिभ्स छाड्न आग्रह गरेपछि भारत र उक्त टापुराष्ट्रबीच तनाव उत्पन्न भएको थियो।
निलम्बित हुनेमा मल्शा शरीफ, मरियम शिउना र अब्दुल्ला महजूम मजिद छन् ।
उनीहरूलाई बर्खास्त गर्न माग गरिएको भए पनि माल्दिभ्सका सञ्चारमाध्यमहरूले ती मन्त्रीहरूलाई निलम्बन मात्र गरिएको जनाएका छन्।
तीनै जनाले पहिले ट्विटर भनिने सामाजिक 'एक्स'मा मोदीको पोस्टमा प्रतिक्रिया लेख्दै अपमानजनक टिप्पणी गरेका थिए।
नरेन्द्र मोदीको पोस्टमा प्रतिक्रिया
ती मन्त्रीहरूले मोदीले भारतको लक्षद्वीपका टापुहरूको पर्यटन प्रवर्धन गर्ने खालका तस्बिरसहित गरेको पोस्टमा त्यस्तो प्रतिक्रिया जनाएका थिए।
शिउनाले भारतलाई गाईको गोबरसँग पनि तुलना गरिन्।
ती प्रतिक्रियाले भारतीय सामाजिक सञ्जाल प्रयोगकर्तामा आक्रोश फैलायो। भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले #BoycottMaldives र #ExploreIndianIslands जस्ता ह्याशट्याग चलाए। ती ह्याशट्याग ट्रेन्डिङमा पनि परे।
तस्बिर स्रोत, GETTY IMAGES
केहीले माल्दिभ्समा बिदा मनाउन जाने आफ्नो योजना रद्द गर्ने घोषणा पनि गरे। गत वर्ष माल्दिभ्स जाने पर्यटकमध्ये सबैभन्दा ठूलो भाग भारतीयहरूको थियो।
भारतीय टिकट बुकिङ साइट ईजमाईट्रिपका प्रमुख कार्यकारी अधिकृतले उनको कम्पनीले माल्दिभ्सका लागि सबै बुकिङ अहिलेका लागि स्थगित गरिएको बताएका छन्।
माल्दिभ्स सफा बालुवायुक्त समुद्री तट र रिसोर्ट एवं मुगाबाट बनेका टापुका लागि प्रसिद्ध छ।
बलीवुड कलाकार अक्षय कुमार र केही क्रिकेटरसहित प्रख्यात भारतीयहरूले माल्दिभ्सका मन्त्रीले गरेका ती टिप्पणीप्रति दुःख व्यक्त गरेका छन्।
माल्दिभ्सका पूर्वराष्ट्रपतिको आपत्ति
माल्दिभ्सका पूर्वराष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले तीन अधिकारीहरूले "भारतविरुद्ध घृणायुक्त भाषा" प्रयोग गरेको भन्दै कडा निन्दा गरेका छन्।
"भारत सधैँ माल्दिभ्सका लागि असल मित्र हो र हामीले दुई देशबीचको युगौँ पुरानो मित्रतालाई नकारात्मक असर पार्ने खालका टिप्पणीहरू गर्न दिनु हुँदैन," उनले एक्समा लेखेका छन्।
अर्का पूर्वराष्ट्रपति मोहम्मद नशीदले सामाजिक सञ्जाल पोस्टमा ती टिप्पणीका भाषालाई "भयानक" भनेका छन्।
धेरै हल्लाखल्ला भएपछि ती मन्त्रीहरूले आफ्ना विवादित पोस्ट मेटेका छन्।
तस्बिर स्रोत, Getty Images
मुइज्जूले सोमवारदेखि भारतको प्रतिद्वन्द्वी चीनको पाँचदिने राजकीय भ्रमण गर्नुअघि यो विवाद उत्पन्न भएको हो।
मुइज्जूको बेइजिङ भ्रमणलाई शीर्ष तहबाट गरिएको भारतको अपमानका रूपमा हेरिएको छ।
यसअघि माल्दिभ्सका नेताहरूले निर्वाचित भएपछि पहिलो पटक भारत भ्रमण गर्ने गरेका थिए।
तर गत नोभेम्बरमा पद सम्हालेपछि माल्दिभ्सका राष्ट्रपतिले टर्कीबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण थालेका थिए।
दिल्ली र बेइजिङको प्रतिस्पर्धा
भारत अहिले हिन्द महासागर क्षेत्रमा चीनको बढ्दो प्रभावलाई चुनौती दिने प्रयासमा छ। अहिलेको प्रकरण भारतका लागि एउटा कूटनीतिक धक्का मानिने छ।
गत अक्टोबरमा मुइज्जूले जितेपछि त्यसले भारतलाई झट्का लागेको रूपमा विश्लेषण गरिएको थियो।
तस्बिर स्रोत, Getty Images
"उनीहरू कहाँ जान्छन् र उनीहरूको अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा कसरी अघि बढ्छन् भन्ने निर्णय उनीहरूले नै गर्ने हो," भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले गत साता मुइज्जूको बेइजिङ भ्रमणबारे सोधिएको प्रश्नको उत्तर दिँदै भनेका थिए।
उनले माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्नेबारे नयाँ कुनै जानकारी नभएको पनि बताए। भारतले तीनवटा सामुद्रिक उद्धार र निगरानी विमान माल्दिभ्सलाई अनुदानमा दिएको र ती विमानको मर्मतसम्भारका लागि आफ्ना सुरक्षाकर्मीहरू माल्दिभ्समा रहेको बताएको छ।
परिवर्तन गर्ने चाहना
हिन्द महासागर द्वीपसमूह लामो समयदेखि भारतको प्रभावको क्षेत्रमा रहेको छ। तर मुइज्जू त्यसलाई परिवर्तन गर्न चाहन्छन्।
गत डिसेम्बरमा माल्दिभ्स सरकारले भारतसँगको एउटा द्विपक्षीय सम्झौता खारेज गर्ने बताएको थियो।
उक्त सम्झौताले दिल्लीलाई माल्दिभ्सको समुद्री तटस्थित जलक्षेत्रको नक्सा बनाउन सहयोग गर्ने अनुमति दिएको थियो।
माल्दिभ्स सरकारका प्रवक्ताले अर्को वर्ष जुन महिनामा म्याद सकिने उक्त सम्झौता नवीकरण नहुने बताए।
गत वर्षको अक्टोबरमा चुनाव जितेलगत्तै मुइज्जूले बीबीसीसँग आफूले भारतसँग आफ्ना पूर्ववर्ती सोलिहको हस्ताक्षर गरेका सबै द्विपक्षीय सम्झौताहरूको समीक्षा गर्ने बताएका थिए।
सोलिहले “भारत पहिलो” नीति अवलम्बन गरेका थिए।
दिल्ली र बेइजिङ दुवैले रणनीतिक अवस्थिति भएका माल्दिभ्सका टापुहरूमा आफ्नो वर्चस्व कायम गर्ने प्रतिस्पर्धा गरिरहेका छन्।
थप रिपोर्टिङ मेरिल सेबास्टियनबाट
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन